महोत्तरीको बर्दिबासमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को मधेस प्रदेश स्तरीय विशिष्टिकृत अनुसन्धान केन्द्र (ज्ञान केन्द्र) स्थापना गरिएको छ।
पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको विशेष पहलमा केन्द्र स्थापना भएको हो। पूर्व शिक्षामन्त्री पोखरेलले गत बिहीबार केन्द्रको उद्घाटन गरेका छन्। बर्दिबास नगरपालिका-३, गौरिडाँडास्थित उज्यालोटारमा कार्यालय रहनेगरी ज्ञान केन्द्र स्थापना गरिएको हो।
कार्यक्रममा मधेस प्रदेशकी निवर्तमान सांसद शारदा थापा, बर्दिबास नगरपालिकाकी उपमेयर तारादेवी महतो, नास्टका प्राडा पारसनाथ यादव, नास्टका प्रविधि संकाय प्रमुख रोशन पाण्डे, प्रशासन प्रमुख वद्रिनाथ भटराई, लेखा प्रमुख नरेन्द्र कुमार सिंह लगायतको सहभागिता थियो।
नास्टका प्राडा पारसनाथ यादवको अध्यक्षतामा नौ सदस्यीय कार्यालय व्यवस्थापन समितिसमेत गठन गरिएको समितिका विज्ञ सदस्य नागदेव यादवले जानकारी दिए।
नागदेव यादव लामो समयदेखि बर्दिबासमा सामुदायिक विकास तथा पैरवी मञ्च संस्थामार्फत चुरे संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ता हुन्। चुरे संरक्षणको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै सरकारले यस वर्ष उनलाई जनसेवाश्री पदकसमेत प्रदान गरेको छ।
पाेखरेल शिक्षामन्त्री हुँदा नास्टको ४५औँ प्राज्ञ सभाले देशका सातै प्रदेशमा ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। नास्टको पहिलो प्रदेशस्तरीय ज्ञान केन्द्र बागमती प्रदेशको चितवनमा यसअघि नै सञ्चालनमा आइसकेको छ। बर्दिबासमा सञ्चालनमा आएको ज्ञान केन्द्र दोस्रो हो। बाँकी पाँच प्रदेशमा भने केन्द्र स्थापना हुन बाँकी छ।
महोत्तरी क्षेत्र नम्बर १ का निवर्तमान सांसदसमेत रहेका पोखरेलले बर्दिबासमा नास्टको अनुसन्धान केन्द्र स्थापना हुनु आफैँमा गौरवको विषय भएको बताए। ‘यो संस्थाले स्थानीय र प्रदेश सरकारसँग मिलेर आफ्नो काम अघि बढाउनुपर्छ,’ पोखरेलले भने, ‘मधेस प्रदेशस्तरीय यो केन्द्रले चुरे संरक्षणको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता छ।’
चुरे क्षेत्र प्रत्येक वर्ष २ प्रतिशतका दरले मरुभूमीकरणको दिशामा अघि बढिरहेको भन्दै उनले चुरे संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
‘हाम्रो चुरे क्षेत्र बर्सेनि मरुभूमीकरण हुँदै जानु दुःखद् पक्ष हो,’ पोखरेलले भने, ‘अब पहाड र हिमाली क्षेत्रका बासिन्दालेसमेत चुरे संरक्षणको पक्षमा आवाज उठाउन ढिलाइ गर्नु हुँदैन।’
चुरे संरक्षणको अवधारणा निर्माण गर्ने उद्देश्यले ५ पुस ०७६ मा मधेशमा नेता पोखरेलकै अगुवाइमा अन्तक्रिया गोष्ठी गरिएको थियो।
नास्टका प्राडा पारसनाथ यादवले नेपालमा चुरेको समस्या जटिल बन्दै गएको बताए।
‘सबैभन्दा उत्तम पारिस्थितिक प्रणाली रहेको चुरे क्षेत्र नासिँदै जाँदा मानव अस्तित्वमै संकट सिर्जना हुन सक्छ,’ उनले भने, ‘यसतर्फ हामी सबै गम्भीर बन्न जरुरी छ।’
सरकारी तथ्यांकअनुसार हाल नेपालमा ४० देखि ५० लाख नागरिकको बसोबास चुरे क्षेत्रमा छ। देशका ३६ वटा जिल्लामा फैलिएको चुरे क्षेत्रमा ७२ प्रतिशत जंगल छ भने यसले नेपालको कूल भूभागको १३ प्रतिशत क्षेत्र ओगटेको छ।
चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी, ३७९ प्रकारका चराचुरुङ्गी, १०४ प्रकारका माछासमेत पाइने भएकाले चुरे क्षेत्र विनास हुँदा त्यसले जीवजन्तुको अस्तित्वमा समेत गम्भीर संकट पैदा हुँदै गएको विज्ञहरुको भनाइ छ।
Shares
प्रतिक्रिया