साइकल खरिद प्रकरणमा भ्रष्टाचार भएको आराेप लागेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामाको माग चौतर्फी रुपमा उठेको छ।
मुख्यमन्त्रीसहित मन्त्रिमण्डललाई बर्खास्त गर्नुपर्ने माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कमिटीले शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो।
अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्रीसहित मन्त्रिमण्डल र कर्मचारीहरूलाई तुरुन्त बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन ज्ञापन पत्रमा माग गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा १० करोड बढी अनियमितता गरेको ठहरसहित साउन १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुख्यमन्त्री कार्यालयद्वारा संचालित स्वच्छता अभियान अन्तर्गत सार्वजनिक जग्गा तथा सामुदायिक विद्यालयमा शौचालय निर्माण, पोखरी सौन्दर्यीकरण, कोभिड अस्पताल निर्माण, जानकी मन्दिर सौन्दर्यीकरण, बीमा योजना, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान आदि जस्ता कार्यक्रममा पनि अनियमितता भएको लोकतान्त्रिक विद्यार्थी संघले आरोप लगाएको छ।
जनभावना विपरीत प्रदेशको गरिमामाथि ठेस पुग्ने कार्य भएकाले प्रदेश रक्षाको निम्ति आफूहरु कडा संघर्षमा उत्रिन बाध्य हुने विद्यार्थीहरुले चेतावनीसमेत दिएका छन्।
लोकतान्त्रिक विद्यार्थी संघका प्रदेश अध्यक्ष मिथलेश यादवको संयोजकत्वमा केन्द्रीय विद्यार्थी नेता रोशन मिश्रको अगुवाई तथा लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झा, सचिव रोशन साह, प्रदेश स्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघका धनुषा जिल्ला अध्यक्ष इजाज अन्सारी लगायतका विद्यार्थी नेताहरु ज्ञापन पत्र बुझाउन पुगेका थिए।
यसअघि बिहीबार जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको थियो।
Shares
प्रतिक्रिया