मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाअन्तर्गत बर्दिबास (महोत्तरी)–चोचा (बारा) खण्ड निर्माण तीव्र गतिमा भइरहेको छ। ७० किलोमिटर लामो बर्दिबास–चोचा खण्डमा साना–ठूला झन्डै २ दर्जन पुल छन्। जसमध्ये अधिकतर पुल निर्माण भइरहेको छ। यस खण्डमा सबैभन्दा लामो पुल सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा पर्छ। जसको निर्माण ७५ प्रतिशत सकिएको छ। पुलको लम्बाई ७३५ मिटर छ। जसमा २१ वटा पिलर छन् भने पुलको स्पान साढे ४ मिटर छ।
एक अर्ब २० करोड रुपैयाँमा रसुवा कन्ट्रक्सनले यो पुल निर्माणको ठेक्का लिएको हो। सम्झौताको पहिलो म्याद यही असार मसान्तसम्म थियो। निर्धारित समयमा पुल निर्माण पूरा नहुने भएपछि भर्खरै एक वर्ष समय थप गरिएको रेल योजना कार्यालय (लालबन्दी) का इन्जिनियर सुरेशप्रसाद साहले जानकारी दिए।
‘पहिलो म्यादमा पुल निर्माण कार्य ७५ प्रतिशत मात्रै सकिएको छ’, इन्जिनियर साहले नेपालखबरसँग भने, ‘कोभिड संकटका कारण तोकिएको सयममा निर्माण कार्य पूरा भएन। अब एक वर्षभित्रमा बागमती नदीमाथिको पुल निर्माणको काम पूरा गर्ने हाम्रो योजना छ।’
अबको एक वर्षमा पुल बने पनि त्यसमाथि रेल कहिलेबाट गुड्छ, ठेगान छैन। तर, निर्माण पूरा भएपछि त्यसमाथिबाट सर्वसाधारणलाई पैदल आवतजावतका लागि खुला गरिने साहले बताए। ‘त्यसमाथिबाट गाडी गुडाउन भने मिल्दैन’, उनले भने।
बागमती नदीमा निर्माण भइरहेको पुल पूर्वपश्चिम राजमार्गबाट अढाई किलोमिटर दक्षिणमा अवस्थित भरत ताल नजिकै पर्छ।
मेची–महाकाली विद्युतीय रेल मार्ग आयोजनाअन्तर्गत सबैभन्दा द्रुत गतिमा बर्दिबास–चोचा खण्डमा मात्रै काम भइरहेको रेल योजना कार्यालय –लालबन्दी) का इन्जिनियर तथा सूचना अधिकारी बोध भण्डारीले जानकारी दिए।
‘पूर्वतिर मुआब्जामै विवाद छ। काममा अवरोध छ। हाम्रोतिर मुआब्जा वितरणको काम सकेर रेल्वे ट्रयाक बेड निर्माणको काम चलिरहेको छ’, उनले भने।
बर्दिबास–चोचा खण्डको ७० किमिमध्ये ५० किमि रेल्वे ट्रयाक बेड निर्माण पूरा भइसकेको इन्जिनियर साहले जानकारी दिए।
‘यस खण्डका साना–ठूला धेरै खोला र नदीमा अहिले धमाधम पुल निर्माण भइरहेका छन्’, उनले भने।
बागमती नदी पश्चिम रौतहटको चाँदे नदीसम्म मात्रै अब रेल्वे ट्रयाक बेड निर्माण गर्न बाँकी छ। ‘त्यस क्षेत्रमा पनि हामी चाँडै काम सुरु गर्छौं’, उनले भने।
सूचना अधिकारी भण्डारीका अनुसार बर्दिबासबाट चोचासम्म यतिबेला रेलमार्गको ट्रयाक बेल्ट निर्माण भइरहेको छ। बर्दिबासदेखि सर्लाहीको फूलजोरसम्म ट्रयाक बेल्टको काम सकिएको छ। जहाँ अहिले सवारीसाधनसमेत गुडिरहेका छन्।
बागमती नदीसँगै सर्लाहीको फूलजोरदेखि बाराको चोचासम्म १५ ठाउँमा पुल बनाउने काम भइरहेको छ।
बर्दिबास–चोचा खण्डअन्तर्गत सागरनाथ वन विकास परियोजना क्षेत्रभित्र परेका ११ हजार १२३ वटा रुख काट्न सरकारले अनुमति दिएपछि कामले गति लिएको हो। रेल विभागका अनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्ग ९४५ किलोमिटर लामो हुनेछ। यो रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३५ देखि ४० करोड रुपैयाँ खर्च हुने अनुमान विभागले गरेको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणलाई सरकारले ७ खण्डमा विभाजन गरेर अघि बढाएको छ।
हाल चालु अवस्थामा रहेको जयनगर–जनकपुर रेलमार्गलाई बर्दिबासमा पूर्वपश्चिम विद्युतीय रेलमार्गसँग जोड्ने रेल विभागको तयारी छ।
Shares
प्रतिक्रिया