लुम्बिनीमा मुख्यमन्त्री लिला गिरिले विश्वासको मत पाएपछि पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गत पुस २७ गत मुख्यमन्त्री नियुक्त भएर २८ गतेबाट कार्यभार सम्हालेका गिरिले माघ ५ गते विश्वासको मत पाएका थिए।
विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने भनेर तय गरिएको थियो। तर विश्वासका मत लिएकै दिन नेकपा माओवादी केन्द्र लुम्बिनीका संसदीय दलका नेता जोखबहादुर महराकी आमा रमिता महराको निधन भएको थियो।
सहयात्री दलका नेता महरा शोकमा भएकाले मन्त्रिपरिषद् विस्तार धकेलिएको प्रदेश सरकारका प्रवक्ता तथा विना विभागिय मन्त्री चेतनारायण आचार्यले बताए।
‘पहिला विश्वासको मत लिएपछि अगाडि बढौं भन्ने थियो। मुख्य पार्टनर दलका नेता नै शोकमा भएकाले मन्त्रीपरिषद् विस्तार गर्न नहतारिएको हो,’ उनले भने, ‘उहाँ अहिले काठमाडौं जानुभएको छ। फर्केर आएपछि एक हप्तापछि मन्त्रिपरिषद विस्तार हुन्छ।’
माओवादी दलका नेता महरा आँफै मन्त्री बन्ने तयारीमा छन्। मुख्यमन्त्री गिरिसँगै उनले सपथ लिने भनिएपनि रोजेको मन्त्रालय नपाएपछि मन्त्री बनेका थिएनन्। मुख्यमन्त्रीसँग एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केशीले मन्त्रीको सपथ लिएका थिए।
अझै उनीहरुको जिम्मेवारी तोकिएको छैन।
त्यस्तै माओवादी केन्द्रबाट इन्द्रजित थारु, दिपेन्द्र पुन पनि मन्त्री बन्ने चर्चा छ। पुन स्वतन्त्र उम्मेदवार बनेर रोल्पाबाट चुनाव जितेर पछि माओवादीमै फिर्ता आएका थिए।
Shares
प्रतिक्रिया