यस पटकको संसदीय चुनावमा नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १७ सिटमा विजयी भएको छ। त्यसमा महिलातर्फ रेखा शर्माले मात्र जित हासिल गरेकी छन्।
गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्। एमालेका शक्तिशाली पदाधिकारीलाई पराजित गरेपछि शर्मा चर्चामा आएकी छन्।
बुटवलमा शुक्रबार विहान पत्रकारहरूसँगको भेटघाटमा उनले केही राजनीतिक विषयबस्तुसँगै आफ्ना चुनावी प्रतिस्प्रर्धाको अनुभव पनि बाँडिन्। जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभामा यो पटक गठबन्धनका उम्मेदवार विजयी भएका थिए।
रिपोटर्स क्लब लुम्बिनीले गरेको कार्यक्रमा शर्माले गत स्थानीय चुनावमा २ वटा उपमहानगर हारेको चोटका कारण दाङ जिल्लामा यसपटक गठबन्धन नडगमगाएको बताइन्।
‘जिल्लाका १० वटा स्थानीय तह मध्ये दुई वटा मात्र हो एमालेले जितेको। तर घोराही र तुल्सीपुर हार्दा सिंगो दाङ हारेको जस्तो म्यासेज देशभर गयो’ उनले भनिन्, ‘अहिले त्यो चोट पनि थियो सबैलाई। अहिले त्यो चोट मेटाउन पर्छ भन्ने इगो पनि सबै दलमा सञ्चार भयो। त्यसले गठबन्धनमा सापेक्ष रुपमा एकता पैदा गर्न सक्यो।’
नेतृ शर्माले अहिलेको चुनाव जस्तो मेहनत माओवादीले गरेको जनयुद्धको समयमा पनि नगरेको उल्लेख गरिन्।
‘संयोगले टिकट प्राप्त भयो। प्राप्त हुँदा पनि कसैले जित्छ भनेको थिएन। तर जितियो। हामीले कठोर मेहनत गर्यौं’ उनले भनिन्, ‘यतिधेरै मेहनत मेरो चाहिँ जिन्दगीको पहिलो पटक हो। २०–२१ घण्टा यसरी मेहनत त जनयुद्धको बेलामा पनि गरिएको थिएन। सुत्न त पाइन्थ्यो त्यसबेलामा।’
३–४ घण्टा मात्र सुतेर अहिलेको चुनावमा खटिएको शर्माले बताइन्।
‘निकै ठूलो मान्छेसँग प्रतिस्पर्धा गर्दैछौं, त्यसकारण हामीले अत्यधिक मेहनत गर्नुपर्छ। चानेचुने मेहनतले हुने वाला छैन भन्ने हामीलाई लाग्यो। हाम्रो होल पार्टी पंक्ति त्यसरी खट्यो’ उनले सुनाइन्।
साधारण जीवनशैली र अरुसँग मिल्न सक्ने क्षमताका कारण पनि चुनाव हेभिवेट उम्मेदवारलाई जित्न सम्भव भएको भनेर आफूलाई अरुले सुनाउने गरेको शर्माले बताइन्।
नयाँ पुस्ताको हस्तक्षेप बारे शर्माको जवाफ : कांग्रेस र हाम्रो स्कुलिङ फरक पर्यो
कार्यक्रममा केही पात्रकारले माओवादीमा पनि दलको नेताका लागि युवा पुस्ताले दाबी गर्ने बेला आएन र भन्दै प्रश्न गरेका थिए।
जवाफमा शर्माले भनिन्,‘नेपाली कांग्रेसका युवा साथीहरुले म लड्छु चुनाव भनेर भनिरहनुभएको छ। हाम्रो र उहाँहरुको कार्यशैली फरक छ। हाम्रो र उहाँको स्कुलिङ पनि फरक परेको छ। जुन ढंगले हामी आयौं। हाम्रो अगाडि बढ्ने तरिका नै फरक पर्यो।’
पार्टीको केन्द्रीय तह र संसदमा पनि ठूलो संख्यामा युवा पुस्ता आएको भन्दै क्रमशः पुस्तान्तरण हुँदै जाने बताइन्। पुराना पुस्तालाई ससम्मान बिदाइसहित नयाँ पुस्ता अघि बढ्नुपर्ने शर्माले बताइन्।
शर्माले जोसुकैले नेतृत्व गरेपनि गठबन्धन भित्रबाटै सरकार बन्नुपर्ने बताएकी छन्। उनले गठबन्धन भित्रैबाट सहमतिमा प्रधानमन्त्री बनाएर अघि बढ्नुपर्ने बताइन्।
‘निर्वाचन अगाडि पनि आलोपालो प्रधानमन्त्री हुने कुरा सहमति भएको भन्ने बाहिर सार्वजनिक भएकै कुरा हो। अब अहिले कोबाट सुरुवात हुन्छ भन्ने कुरा सहमति र छलफलबाट गर्नुपर्छ’ उनले भनिन् ‘को व्यक्ति हुन्छ प्रधान होइन, गठबन्धनबाट हामीले के गर्छौं भन्ने महत्वपूर्ण कुरा हो। शान्ति प्रक्रिया टुंग्याउने गरेर सहमतिमा सरकार बनाउनुपर्छ।’
Shares
प्रतिक्रिया