संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारको काम छिटो थाल्ने बताएका छन्।
बिहीवार टरिगाउँ विमानस्थलको निरीक्षण गर्दै उनले यसलाई ७२ सिटको जहाज अवतरण गर्न मिल्ने बनाउने जानकारी दिए।
मन्त्री श्रेष्ठले ढिलोमा दशैंपछि टरिगाउँ विमानस्थल विस्तारको काम अघि बढ्ने बताए।
‘सकारात्मक दृष्टिकोणसहित आएका छौं। यो एयरपोर्ट बन्नैपर्छ। यसलाई ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग लामो बनाउनुपर्छ। कमसेकम १५/१६ सय मिटरको रनवे हुनुपर्छ’ उनले भने, ‘एकपटक थप सर्वेक्षण गरेर डिटेल रिपोर्ट आउने बित्तिकै हामीले प्रक्रिया अगाडि बढाउँछौं। सकभर दसैंअघि हुन्छ। नभए दसैं लगत्तै सर्भेको काम सुरु हुन्छ।’
नजिकै प्युठानमा स्वर्गद्वारी जस्ता महत्वपूर्ण स्थान, दाङ जिल्लाको जनघनत्व लगायतका कारण पनि ७२ सिट क्षमताको जहाज उडान र अवतरण हुने गरि विमानस्थलको विस्तार गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ।
उनले काठमाडौं पुगेपछि विमानस्थलको बारेमा अर्थमन्त्रीसँग कुरा गर्ने बताए।
‘अब धेरै समय तपाईंहरु निराश हुनुपर्ने आवश्यक छैन। सरकारको प्राथमिकतामा रहेको छ। म यहाँबाट फर्केपछि अर्थमन्त्रीज्युसँग पनि कुराकानी गर्ने छु। बजेटको सुनिश्चितताको लागि पनि प्रक्रिया अघि बढाउने छु’ मन्त्री श्रेष्ठले भने।
शहरी विकास मन्त्री मेटमणि चौधरीले एयरपोर्टको विषयमा तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरुले यसको विषयमा चासो राख्नु पर्ने बताए। साथै उनले एयरपोर्ट विस्तारको बजेटका लागि आफूहरुले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गरे।
२०११ सालमा तयार भएर २०१७ सालबाट टरिगाउँ एयरपोर्ट नियमित रुपमा सञ्चालन भएको हो। बिचमा कहिले बन्द हुने र कहिले सञ्चालन हुने गर्दै आएको छ।
अहिले हप्तामा ४ वटा नेपाल वायुसेवा निगमको १९ सिटे जहाज सञ्चालन हुने गर्दछ। विमानस्थलको रनवे ७५० मिटर मात्र छ।
धावनमार्ग नबढाउने हो भने ठूला जहाज चल्न सक्दैनन्। हप्तामा ४ दिन मात्र १९ सिटे जहाज चल्दा दाङका स्थानीयलाई अपर्याप्त र महंगो भएको तुल्सीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए।
‘४ दिनले मान्छेलाई हुँदैन। यहाँ प्लेनको टिकट नै पाइँदैन। नेपालगञ्ज जानु परेको छ’ उनले भने, ‘सानो जहाजमा यहाँबाट भाडा पनि महँगो हुन्छ। नेपालगञ्जबाट जाँदा ६ हजार जति पर्छ। यहाँबाट जाँदा ९३ सय लाग्छ।’
हप्तामा ४ दिन साना जहाज मात्र चल्दा विमानस्थल समेत घाटामा छ।
टरिगाउँ विमानस्थल विस्तार भएर ठूला जहाज चल्ने हो भने दाङका स्थानीयलाई धेरै सहज हुने चालिसेले बताए। तुल्सीपुरको टरिगाउँ विमानस्थल प्रत्येक निर्वाचनै पिच्छे चुनावी एजेण्डा बन्ने गरेको छ।
यसअघि थुप्रै मन्त्रीले विमानस्थलको निरीक्षण गरेर विस्तारको प्रतिबद्धता जनाएपनि योजना अघि बढेको छैन।
Shares
प्रतिक्रिया