विवादका कारण रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ। असार १० गते नगरसभामा प्रस्तुत बजेट आजको नगरसभाले पारित गरेको हो।
नगरसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मतले पारित भएको हो।
कांग्रेस र एमालेको विवादका कारण तिलोत्तमामा बजेट प्रस्तुत भएपनि प्रक्रिया अघि बढेको थिएन। न्यायिक समिति गठनमा विवाद हुँदा नगर सभा बैठक सुचारु हुन सकेको थिएन।
गत असार ३१ गते र साउन १ गते बसेको नगरसभा बैठकमा गणपूरक संख्या नपुगेको भन्दै मेयर रामकृष्ण खाँणले बैठक स्थगित गरेका थिए।
तर उपप्रमुख जागेश्वरी देवी चौधरी सहित एमालेका जनप्रतिनिधिहरुले आफूहरु बैठकमा उपस्थित भएपनि हाजिर गर्न नदिएर बैठक स्थगित गरेको आरोप लगाउँदै आएका थिए।
साउन १ गतेको बैठकमा प्रमुख प्रशासकीय अधिकृतले आफूहरुको हाजिर नगरेको भन्दै एमालेका जनप्रतिनिधि आक्रोशित भएर प्रदर्शन गरेको थिए।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई हलबाट बाहिर निस्कन नदिँदा प्रहरी परिचालित भएको थियो। प्रहरीले तिलोत्तमा ४ का वडाध्यक्ष हरि क्षेत्रीलाई पौडी पोखरीमा धकेल्दा एमाले थप आक्रोशित भएको थियो।
२ गते सूचना टाँस गरेर नगरसभा स्थगित भएको थियो। साँझ दुई पक्षबीच सहमति भएको थियो।
नगरसभाले सहकारी ऐन दोस्रो संशाेधन, पारित गरेको छ। त्यस्तै, कार्यपालिका बैठकका निर्णय अनुमोदन र न्यायिक समितिको प्रतिवेदन अनुमोदन गरेको छ।
नगरसभाबाट न्यायिक समिति, लेखा समिति, विधायन समिति, सुशासन समिति, विधेयक समिति गठन भएको छ।
यसअघि समिति गठनमा सहमति नजुट्दा विवाद हुँदै आएको थियो।
Shares
प्रतिक्रिया