रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा आइतबारदेखि टिकट र बेड निःशुल्क गरिएको छ।
लुम्बिनी प्रदेश सरकारले बजेटमार्फत घोषणा गरेको कार्यक्रमअनुसार आजबाट दुवै अस्पतालमा ओपीडी र इमर्जेन्सी टिकट निःशुल्क गरिएको हो।
त्यस्तै भर्ना हुने बिरामीका लागि जनरल बेडमा पनि शुल्क नलाग्ने भएको हो। बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी टिकट ३० रुपैयाँ र इमर्जेन्सी टिकट ५० रुपैयाँ छ। जनरल बेडको दैनिक शुल्क ३० रुपैयाँ लाग्ने गरेको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क सेवाको सुरुवात गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले अस्पतालहरूको सेवा र संरचना बढाउँदै लैजाने बताए। उनले प्रदेश सरकारको गौरवका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रूपमा अघि बढाइने बताए।
उनले प्रत्येक प्रदेशमा एकएक वटा सरकारी मेडिकल कलेज बनाउने संघीय सरकारको नीतिअनुरूप लुम्बिनी प्रादेशिक र राप्ती प्रादेशिक अस्पताललाई जोडेर मेडिकल कलेजका रूपमा अघि बढाउने बताए।
मुख्यमन्त्री कार्यालयका सचिव नरेन्द्रले अस्पतालमा खेलाँची तरिकाले चलाउन नहुने भन्दै कर्मचारीका रूपमा आफ्ना मान्छे भर्ना नगर्न आग्रह गरे।
प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रादेशिक अस्पतालालाई विशेषज्ञ अस्पतालका रूपमा राखेर शल्यक्रिया लगायतका सेवा प्रदेशका अन्य अस्पतालमा विस्तार गर्नुपर्ने बताए। यहाँका चिकित्स पनि जिल्लाका अस्पतालमा पुगेर सेवा दिने खालको वातावरण बन्नुपर्ने उनले उल्लेख गरे।
संविधान सभा सदस्य विनोद पहाडीले अस्पतालमा अपेक्षाकृत सुधार भएको तर अझ धेरै सुधार हुन बाँकी रहेको बताए। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले प्रदेश सरकारले सुरु गरेको निःशुल्क सेवाले धेरै निम्न वर्गका बिरामीलाई राहत हुने बताए।
आजैबाट लागू हुने गरी प्रदेशका सरकारी अस्पतालमा बिरामीका लागि निःशुल्क रगत उपलब्ध हुने भएको छ। निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ। जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भइसकेको छ।
Shares
प्रतिक्रिया