सल्यानको कपुरकोटमा आज बिहान भएको जिप दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन्। बाँकेको कोहोलपुर नगरपालिका ढकेरीबाट रिजर्भ गरेर सल्यानतर्फ मोडिएको रा १ ज ५६३ नम्बरको बोलेरो जिप बुधबार बिहान जिल्लाको कपुरकोट गाउँपालिका ६ मूलपानी नजिक राप्ती राजमार्गमा दुर्घटना भएको हो।
प्रहरीले जिप बुधबार बिहान करिब ३ बजेतिर दुर्घटनामा परेको अनुमान गरेको छ। तर जिल्ला प्रहरी कार्यालय सल्यानलाई दुर्घटनाबारे साढे ३ बजेतिर स्थानीयले खबर गरेका थिए।
त्यसपछि उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ गयो। घटनास्थल पुग्दा जिप चालकसहित ९ जना सवारमध्ये ८ जनाको मृत्यु भइसकेको थियो भने घाइते एक जनाको तत्काल उद्धार गरी उपचारका लागि प्रहरी तथा पालिका अध्यक्षको पहलमा अस्पताल पुर्याइएको छ।
सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो कपुरकोट गाउँपालिका वडा नम्बर ६ का छन्। जसमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्।
यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको उपचार प्रादेशिक अस्पताल (दाङ तुलसीपुर) मा भइरहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको हो।
जिपमा सवार सबै जना बाँकेमा आफन्तको बिहेमा सहभागी भएर फर्किंदै थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जिपमा सवार सबै जना विवाहको भोज खाएर घर फर्किंदै गर्दा जिप दुर्घटनामा परेको बताए।
उनले नेपालखबरसँग भने, ‘उहाँहरू सबै जना आफन्तको विवाहमा गएर फर्किनुभएको रहेछ भन्ने बुझिएको छ। र, रातिको समय चालक निदाएका कारण जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। अनुसन्धान जारी छ। बाँकी कुरा अनुसन्धानपछि मात्रै थाहा हुन्छ।’
जिप सडकबाट एक सय ५० मिटर तल खसेको थियो।
मृतकहरुको शव जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया