ad ad

गण्डकी


पोखरा बस दुर्घटना : आमा मृत घोषणा गरिएको १ घण्टापछि छोराको पनि मृत्यु

पोखरा बस दुर्घटना : आमा मृत घोषणा गरिएको १ घण्टापछि छोराको पनि मृत्यु

सोमबार बिहान पोखरामा पल्टिएको स्कुल बस।


वाशुदेव मिश्र
साउन १४, २०८१ सोमबार १२:३६, पोखरा

पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमा-छोराकै मृत्यु भएको छ। 

दुर्घटनामा पोखरा-१७, विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो। 

आरती छोरालाई पनि साथै लिएर अन्य विद्यार्थी हेरचाहका लागि बस चढेकी थिइन्। 

दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकामा डाक्टरले आमालाई बिहान ९:४१ बजे र यसको १ घण्टापछि छोरालाई पनि बिहान १०:४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा-२१, गुड्कु भन्ने भित्री सडकबाट बिहान पौने ९ बजेतिर ५० मिटर तल खस्दा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

सो बसमा चालकसमेत ३० जना थिए। बाँकी सबै घाइते भएका छन्।

उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

यी हुन् घाइते

पोखरा-३१ कृस्तीका ९ वर्षीय अनमोल विक, सोही ठाउँका ५ वर्षीय रोशन बराल, पोखरा-२१, रामदीका १४ वर्षीय दिप्सन कार्की, ६ वर्षकी योजना गुरुङ,  १३ वर्षकी डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की,  ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा विक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विशिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, ५ वर्षीय प्रिन्स विक, १२ वर्षीया सिम्रन विक र ११ वर्षीय विवश खत्री। उनीहरू गण्डकी मेडिकल कलेजमा उपचाररत छन्। 

यस्तै पोखरा-२१ कै ३ वर्षीया सिमन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १३ वर्षका रामकृष्ण नेपाली, २ वर्षका अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीय अस्मित विक, ३० वर्षकी अभिभावक सुमित्रा सुनार, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले र ११ वर्षीय निश्चल सुनारको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

कास्की प्रहरीका अनुसार  पोखरा-१७ विरौटा बस्ने ५५ वर्षीय बस चालक टेकबहादुर भुजेल, पोखरा-२१ बस्ने ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको चाहिँ मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूको नाक, मुख र डाढ तथा केहीको आँखामा पनि चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .