गण्डकीमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले वर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संविधानको छिद्र प्रयोग गरेर आफूलाई एक महिना मुख्यमन्त्रीमा टिकाएको दाबी गरेका छन्।
संवैधानिक रुपले टिक्दिन भन्ने थाहाँ हुँदाहुँदै पनि पुनः छिद्र प्रयोग गर्दै पुनः सत्ता लम्ब्याउन खोजेको पनि उनको आरोप छ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको गण्डकी प्रदेशसभा बैठकमा बोल्दै उनले वैशाख १७ गतेको सर्वोच्चको फैसलाको गलत ब्याख्याको प्रयत्न भएको बताए।
सभामुखलाई जोडेर बहुमत सिद्ध गर्न नपाइने कोसीको नजिर भत्काउँदै यहाँ सर्वोच्चको फैसलाको गलत ब्याख्या गर्न खोजिएको बताउँदै उनले भने,‘ कोसीमा एउटा र गण्डकीमा एउटा हुँदैन। फेरि गलत ब्याख्या गर्ने प्रयत्न भएको छ। फैसलामा सभामुखलाई गणना नगर्दा पनि बहुमत छ भन्ने दाबी गर्न सकिने भन्ने शब्द छ। सायद केही समयपछि त्यही गर्न (गलत ब्याख्या) पनि सक्छ।’
उनले त्यसअघि विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री खगराजले मध्यावधि रोक्न आफूलाई मत दिन गरेको आग्रहप्रति लक्षित गर्दै भने, ‘विश्वासको मत लिएन भने मध्यावधिमा जान्छ भनेर धम्क्याउने, तर्साउने गर्नै पर्दैन। संविधानले प्रष्ट लेखेको छ।’
उनले संविधानको धारा १६८ का विभिन्न धाराको उदाहरण दिँदै ७ मा पुगेमात्र मध्यावधि हुने कुरा सत्ता पक्षले बिर्सेको जिकिर गरे।
‘१६६ को २ अनुसार सरकार बनेन भने ३ कहाँ जान्छ, ५ कहाँ जान्छ?’, उनको प्रश्न थियो।
नेता पाण्डेले असंवैधानिक कदम चालिँदा संवैधानिक बाटो अवलम्बन गर्न अदालत जाने प्रष्ट पार्दै कांग्रेस विधिको शासनको पक्षमा भएको, अदालतको आदेश मान्ने तर असंवैधानिक कदम चालिँदा अदालत नै जानेमा प्रष्ट भएको पनि बताए।
‘हामी अदालतमा विश्वास गर्छौँ र मान्छौँ। मान्नुको मतलब बोल्न नपाइने हैन,’ उनले सर्वोच्चले ६० सदस्यीय संसदको बहुमत सभामुखलाई बाहिर राख्दा ३० हुने गरी गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै भने, ‘यसैगरी अगाडि बढ्ने हो भने न्याय मर्छ, अराजकता फैलन्छ। एकदिन न एकदिन अदालतले यो कुरा सच्याउँछ।’
यसअघि राप्रपा नेता पञ्चराम गुरुङले वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषण गरे भने मुख्यमन्त्री अधिकारी र माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पक्षमा मत दिन आग्रह गरेका थिए।
सदन ३० मिनेटको लागि स्थगित भएको छ।
Shares
प्रतिक्रिया