महेन्द्रपुललाई पोखराको मुटु मानिन्छ। पोखराको बस्ती विकाससँगै व्यापारिक केन्द्र बनेको सो क्षेत्र कुनैबेला ‘साँघुको मुख’ नामले प्रख्यात थियो।
पोखरालाई दुई फ्याक पार्ने सेतीमाथि बनेको काठको साँघुलाई आधुनिक महेन्द्रपुलले विस्थापित गरेसँगै साँघुको मुखले नयाँ नाम पायो। पुरानो साँघुको मुखको दुवैतिर ठूला पीपलका रुख थिए। छेउमा सानो पोखरी पनि थियो।
तर, कालान्तरमा पोखरी अतिक्रमणमा पर्यो, पीपलका बोटलाई क्रंक्रिटको जंगलले विस्थापित गरिदियो। भरियाले भारी बिसाउने, यात्रुहरु सुस्ताउने चौतारी मासिएपछि केही सार्वजनिक जग्गा अतिक्रमणमा पर्यो। जोगिएको केही जमिन महानगरको स्वामित्वमा आयो।
मुख्य व्यापारिक केन्द्रमा रहेको सो क्षेत्रमा तत्कालीन नगरपालिकाले नै ३२ वटा सटरहरु बनायो र भाडामा लगायो। सेती किनारको सो क्षेत्र खाली नै राख्नुपर्ने र भौतिक संरचना निर्माण अनुचित हुने भूगोलविदको सुझाव बेवास्ता गरियो। कतिसम्म भने सेती किनारदेखि ५ मिटरभित्र बनेका भौतिक संरचना अवैध हुने महानगरकै निर्णय पनि लत्याइयो।
महानगरको स्वामित्वमा रहेको सो क्षेत्रमा सिर्जनशील कलाकार समूहको जोडबलमा २०५६ सालमा आर्ट ग्यालरी पनि त्यहीँ स्थापना भयो। तर,२०७६ सालमा महानगर स्वयंले महेन्द्रपुलमा रहेका संरचनाहरु हटाउने र पार्क बनाउने निर्णय गर्यो। सटर भत्काइए पनि आर्ट ग्यालरी र पुस्तकालयलाई त्यहीँ राख्नुपर्ने आवाज पनि उठ्यो।
लामो समयसम्म सो क्षेत्र उस्तै रह्यो। गएको जेठमा भने महेन्द्रपुल क्षेत्रका सटरहरुमा महानगरले डोजर लगायो। स्थानीयहरुले सेती किनारको सो क्षेत्रमा सेतीको खोँच हेर्न मिल्ने गरी हरियालीसहितको सुन्दर पार्क बन्ने सपना देखे। चौतारी बन्ने आशा राखे।
तर, उल्टो भयो। पोखराका मेयर धनराज आचार्यले खाली जग्गामा ‘झण्डा पार्क’ बनाउने निर्णय गरे। झण्डा पार्क बनेपछि विश्वभरका पर्यटक आकर्षित गर्न सकिने तर्कसहित उनले लायन्स क्लब अन्तर्राष्ट्रिय, नेपाललाई पार्क निर्माणको स्वीकृति प्रदान गरे। सोमबार प्रजातन्त्र दिवस पारेर झण्डा पार्कको उद्घाटन गरिएको छ।
संयुक्त राष्ट्रसंघमा आवद्ध १९३ देशसहित महानगर र लायन्सको समेत गरी १९७ झण्डा फहराइएको मेयर धनराज आचार्यले सगर्व घोषणा गरे। लायन्स इन्टरन्यासनलको करिब ७० लाख रुपैयाँ लागतमा पार्क बनेको उनको भनाइ थियो। उनले त्यसो भनिरहँदा मञ्चनेरै बनेको सार्वजनिक शौचालयमा भने ताला लगाइएको थियो। यद्यपि, उनले सो ठाउँमा नेवारी संस्कृति अनुसारको फल्चा र मट्का चियासहितको पार्क बनाइने योजना भने सुनाउन भ्याए।
‘यहाँ पहिला पीपलको रुख थियो, एकादशी (हरिवोधिनी) को दिन दुवैतिर रहेका रुखमा बाँधेर फूल तारिन्थ्यो, यहाँ पञ्चायतकालमै पत्रिका पसलहरु थिए। पुस्तकालय थियो। मापदण्डमा पर्ने र जीर्ण भएकाले यहाँका सटरहरु हटाइयो,’ उनले भने, ‘मापदण्ड पालना गर्दा २ रोपनी जग्गामध्ये ३ फिट पनि नरहने अवस्था भयो। अनि, लायन्सको सहयोगमा झण्डा पार्क बनाउने निर्णय गरियो, शौचालय चाहिँ गैरआवासीय नेपाली संघको सहयोगमा बनेको हो।’
त्यसो भनिरहँदा उनले झण्डा पार्कको औचित्य पुष्टिको प्रयास पनि गरे।
‘पार्कभित्र सबै देशका झण्डा र ती देशबारे जानकारी राखिएका छन्। सामाजिक विषयका विद्यार्थीले यहाँ आएर ती राष्ट्रबारे जानकारी लिन सक्छन्। कक्षामा पढ्ने विषयलाई प्रयोगात्मक तरिकाले सिकाउने ठाउँको रुपमा यसलाई विकास गरिएको छ। पार्कभित्रको एकातिरको कुनामा पत्रिका पढ्ने र अर्कोतिर डिजिटल्ली समाचार पढ्ने व्यवस्था मिलाइएको छ। यसले पोखरा घुम्न आउने पर्यटकलाई आकर्षित गर्छ।’
उनले पार्कमा करिब ४ सयजना बस्न मिल्ने पनि जिकिर गरे।
महानगर एक्लैले विकासका काम गर्न नसक्ने भएकाले लायन्ससँगको सहकार्यमा पार्क निर्माण गरिएको पनि उनले जिकिर गरे। धनराज स्वयं लायन्सका नेता हुन्। एमाले अखिलबाट राजनीति सुरु गरेका उनी बीचमा लायन्सको गभर्नर बनेका थिए। लायन्सप्रति उनको बढी नै मोह रहेको छ।
ती आँखै खाने झण्डा : दुर्घटनाको खतरा!
महेन्द्रपुल साँघुरो छ। साँघुरो पुलको मुखैमा चोक छ। जहाँ पोखराको चारतिरबाट सवारी साधन आउँछन्। पोखराको मुख्य बजार भएकाले महेन्द्रपुलमा अत्यधिक ट्राफिक जाम हुन्छ। सोमबार बिहान पार्कको उद्घाटनकै क्रममा पनि ६ जना ट्राफिक प्रहरीलाई त्यहाँको ट्राफिक व्यवस्थापन गर्न हम्मे परेको दृष्यले नै त्यसको पुष्टि गर्छ। अर्कोतर्फ,पुलसँगै जोडिएको साँघुरो पार्कमा राखिएका झण्डाहरु रंगीचङ्गी छन्। ट्राफिक प्रहरीका अनुसार बाटोको नजिक चालकको ध्यान अन्यत्र मोडिने गरी रङ्गीचङ्गी वस्तु राख्दा दुर्घटनाको खतरा हुन्छ।
‘स्वभावैले सवारी चलाउने क्रममा चालकको ध्यान विकेन्द्रित हुँदा दुर्घटनाको खतरा बढ्छ,’ जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले भने, ‘महेन्द्रपुलमै झण्डापार्क राखेपछि नयाँजस्तो भयो, चोकैमा सुरुसुरुमा के हो कस्तो छ भन्ने भएकाले भीडभाड हुने नै भयो, नर्मल दिनभन्दा प्रेसरको अवस्था हुने देखिएको छ।’
सहरी योजनाविद वेतमानसिंह भण्डारीका अनुसार अध्ययनविना नै गरिने हचुवाका निर्णणहरुका कारण नेपालका सहरहरु कुरुप हुँदै गएका हुन्। करिब एक वर्षअघिको संवादमा उनले भनेका थिए,‘ पोखरा आफैँमा कमजोर भूगोल भएको सहर हो। अझ सेती नदी किनारमा त ठूला संरचना बनाउनै हुँदैन। नदी किनारको क्षेत्रमा वृक्षरोपण गर्नु राम्रो हुन्छ तर यहाँ त्यस्तो देखिँदैन,अध्ययनविना गरिएका निर्णयहरुले नै सहर कुरुप बनेका हुन्।’
चौतारी बनाएकै भए बेस हुन्थ्यो
मेयरमा निर्वाचित हुनासाथ धनराज आचार्यले पोखरालाई हरित सहर बनाइने घोषणा गरेका थिए। घरघर रुख रोप्न लगाउने उनको उद्घोष थियो। फूल नै रोपेर उनले २०७९ साल जेठ १२ गते कार्यभार थालेका थिए। तर, उनले पोखरा देशमै सबैभन्दा बढी चौतारीहरु भएको सहर थियो भन्ने सत्यलाई बिर्से।
मार्टिन चौतारीका डा. जगन्नाथ अधिकारीको ‘सहरी वातावरणमा भएका सार्वजनिक संरचनाहरुको क्षतिको सामाजिक–पर्यावरणीय विश्लेषणः पोखरा सहरको अध्ययन’ विषयक सोधका अनुसार पोखरामा सन् १९७७ मा ६३२ चौतारा रहेका थिए। आधुनिक पोखराका योजनाकार अञ्चलाधीश शंकरराज पाठकले त्यही सत्यमा अडेर पोखरालाई चौताराहरुको सहर बनाउने योजना अगाडि सारेका थिए। तर, त्यसो हुन सकेन। बरु चौताराहरु मास्ने क्रम बढ्दै गयो।
जगन्नाथले अध्ययनको क्रममा अर्थात् सन् २००० मा जम्मा २७८ वटा चौतारा बाँकी रहेको औँल्याएका थिए। महेन्द्रपुलमा झण्डा पार्कको सट्टा चिटिक्कको चौतारोसहितको पार्क बनाइदिएको भए राम्रो हुने पोखरेली अभियन्ताहरुको चाहना थियो। पोखरा बाहिरबाट आउने मान्छेले महेन्द्रपुलको चौतारीमा सुस्ताउँदै म यहाँ छु भनेर आफन्त पर्खिन मिल्ने ठाउँ बनोस् भन्ने स्थानीयको चाहना पूरा भएन।
अभियन्तामध्येका एक विश्व सिग्देल भन्छन्, ‘पर्यटकलाई आकर्षित गर्ने नै हो भने झण्डा पार्कको ठाउँमा नेपाली पाराको चौतारी बनाउन सकिन्थ्यो, यो कुनै मौलिकखालको सोचाइ भएन।’
झण्डा पार्क रहेको वडा नम्बर ९ सँगै जोडिएको वडा नम्बर ४ का पूर्ववडाध्यक्ष शंकर बास्तोला पनि महेन्द्रपुलमा झण्डा पार्क बनाइएकोमा खुसी छैनन्।
‘मैले त्यहाँ सेतीको खोँच हेर्न मिल्ने सुन्दर पार्क बनाउने योजना अगाडि सारेको थिएँ तर झण्डा राखेर झिलीमिली पारियो, सेती खोँच हेर्ने ठाउँ त मासियो नै भोलिका दिनमा पोखरामा आकासे पुल चाहिएला, त्यहाँ आकासे पुलसहितको पार्क बनाउन मिल्थ्यो, त्यता पनि हेरिएन।’
Shares
प्रतिक्रिया