ad ad

गण्डकी


पोखरा महानगरलाई एनआरएनएबाट शौचालय उपहार

पोखरा महानगरलाई एनआरएनएबाट शौचालय उपहार

नेपालखबर
असोज २६, २०८० शुक्रबार १९:५६, काठमाडौँ

पोखरा महानगरपालिका वडा नं–९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो। 

शौचालयमा महिला पुरुष शौचालय, महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सरसहितका बेसिन तथा धाराहरू जडान गरिएको छ। बायो डाइजेस्टर भने जडान गर्न बाँकी नै छ।

महेन्द्रपुलको उत्तर तर्फ कि.न.८२ को ५ आना क्षेत्रफलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको हो। सो स्थानमा सुन्दर पार्क समेत निर्माण हुनेछ।

यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ। शौचालय निर्माणका लागि एनआरएनएले ६० लाख उपलब्ध गराएको छ भने पार्क निर्माणका लागि थप रु।२० लाख प्रदान गर्नेछ।

बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले बेहोर्नेछ। शौचालय लाखे विल्डर्स नेपाल प्रालिले निर्माणको जिम्मा पाएको थियो। यसको ड्रोइङ र डिजाइनको काम सर्ग आर्किटेक प्रालिले निशुल्क रुपमा गरेको महानगरले जनाएको छ। 

शुक्रबार एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिन्।

प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताए।

‘यसले एक स्थानको एक अति आवश्यकताको पूरा गर्नेछ, यो एक आफैंमा सम्पूर्ण होइन तर व्यवस्थित सहरमा एक असल नमूना भने अवश्य हो,’ प्रमुख आचार्यले भने, ‘शौचालय दैनिक १८ घण्टासम्म सञ्चालन गरिनेछ।’ 

यसबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने उनले बताए। उनका अनुसार शौचालय अगाडी वाटर फाउन्टेनसहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष समेत रहेकी मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालयले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने बताइन्।

उनले  पोखराका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवद्र्धनको अभियानमा थप सहकार्यका गरिने घोषणा गरिन्।

‘यसलाई विदेशमा रहेका नेपालीहरूले दिएको एक चिनोका रूपमा लिन सक्नुहुन्छ, यो विदेशमा रहँदा आर्जन गरेको ज्ञान सीप र नाङ्गो आँखाले देखेको त्यहाँको विकासको एक नमूना हो,’ अध्यक्ष थापाले भनिन्, ‘मातृभूमिको प्रेमका खातिर सरकारी प्रक्रियाको जटिलताका बाबजुद यो पोखराले ग्रहण गरेको एनआरएनएको हार्दिकता र पूर्वाधार निर्माणमा एक असल साझेदारीको प्रतीक हो।’ 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरपालिकाको एकल लगानी र लागत साझेदारीमा शौचालय निर्माण गर्दै जाने बताए।

हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेको  महानगरको जिकिर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .