पोखराका व्यवसायी आनन्दराज मुल्मी २०५४ सालमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष निर्वाचित भए। पेचिलो प्रतिस्पर्धामा उनले चिरञ्जीवि तिवारीलाई पराजित गरेका थिए।
ठूला घरानाबीचको प्रत्यक्ष लडाइँ मानिएको सो प्रतिस्पर्धामा मोफसल एकातिर थियो भने काठमाडौंका ठूला घराना पनि विभाजित बनेका थिए।
अहिलेका डलर अर्बपति विनोद चौधरी त्यो बेला खुलेरै मुल्मीको पक्षमा लागेका थिए। उनले आफ्नो आत्मवृत्तान्तमा पनि त्यो विषय उल्लेख गरेका छन्।
त्यसो त, नेपाल उद्योग वाणिज्य महासंघको संस्थापकमध्येको एक पोखरा उद्योग वाणिज्य संघले केही वर्ष अघिदेखि नै महासंघको नेतृत्व लिने तयारी थालेको थियो।
मुल्मीभन्दा अगाडि पोखराले उपाध्यक्षसम्मको भूमिका पाए पनि अध्यक्ष लड्ने जमर्को गरेको थिएन। नेपाल उद्योग वाणिज्य संघले मोफलसका व्यवसायीहरुको आवाज उठाउन नसकेको भन्दै जिल्ला उद्योग वाणिज्य संघहरु रुष्ट थिए।
असन्तुष्टहरुको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले लिएको थियो।
पोखराकै अगुवाइमा २०४० साल जेठ ६ गते तत्कालीन पश्चिमाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको पोखरा भेला डाकियो।
भेलाले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई सरकारले अंगिकार गर्ने नीतिहरुको समर्थनमात्र गर्ने इकाइको रुपमा मात्र नलिइ उवा संघमुखी हुनको लागि ध्यानाकर्षण गराउने निर्णय गर्यो।
२०४१ साल चैत्र १७ गते पोखरामै बसेको गोरखा, बागलुङ, म्याग्दी, पोखरा, बुटबल र पाल्पा उद्योग वाणिज्य संघको बैठकले पश्चिमाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघहरुबीच आपसी समझदारी वृद्धि तथा संघको हितको लागि पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघ समन्वय समिति गठनको निर्णय भयो।
२०४३ साल पुस ४ गते सिद्धार्थनगर उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न बैठकले मस्यौदा विधान अनुमोदन गर्यो भने सोही वर्षको चैत २७ गते सम्पन्न साधारण सभाले पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष आनन्दराज मुल्मीलाई पश्चिमाञ्चल उद्योग वाणिज्य संघको अध्यक्ष चयन गरेको थियो।
पश्चिमाञ्चल उद्योग वाणिज्य संघको ‘प्लेटफर्म’ले मुल्मीलाई नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्न सहज बनायो।
महासंघको अध्यक्ष हुँदा मुल्मीले मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याउने सरकारी नीतिको समर्थन जनाए। जिल्ला–नगर उद्योग वाणिज्य संघहरुको व्यापक विरोधका बीच उनले गरेको यो निर्णयले कालान्तरमा नेपालको अर्थतन्त्र बलियो बनाउन एवं व्यवसायीहरुलाई पारदर्शी बनाउन सहयोग पुर्यायो।
आफ्ना पूर्वअध्यक्षलाई महासंघको मुखिया बनाएपछि पोखरा उद्योग वाणिज्य संघ हौसियो। उसले हरेक १० वर्षपछि महासंघको नेतृत्व लिने गरी आफूलाई तयार पार्ने नीति लियो।
‘पोखरा उद्योग वाणिज्य संघको त्यही निर्णय अनुसार नै म २०५६ सालमा नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य चुनिएँ,’ महासंघका पूर्वउपाध्यक्ष आजाद श्रेष्ठले भने, ‘प्रदीपकुमार श्रेष्ठको कार्यकालदेखि भएको मेरो आवद्धता अहिले पनि छँदैछ।’
महासंघमा आजाद विभिन्न उपसमितिको संयोजक हुँदै जिल्ला नगरतर्फको उपाध्यक्ष भए। महासंघमा जिल्ला–नगर उपाध्यक्षलाई शक्तिशाली मानिन्छ।
चण्डीराज ढकाल अध्यक्ष हुँदा (२०६२–२०६४) मा जिल्ला नगर उपाध्यक्ष रहेका उनी अर्को कार्यकालमा पनि सोही पदमा उम्मेदवार बने। तर, कुशकुमार जोशीको प्यानलबाट चुनाव लडेका आजाद कृष्ण ताम्राकारसँग झिनो मतले पराजित भए।
कुशकुमारलाई जिताउन मरिमेटेर लागेका आजादमाथि त्यो बेला कार्यकाल दोहोर्याएको आरोप लाग्यो। कुश विजयी भए।
आफूलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका आजादलाई पुनः केन्द्रीय सदस्यमा मनोनित गरे। अर्को कार्यकालमा आजाद अध्यक्षको प्रतिस्पर्धी बने। २०६७ सालमा उनका प्रतिस्पर्धी सुरज वैद्य थिए।
आजादलाई त्यो चुनाव पनि फापेन।
महासंघको राजनीतिमा लामो समय बिताएका आजादले यसबाट आफूलाई पर राखे।
तर, त्यतिबेलासम्म महासंघका उनी सम्मिलित लक्ष्मी हाउसको प्रतिनिधित्व गर्दै भान्जा अञ्जन श्रेष्ठले ‘इन्ट्री’ मारिसकेका थिए।
लक्ष्मी समूहको काठमाडौं कार्यालय सम्हाल्ने अञ्जनले बस्तुगततर्फबाट आफूलाई अगाडि बढाउँदै लगे।
शेखर गोल्छा अध्यक्ष हुँदा उनी बस्तुगततर्फको उपाध्यक्ष निर्वाचित भए।
उनले चुनावमा प्रतिस्पर्धी उमेश श्रेष्ठलाई पराजित गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।
५७ औं वार्षिक साधारण सभामा उनले आफूलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरे। देश दौडाहा गरे। व्यवसायीहरुको कुरा सुने।
महासंघको नेतृत्वमा पुग्न असफल मामा आजादले उनको चुनावी कमाण्ड सम्हाले। पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका आजादलाई सोही संघको प्रस्तावमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले आधिकारिक उम्मेदवार घोषणा गर्यो।
त्रिपक्षीय चुनावमा उनी पहिलो नम्बरमा आए। दोस्रो नम्बरमा आएका तथा अघिल्लो चुनावमा समेत आफूमाथि हाबी भएका अञ्जनलाई वरिष्ठ स्वीकारे। अञ्जन आउँदो तीन वर्षपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनेछन्।
संयोग कस्तो भने, पोखरामा जन्मेका र बागलुङ मावली रहेका अञ्जनले वरिष्ठ उपाध्यक्ष बनेसँगै सहोदर मामा आजादको सपनामात्र पूरा गरेका छैनन्, मावली गाउँ बागलुङमै जन्मेका चन्द्र ढकालको ‘दाहिने हात’ बनेर निजी क्षेत्रको एजेण्डा बोक्ने अवसर पनि पाएका छन्।
Shares
प्रतिक्रिया