गण्डकी प्रदेशको उपसभामुखको लागि एमालेकी विना थापा मगर र कांग्रेसी पार्वती तामाङबीच प्रतिस्पर्धा हुने भएको छ।
एमाले संसदीय दलको आज बिहान बसेको बैठकले बागलुङकी विना थापा मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण धिताल सभामुख बनेसँगै उपसभामुख एमालेको भागमा परेको थियो। एमालेमा कास्कीकी देवका पहारी, नवलपुरकी पद्मा जिसी पनि उपसभामुखको आंकाक्षी थिइन्।
तर, अन्त्यमा बाजी भने विनाले मारिन्। लामो समय अखिल नेपाल महिला संघमा काम गरेकी उनी बागलुङ एमाले सचिवालय सदस्य हुन्।
एमालेको यो निर्णयसँगै बागलुङको बडीगाड–१ की बासिन्दा विना उपसभामुख बन्ने पक्काजस्तै भएको छ। ६० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ गरी स्पष्ट बहुमत छ।
उता, सभामुखमा पनि सरस्वती अर्याललाई उम्मेदवार बनाएको कांग्रेसले उपसभामुखमा पनि महिलालाई नै अगाडि सारेको हो। कांग्रेस गण्डकीको संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रतिस्पर्धामा भाग लिनु कांग्रेसको नैतिक धर्म र अधिकार पनि भएकाले प्रतिस्पर्धामा उत्रिएको बताए।
प्रदेशसभा सचिवालयले आज उपसभामुखको निर्वाचन कार्यतालिका तय गरेको छ।
प्रतिक्रिया