अघिल्लो चुनावको बेला हो, पोखराका माओवादी कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डलाई कास्कीबाटै चुनाव लड्न आग्रह गरे। प्रचण्डले चितवनबाटै चुनाव लड्ने निर्णय गरिसकेका थिएनन्। कास्की क्षेत्र नम्बर ३ मा माओवादीको राम्रै प्रभाव र अर्कोतिर वाम एकता।
अन्नपूर्ण गाउँपालिका लेवाडेमा जन्मेका प्रचण्ड सकारात्मक बने। सानैमा चितवन बसाइँ सरेका प्रचण्डको लागि उनकै पुर्ख्यौली गाउँमा घर किन्नेसम्मको कुरा भयो। पोखरा–बागलुङ राजमार्गनेर उनको लागि भनेर जग्गा पनि हेरियो। तर, अन्त्यमा प्रचण्डले चितवन नै रोजे।
प्रचण्डलाई पुर्ख्यौली थलो फर्काउने र शीर्षनेताको आडमा यो क्षेत्रमा सक्दो धेरै बजेट विनियोजन गर्ने सपनामा तुषारापात भयो।
यो पटकको चुनावको घोषणापछि पनि त्यो विषयमा चर्चा चल्यो।
‘शीर्षनेता हुनुको फाइदा हामीले देखेकै छौँ, सक्छौँ भने अध्यक्षलाई कास्की क्षेत्र नम्बर ३ बाटै चुनाव लडाऔँ’,माओवादी नेता देवेन्द्र पौडेलसहित केही बौद्धिक व्यक्तित्वहरुको जमघटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले एउटा जमघटमा भने, ‘गण्डकी विकासमा पछि परिसक्यो, हाम्रा एजेण्डा कार्यान्वयन गराउन यो उपयुक्त मौका हुनसक्छ।’
मुल्मीका अनुसार उनको प्रस्तावमा केही माओवादी नेता सकारात्मक भए, केहीले प्रचण्डको आगमनले अवसरबाट बञ्चित हुने ठाने। प्रचण्ड अहिलेको चुनावमा गण्डकी त सरे तर गोरखा रोजे।
सत्ता गठबन्धनले कास्कीका ३ क्षेत्र भागबण्डा गर्यो। क्षेत्र नम्बर १ कांग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र एमालेका जगत विश्वकर्माले जितेको सो क्षेत्र माओवादीको भागमा पर्यो। गण्डकी प्रदेश सांसद नदोहोर्याउने घोषणा गरेका गण्डकीका अर्थमन्त्री रामजी बरालको भाग्य खुल्यो। उनी अहिले सो क्षेत्रमा एमालेका उम्मेदवार दामोदर बैरागीको प्रतिस्पर्धी बनेका छन्।
फेवाताल पारिको गाउँमा जन्मेका रामजी माओवादी कास्कीका पुराना नेतामध्ये गनिन्छन्। सशस्त्र द्वन्द्वको बेला कास्कीका उच्चस्तरीय नेताहरु विजय ढकाल, राजविक्रम भुर्तेलहरुले ज्यान गुमाउँदा उनीमाथि विभिन्न जिम्मेवारी थपिए। पर्वत जिल्ला सेक्रेटरी, २०५९ सालतिर कास्की सेक्रेटरी र इन्चार्ज रहेका उनी हाल माओवादीका केन्द्रीय सदस्य हुन्।
सत्ता गबठन्धनको उम्मेदवार बनेसँगै उनी यतिबेला घरदैलोमा व्यस्त छन्। फेवातालको किनारदेखि अन्नपूर्णको फेदसम्मको ठूलो भूगोललाई पर्यटन, कृषि र उद्यमशीलताले जोड्ने आफ्नो एजेण्डालाई जनताले मन पराएको उनको जिकिर छ।
‘हामी नसक्ने कुरा गर्दैनौँ, काम गरेर देखाउने हो’, पोखरा ३, नदीपुरको घरदैलोमा भेटिँदा उनले भने, ‘जनताको मुक्तिको आन्दोलनमा होमिएको मान्छे हुँ, आफ्नो लागि भन्दापनि जनताकै हितमा काम गर्ने इच्छा छ।’
प्रदेशको अर्थमन्त्री भइसकेका रामजीले चुनाव जिते भने उनी केन्द्रीय मन्त्री बन्ने आकलन गरिएको छ। तर, उनको लागि शहीद परिवारकी अनिता भुर्तेलको बागी उम्मेदवारी चुनौती बनेको छ।
उता, गएको चुनावमा जगत विश्वकर्मा ८ हजार ५२६ मतान्तरले विजयी बनेको क्षेत्रमा एमाले कमजोर छैन। कास्कीको अन्नपूर्ण गाउँपालिकामा जन्मेका दामोदर बैरागी पौडेल एमालेभित्र अवसर नपाउने नेताको रुपमा चिनिन्छन्। लामो समय मजदुर आन्दोलनमा बिताएका बैरागी त्यही सहानुभूतिलाई अवसरमा बदल्ने प्रयत्नमा छन्।
इमान्दारिता र निष्ठाको राजनीति नै आफ्नो जितको आधार भएको बताउने बैरागी भन्छन्, ‘पाँचदलीय गठबन्धन स्वार्थको जगमा उभिएको छ। एमालेले जनताको हितमा काम गर्छ भन्ने जनताले बुझेका छन्, यसका अलावा मैले अगाडि सारेका विकास र समृद्धिका नारालाई जनताले रुचाएका छन्।’
कास्की क्षेत्र नम्बर ३ मा माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकासहित पोखराका ११ वटा वडा रहेका छन्। पोखराका १,५ र ६ नम्बर वडामा एमाले विजयी भएको छ भने बाँकी २, १८,१९,२३,२४,२५ र २६ मा कांग्रेसका वडाध्यक्ष रहेका छन् भने वडा नम्बर २२ मा गठबन्धनकै सहयोगमा स्वतन्त्र वडाध्यक्ष निर्वाचित भएका छन्।
अन्नपूर्ण गाउँपालिका एमाले र माछापुच्छ्रेमा कांग्रेसको नेतृत्व छ। स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने एमाले २९ हजार ८०५ र कांग्रेसले २८ हजार ८४६ मत प्राप्त गरेको छ। त्यहाँ माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले २ हजार ४ सय र एकीकृत समाजवादीले ५०१ मत प्राप्त गरेको थियो।
माओवादी र एकीकृत समाजवादीको मतसमेत मिसाउँदा यो क्षेत्रमा दामोदर कमजोर देखिन्छन्। यो क्षेत्रमा रामजी र दामोदरसहित १५ जना उम्मेदवारहरु चुनावी मैदानमा छन्। १ लाख १ हजार ७१५ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क) मा ५२ हजार ८६२ र प्रदेशसभा (ख) मा ४८ हजार ८५३ मतदाता छन्।
माओवादी अध्यक्ष प्रचण्ड चुनावी क्षेत्र फेर्ने नेता हुन्। कास्की क्षेत्र नम्बर ३ मा यसपटक माओवादी विजयी भएमा अर्को चुनावमा उनी यो क्षेत्रबाट उम्मेदवार बन्नसक्ने स्वयं रामजी स्वीकार्छन्।
‘अध्यक्षज्यू यो क्षेत्र आउनुभयो भने समग्र गण्डकीले नै लाभ पाउँछ’,उनी भन्छन्,‘ मेरो जित उहाँलाई कास्कीमा निम्तो दिन सहायक हुन्छ भन्ने मैले ठानेको छु।
दोहोरिन खोजेका राजीवलाई रोक्ने ध्याउन्नमा प्रकाश
एमालेले कास्की क्षेत्र नम्बर ३ ‘ख’मा राजीव पहारीलाई दोहोर्याएर उम्मेदवार बनायो। एमालेका केन्द्रीय सदस्य रहेका राजीव विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
पोखराको बैदाममा जन्मेका राजीवले अघिल्लो चुनावमा कांग्रेसका भोजबहादुर गुरुङलाई पराजित गर्दै प्रदेश सांसद बनेका थिए। राजीवले १६ हजार १६७ मत पाउँदा भोजबहादुरले १० हजार ९७६ मत प्राप्त गरेका थिए।
गएको स्थानीय चुनावको नतिजा हेर्ने हो भने, अन्नपूर्ण गाउँपालिकासहित र पोखराको वडा नम्बर ५,६,२२,२३ र २४ वडा रहेको यो क्षेत्रका अन्नपूर्णसहित पोखराका ५ र ६ नम्बर वडा एमालेले जितेको छ।
बढी मतदाता भएको वडा नम्बर ६ का बासिन्दा राजीव पुनः विजयी भएर मन्त्री बन्ने ध्याउन्नमा देखिन्छन् भने लामो समय खेलकुद क्षेत्रमा बिताएका प्रकाश खेलको अनुशासन राजनीतिमा प्रयोग गर्ने एजेण्डासहित प्रतिस्पर्धामा रहेका छन्।
राजीव गण्डकीमा एमालेको सरकार हुँदा नै मन्त्रीका आकांक्षी थिए। तर, तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बाले उनलाई मन्त्री बनाएनन्। आफ्नै अभिव्यक्तिका कारण चर्चामा आइरहने राजीव आफूलाई विकासको अभियन्ता भएको र सांसद हुँदा विकास निर्माणका धेरै काम गरेको जिकिर गर्छन्।
‘गण्डकीमा एमाले सरकार हुँदा हामीले थुप्रै योजना अगाडि बढाएका थियौँ, हामी ती काम पूरा गर्न चाहन्छौँ’,उनले भन्ने गरेका छन्,‘ म बाँकी काम पूरा गर्ने प्रतिवद्धतासहित मैदानमा आएको हुँ।’
उता प्रकाशले जलवायू परिवर्तनका कारण हिमाली क्षेत्रले भोगेको पीडा सल्ट्याउने, ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने, नयाँपुलदेखि घान्द्रुक सडक, लुम्ले तोल्का हुँदै लान्द्रुक जोड्ने सडक, अन्नपूर्ण रिङरोडदेखि पोखराका सबै वडा पुग्ने सडकहरुको एकीकृत विकास, रोजगारी ‘गरीब र विपन्न परिवारका लागि सुरक्षित आवासको ज्ञारेण्टी, रोजगारीको लागि व्यावसायिक तालिमको व्यवस्थालगायतका आफ्ना एजेण्डालाई प्रमुखतासाथ उठाएका छन्।
‘फेवाताल संरक्षण, पर्यटनको विकास, समुदायमा आधारित पर्यटन सन्चालन गरिरहेका उद्यमीहरुका लागि आधारभूत विदेशी भाषा तालिम, सरसफाइ र सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण र होमस्टे सेवाको स्तरोन्नति पनि मेरा एजेण्डा हुन्’,उनले भनेका छन्।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’मा माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङ प्रतिस्पर्धामा छन्।
Shares
प्रतिक्रिया