‘गरे एक चम्चा मह सधैँ सेवन, हुन्छ स्वस्थ–दीर्घ जीवन!’
सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथका मौरीपालक किसान हेमराज देवकोटाले आफ्नो फेसबुक वालमा राखेको वाक्य हो यो।
२२ वर्षदेखि व्यावसायिक रूपमा मौरी पालन गरिरहेका देवकोटा देशकै अगुवा मौरीपालक किसानका रूपमा परिचित छन्। उनी दिनरात मौरीकै सेवा र चिन्तनमा समय बिताउँछन्।
औपचारिक–अनौपचारिक कुराकानीमा पनि उनी मौरी र महकै गुणगान गर्छन्। सामाजिक सञ्जालमा पनि उनी मौरी र महसम्बन्धी नै विचार–विमर्श गरिरहेका भेटिन्छन्।
दुई कार्यकाल मौरीपालक महासंघको महासचिव भएर किसानको नेतृत्व गरेका देवकोटासँग अहिले २८० गोला (घार) मौरी छन्। सर्लाहीमा मात्र होइन, मौरी चराउन उनी देशका विभिन्न जिल्लामा कुदिरहन्छन्।
‘एक ठाउँमा मात्रै राख्दा मौरीले भनेजति मह दिँदैन’, देवकोटाले नेपालखबरसँग भने, ‘यसबाट राम्रो आम्दानी लिन मौसम र चरण क्षेत्रको ख्याल गरेर मौरीलाई विभिन्न ठाउँमा सारिरहनुपर्छ।’
सर्लाहीको लालबन्दी–५ जब्दीको मौरी खर्कमा भेटिएका देवकोटाले मौरी पालन पेसाबाट आफू सन्तुष्ट रहेको बताए। गत वर्ष मात्रै मह बिक्रीबाट भएको आम्दानीको हिसाब निकाल्दै उनले भने, ‘सबै खर्च कटाएर गएको वर्ष मह र गोला बेचेर २५ लाखभन्दा बढी नै आम्दानी भयो।’
उनी मह मात्रै बेच्दैनन्। मौरीको गोला पनि बिक्री गर्छन्। देशका विभिन्न ठाउँमा हुने मौरी पालनसम्बन्धी तालिममा प्रशिक्षका रूपमा पनि सहभागी हुन्छन्।
केही दिनअघि मात्रै उनी प्युठानको ऐरावती र अर्घाखाँचीको भूमेथान गाउँपालिकाले आयोजना गरेको मौरी पालनसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा सहभागी भएर फर्किएका हुन्।
तालिममा सहभागी भएका किसानले उनैसँग मौरीका गोला किन्छन्। त्यो पनि उनको आम्दानीको अर्को स्रोत हो। देशैभरिबाट मौरीपालक किसान मौरीका गोला खोज्दै उनको फार्ममा आइपुग्छन्।
गत महिना मात्रै उनले रुपन्देहीको कञ्चन गाउँपालिकाका किसानलाई सय गोला मौरी बेचे। स्याङ्जाका एक किसानले पनि भर्खरै उनको घारबाट २० गोला मौरी किनेर लगे।
‘मौरीको गोला बेच्दा मेरो घारको संख्यामा कमी आउँदैन,’ देवकोटाले भने, ‘हरेक २५ दिनमा मौरीको संख्या दोब्बर हुन्छ। गोला बेचेर घार र मौरीको संख्यामा कमी हुँदैन।’
एक गोला मौरी बेच्दा उनलाई १४ देखि १५ सय रुपैयाँसम्म आम्दानी हुन्छ। देवकोटा वर्षको करिब २५ सय जति रानी मौरी पनि तयार गर्छन्। ‘रानी मौरी चाहिँ आवश्यक पर्ने साथीलाई सित्तैमा दिन्छु,’ उनी भन्छन्।
शरद र वसन्तको मौसम उपयुक्त
नेपालका किसानले व्यावसायिक रूपमा मेरिफेरा र सेरेना जातका मौरी पालेका छन्। देवकोटाले पालेका मौरी मेरिफेरा जातका हुन्। नेपालमा शरद र वसन्तु ऋतु मौरीका लागि अनुकूल मौसम मानिन्छ। राम्रो मह उत्पादनका लागि देवकोटा अहिले शरद ऋतुको प्रतीक्षामा छन्।
हाल उनले लालबन्दीका दुई ठाउँमा गरेर एक सय ५३ गोला मौरी राखेका छन्। अर्को एक सय ३७ गोला मौरी रौतहटको चुरे क्षेत्रमा छन्।
उनको समूहमा नवलपरासीको दुम्कीबास घर भएकी इन्दुकुमारी रानामगर पनि छिन्। पहिला सर्लाहीकै बासु ढकाल पनि उनीहरूकै समूहमा थिए। अहिले स्वास्थ्यले साथ नदिँदा उनले यो पेसा छाडे।
सँगै मौरी चराए पनि उनीहरूका घार आआफ्ना छन्। आम्दानी पनि आ–आफ्नै हुन्छ। ‘यो मह उत्पादन हुने सिजन होइन। अहिले मौरीलाई जोगाउनुपर्छ’, देवकोटाले भने, ‘भदौसम्म हामी यतै रहन्छौँ। असोज लागेपछि प्युठान जाने तयारी हुँदै छ।’
यसअघि गत चैत, वैशाखमा उनले मधेशको चुरे क्षेत्रमा पाइने चाम्रेको वनमा मौरी राखेका थिए। देवकोटाका अनुसार चाम्रे भन्ने वनस्पती मधेश प्रदेशको चुरे क्षेत्रमा मात्रै पाइन्छ। चाम्रेको मह स्वास्थ्यका दृष्टिले अति नै उत्तम हुने उनको भनाइ छ।
वर्षमा १० हजार किलो मह उत्पादन
उनी मौरी चराउन र किसानलाई प्रशिक्षण दिन देशका तीन दर्जनभन्दा धेरै जिल्लामा पुगिसकेका छन्। मौरीको घार लिएर उनी सर्लाही, महोत्तरी, रौतहट, सुनसरी, प्युठानलगायतका जिल्ला घुमिरहन्छन्।
केही वर्षदेखि उनी हरेक वर्ष दसैँअघि मौरी चराउन प्युठान जाने गरेका छन्। प्युठानको बागदुला टिकुली क्षेत्रमा चिउरीको प्राकृतिक वन छ। चिउरी फुल्ने सिजनभरि उनी बागदुला क्षेत्रमै डेरा गरेर बस्छन्।
‘बागदुला क्षेत्रमा हामी असोज दोस्रो सातादेखि मंसिर अन्तिमसम्मै बस्छौँ’, देवकोटाले भने, ‘त्यो दुई–अढाई महिनाको अवधिमा त्यहाँ चार–पाँच लट मह उत्पादन हुन्छ।’ उनले चिउरीको मह गुणस्तरीय हुने बताए।
चरण क्षेत्र राम्रो हुँदा मौरीले १०–१२ दिनमै मह दिन्छ। एउटै गोलाबाट १०–१२ किलोसम्म मह उत्पादन हुन्छ। अढाई सय गोलाबाट उनले वर्षमा १० हजार किलोभन्दा धेरै मह उत्पादन गरिरहेका छन्।
प्युठानबाट पुसको पहिलो साता उनी लुम्बिनी झरिसक्छन्। त्यतिबेला लुम्बिनीमा तोरी फुल्ने सिजन सुरु हुन्छ। त्यहाँको हरैया क्षेत्रमा तोरीका विशाल फाँट हुन्छन्। उनी फागुनसम्म मौरीसँगै लुम्बिनीका विभिन्न ठाउँमा रमाउँदै घुम्छन्। मौरी चराउँदै उनी लुम्बिनीको नेपाल–भारत सीमा क्षेत्रसम्म पुग्छन्। ‘प्युठान र लुम्बिनीमा उत्पादित मह त्यतै बिक्री हुन्छ, सर्लाही लिएर आउनु पर्दैन’, उनले भने।
‘झोले’ले खान्छन् सरकारी अनुदान
मौरीले दिने आम्दानीप्रति सन्तुष्ट देखिएका देवकोटाले मौरीपालक किसानलाई सरकारले गर्ने व्यवहारप्रति भने असन्तुष्टि व्यक्त गरे। ‘मौरीपालक किसानलाई सरकारले दिने अनुदान ठीक ढंगले वितरण भएको छैन’, असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘वास्तविक किसानले नभएर अधिकांश झोलेहरूले मौरीको अनुदान खाइरहेका छन्।’
उनले सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवनलगायतका नगरपालिकाले वास्तविक किसानलाई नभएर मौरी नै नभएका ‘ठग’हरूलाई अनुदान दिने गरेको आरोप लगाए।
देवकोटाका अनुसार सर्लाहीमा व्यावसायिक रूपमा मौरी पालन गरिरहेका वास्तविक किसान पाँच जना पनि छैनन्। तर, सरकारी रेकर्डमा ६५ घरधुरीको नाम छ। ‘लालबन्दी नगरपालिकाले गत वर्ष मौरीपालक किसानलाई अनुदान दिन २५ लाख रुपैयाँ खर्च गर्यो। यस वर्ष पनि २५ लाख छुट्याएको छ’, देवकोटाले भने, ‘तर त्यो अनुदान वास्तविक किसानले पाउँदैनन्। झोलामा मौरीको रेकर्ड बोकेर हिँड्नेले अनुदान खाँदै आएका छन्।’
ईश्वरपुर नगरपालिकामा उनले मात्रै मौरी पालेका छन्। तर, नगरपालिकाको रेकर्डमा चार दर्जनभन्दा धेरैको नाम छ। ‘बर्सेनि अनुदान तिनै झोलेहरूले खान्छन्। मौरी पालेर जीवन बिताएको मलाई अहिलेसम्म नगरपालिकाले एउटा सिन्को पनि सहयोग गरेको छैन’, देवकोटाले भने, ‘मह काड्नेले हात चाट्छ’ भन्ने नेपाली उखान छ। तर, यहाँ मह नकाढ्नेले नै हात चाटिरहेका छन्। विभिन्न तहका सरकार उनीहरुलाई नै अनुदान बाँड्छ।’
‘मह उत्पादन वृद्धिमा सरकारको ध्यान छैन’
उनले देशमा मह उत्पादन वृद्धि गर्न सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाए।
‘सरकार नेपाली युवाहरूलाई खाडी मुलुकमा खेदिरहेको छ। हरेक वर्ष भारत, बंगलादेश, पाकिस्तानबाट चिनी ल्याउँछ। हाम्रो वनमा हरेक वर्ष चिउरीको मात्रै ४० हजार मेट्रिक टन मह उत्पादन हुने रस खेर गइरहेको छ’, उनले भने, ‘त्यतापट्टि सरकारको ध्यान गएको छैन। मह उत्पादनमा ध्यान दिने हो भने विदेशबाट चिनी ल्याउनुपर्ने थिएन। युवाहरूले पनि यही रोजगारी पाउँथे।’
देवकोटाले नेपालको वन–जंगलमा मह उत्पादन हुने धेरै स्थानीय स्रोत–साधन खेर गइरहेको बताए। ‘हाम्रो देशमा ४० प्रकारका वनस्पती मह उत्पादनको दृष्टिले उपयुक्त छन्। यति धेरै रस श्रवित गर्ने बोटविरुवा विश्वका कुनै पनि मुलुकमा छैन,’ उनले भने।
उत्पादित मह खर्कबाटै बिक्री
उनले उत्पादन गरेको मह मौरी खर्क र घरैबाट बिक्री हुन्छ। उनले कतै मह बिक्री केन्द्र सञ्चालन गरेका छैनन्। देवकोटाले अहिले प्रतिकिलो साढे ८ सयका दरले मह बेच्ने गरेका छन्। उनका झण्डै तीन सय जति नियमित ग्राहक छन्। उनीहरूले वर्षमा ४० किलोदेखि डेढ सय किलोसम्म मह उनकै घरबाट उठाउँछन्। ‘एकपटक लैजाने ग्राहक फेरि मह खोज्दै मकहाँ आइपुग्छन्’, आफ्नो खाता पल्टाउँदै उनले भने।
‘भारतीय च्यानलबाट ‘चिनीको मारो धक्का’ भन्दै महका विज्ञापन आउँछ। मान्छेहरू त्यसकै पछि कुद्छन्’, देवकोटाले भने, ‘भारतीय मह नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन्छ। तर, त्यो मह नै होइन। त्यो गुणस्तरहीन मह आयातमा रोक लगाउने हो भने नेपाली किसानलाई केही राहत हुने थियो’, उनले भने।
‘महमा वार्षिक साढे २८ करोड व्यापार घाटा’
भोजराज सापकोटा
प्रमुख, किट विकास निर्देशनालय
नेपालमा व्यावसायिक रूपमा मौरीपालक किसानको संख्या १० हजार छ। घरायसी प्रयोजनका लागि मात्रै मह उत्पादन गर्ने किसान अर्को १० हजारको हाराहारीमा होलान्। देशभरका मौरीपालक किसानसँग २ लाख ४२ हजारजति घार छन्। त्यसबाट वार्षिक ४ हजार मेट्रिक टन मह उत्पादन हुन्छ।
नेपालमा उत्पादित मह थोरै परिमाणमा भारतसहितका देशमा निर्यात भइरहेको छ। भारतबाहेकका देशमा मह निर्यात हुँदा किसानले उच्च मूल्य प्राप्त गर्छन्। गत वर्ष नेपालबाट १४ हजार ८ सय किलो मह अस्ट्रेलिया, क्यानडा, फिनल्यान्ड, जापान, कतार, भारतलगायतका देशमा निर्यात भएको छ। सेरेना र भीर मौरीको मह प्रतिकिलो ६ हजार रुपैयाँसम्म निर्यात भएको भन्सार विभागको रेकर्ड छ।
विदेशबाट मह आयात भने धेरै छ। गत वर्ष १४ सय मेट्रिक टन हाराहारीमा मह आयात भएको छ। गत वर्ष महमा मात्रै नेपाललाई २८ करोड ५६ लाख रुपैयाँ बराबरको व्यापार घाटा छ। भारतबाट २२५ रुपैयाँ प्रतिकिलोको दरलेसमेत मह आयात भइरहेको छ। यसले नेपाली उत्पादन बिक्री नहुने समस्या छ।
भारतबाट सस्तो दरमा मह आयात हुँदा नेपाली किसानलाई गत वर्ष करिब हजार मेट्रिक टन मह बिक्री गर्न समस्या भएको थियो। गत वर्ष चिनीको भन्सारदर बढाउँदा नेपाली चिनीको बिक्री बढेको थियो। महमा पनि सरकारले त्यही नीति लागू गर्नुपर्छ। भारतबाट आयात हुने महमा भन्सार शुल्क बढाउने हो भने नेपाली किसानलाई थोरै भए पनि राहत हुने थियो।
Shares
प्रतिक्रिया