नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग शाह संस्कृत मावि सेफ्टी स्टार रेटिङ सुरु गर्ने नुवाकोटको पहिलो स्कुल भएको छ।
नासा नेपालको सहयोगमा सुरक्षित विद्यालय, सुरक्षित यात्रा र सुरक्षित विद्यार्थीको लागि सेफ्टी रेटिङ गरिएको हो।
संसारमा दैनिक ३५ सय नागरिकको अकाल मृत्यु भइरहेको सडक दुर्घटनामा नेपालमा समेत दैनिक ८ जनाले ज्यान गुमाइरहेका छन्। सेफ्टी स्टार रेटिङमा प्रवेश गरेपश्चात् विद्यार्थीहरुले सडक दुर्घटना न्यूनीकरण वारेमा आवश्यक ज्ञान प्राप्त गर्न सक्छन्।
वि.सं. २०५५ सालमा स्थापित सो स्कुलमा छ सयभन्दा बढी विद्यार्थी छन् भने संस्कृत माध्यममा पनि पढाइ हुने गरेको छ। विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान समेत दिँदा र उनीहरुको यात्रा सहज हुँदा अभिभावक तथा समाजले समेत ढुक्क हुने अवस्था रहन्छ।
विद्यालयअगाडि जेब्रा क्रसिङ, ३० किमि स्पिड लिमिट र स्कुल एरिया लेखिएको विभिन्न बोर्ड समेत राखिएको छ। विद्यालयमा रोड सेफ्टी क्लब गठन गरिएको छ। सबै विद्यार्थीलाई नासा नेपालका निर्देशक गोविन्द भट्टराईका साथै सञ्जय लुइँटेल र ट्रान्सपोर्ट इन्जिनियरहरुले सुरक्षित यात्राको तालीम समेत प्रदान गरे।
प्रिन्सिपल मञ्जु चित्रकारको स्कुललाई जिल्लाकै नमूना बनाउने उद्देश्यअनुरुप यस किसिमको अभियान शुरु गरिएको बताइन्।
अन्तर्राष्ट्रिय रोड एसेस्मेन्ट प्रोग्राम अन्तर्गत अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए)ले विश्वभर स्टार रेटिङ स्कुल बनाउने गर्दछ। नेपालभर हाल १४ वटा स्कुल कलेजमा सो अभियान सुरु गरिएको नासा नेपालले जनाएको छ।
Shares
प्रतिक्रिया