ad ad

कारोबार


एटीएम ह्याक प्रकरणः कुन बैंकको एटीएम कुन बैंकमा चल्छ? (सूची)

एटीएम ह्याक प्रकरणः कुन बैंकको एटीएम कुन बैंकमा चल्छ? (सूची)

दीपक भट्ट
भदौ १६, २०७६ सोमबार १०:५४,

ह्याकरले नेपाली बैंकको एटीएमबाट ह्याक गरी पैसा निकालेको घटना एकाएक सार्वजनिक भएपछि तत्कालै बैंकहरुले आफ्नो एटीएम प्रणाली नै ‘डाउन’ गरे। यसबारे नेपाल प्रहरीले पनि विशेष अनुसन्धान अघि बढाएको छ। यसक्रममा ह्याकमा संलग्न पाँच चिनियाँ, एक जना फ्रान्सेली नागरिक र तीन जना नेपाली नागरिक पक्राउ परिसकेका छन्।

शनिबार राति भएको यस घटनाले नेपाली बैंकिङ क्षेत्रमा हलचल ल्याएको छ भने निक्षेप ग्राहकलाई समेत चिन्तित बनाएको छ। कतिपयले एटीएम नै नचल्ने हो कि भन्ने संशय व्यक्त गरेका छन्। दुई दिनयता विकसित घटनाक्रमले हाल कुन–कुन बैंकको एटीएम कुन बैंकमा चल्छ भन्ने जानकारी समेत नपाउँदा ग्राहकहरु द्विविधामा परेका छन्। यो समाचारमा हामीले बैंकका ग्राहकलाई सोहीबारे जानकारी दिने प्रयास गरेका हौँ।

नेपालमा बढी प्रचलनमा रहेको भिसा एटीएम कार्ड सञ्चालनको दुईवटा प्रणाली रहेको छ। भिसा प्रणाली अमेरिकाबाट सञ्चालन हुने गर्छ। नेपाली बैंकहरु केहीले सिधै अमेरिकामा रहेको भिसाबाट स्वीकृत लिई आफ्नो बैंकमा सोही किसिमको प्रणाली बनाएर काम कार्य सञ्चालन गरिरहेका छन्। तर केही बैंक भने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)मा आबद्ध रहेका छन्। नेप्सले नै भिसासँग सम्पर्क गराएर बैंकहरुको एटीएम प्रणाली सञ्चालन गराउँछ।

अहिले नेपाली बैंकको एटीएम सिस्टमबाट पैसा ह्याक भए पनि नेप्सले आफूसँग आबद्ध भएका बैंकहरुलाई एउटा ‘सर्कुलर’ जारी गरेको छ। जुन सर्कुलरअनुसार नेप्समा नै आबद्ध बैंकहरुको एक आपसमा एटीएम कार्य चल्दैन। अर्थात् नेप्समा आबद्ध भएका बैंकले अर्को बैंकको एटीएम बुथमा भिसा कार्य प्रयोग गर्न सक्दैनन्। तर उनीहरुले नेप्समा आबद्ध नभएका बैंकहरुको बुथमा भने प्रयोग गर्न सक्नेछन्।

यो सर्कुलर अमेरिकामा रहेको भिसा कम्पनीबाट नै आएको त्यो सूचना बैंकहरुलाई जानकारीचाहिँ नेप्सले गराएको जनता बैंकका सीईओ पर्शुराम कुँवर बताउँछन्। त्यस्तै नेप्समा आबद्ध नभएका बैंकहरुको भिसा कार्ड भने नेप्समा आबद्ध भएका बैंकहरुबाहेक सबैमा चल्ने बैंकर्स संघका कायकारी निर्देशक अनिल शर्माको भनाइ छ।

कुन–कुन बैंक नेप्समा आबद्ध छन् ?
नेप्समा आबद्ध भएका वाणिज्य बैंकहरुमा प्रभु बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआइसी एसिया, बैंक अफ काठमाडौं लिमिटेड, प्राइम बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक रहेका छन्।

त्यस्तै विकास बैंकहरुमा देव विकास बैंक, ज्योति विकास बैंक, ओम डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक रहेका छन्। यीभन्दा बाहेक अरु बैंकले अमेरिकामा रहेको भिसा प्रणालीबाट सिधै अनुमति लिएर आफ्नो एटीएम सिस्टम सञ्चालन गरिरहेका छन्।

किन आयो नेप्सको यस्तो सर्कुलर?
बैंकर्स संघका शर्माका अनुसार ह्याकको घटना हेर्दा नेप्समा आबद्ध बैंकको नक्कली एटीएम कार्य बनाएर त्यसमा आबद्ध नभएका बैंकको पैसा लुटिएको थियो। त्यो घटनालाई हेरेर भिसा र नेप्सको समन्वयमा हाललाई नेप्समा आबद्ध बैंकहरुले अन्य बैंकको एटीएम कार्य स्वीकार नगर्ने विधि अपनाएको छ। एक बैंकको एटीएम अर्कोमा नचल्ने व्यवस्था केही दिनका लागि जारी रहन सक्ने नेप्सले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .