नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको बताएको छ।
नौ महिने मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले चालू आवको नौ महिनामा अर्थतन्त्र सकारात्मक दिशातिर उन्मुख भए पनि कोरोनाको दोस्रो लहरसँगै ४ प्रतिशत आर्थिक वृद्धिको अनुमान पूरा नहुने संकेत गरेको हो।
राष्ट्र बैंकले भनेको छ, ‘केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेकोछ । तर, कोभिड–१९ महामारीको कारण शिथिल भएको अर्थतन्त्र पूर्ण रुपमा पुनरुत्थान हुन नपाउँदै यसको दोस्रो लहरलेअर्थतन्त्र प्रभावित हुन गई अनुमानित आर्थिक वृद्धि हासिल गर्न समेत कठिन हुने देखिएको छ।’
आर्थिक वर्ष २०७६/०७७ मा नेपालको अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको थियो। यो वर्ष भने ४ प्रतिशतले आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभागले केही अघिमात्रै अनुमान प्रक्षेपण गरेको थियो।
चैतसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह सन्तोषजनक रहे पनि विश्वभर कोरोना नयाँ स्वरुपमा अर्को लहर सुरु भएको र १ वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकाले विप्रेषण आप्रवाहको वृद्धि कायम नहुने देखिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसमाथि पछिल्ला महिनामा शोधनान्तर बचत घट्दै घएको, पुनः निषेधाज्ञाले स्वास्थ्यबाहेकका आयात प्रभावित हुने देखिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै मुद्रास्फीति दर नियन्त्रित रहे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको, भारतमा नेपालभन्दा बढी मूल्यवृद्धि रहेको, यसले नेरु अवमूल्यन हुँदा मुद्रास्फीतिमा चाप बढ्ने राष्ट्र बैंकको अनुमान छ। कोरोनाको पहिलो लहरमा नियमनकारी नीतिगत सहजताको कारण बैंकिङ क्षेत्रले व्यवस्थापन गर्न सके पनि दोस्रो लहरले बैंकिङ क्षेत्र पनि प्रभावित हुनसक्ने राष्ट्र बैंकले जनाएको छ।
पछिल्ला महिना बढेको कर्जा प्रवाह पनि पुनः शिथिलतातर्फ जानेमा राष्ट्र बैंकले संकेत गरेको छ।
प्रतिक्रिया