ad ad

कारोबार


सरकार भन्छः अण्डा र मासुमा आत्मनिर्भर भयौँ, तथ्यांकले देखाउँछः आयात राेकिएकाे छैन

सरकार भन्छः अण्डा र मासुमा आत्मनिर्भर भयौँ, तथ्यांकले देखाउँछः आयात राेकिएकाे छैन

नेपालखबर
चैत १२, २०७७ बिहिबार ११:२३,

सरकारले दूध, बटर (घ्यू), अण्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ। तर तथ्यांकले भने नेपालमा अझै पनि सोही प्रकृतिका वस्तु आयात नरोकिएको देखाएको छ।

सरकारले आज विशेष कार्यक्रम नै गरेर यी वस्तुहरुमा आत्मनिर्भर भएको जनाएको हो।

यी वस्तुको आयात गर्नुपर्ने अवस्था समेत सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दाबी गरेको छ। तर सरकारले यसो बताइरहँदा यी वस्तुहरुको आयात भने भइरहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयको भनाइअनुसार हाल नेपालमा प्रतिव्यक्तिका लागि प्रतिवर्ष ५५ वटा अण्डा, २८ किलो मासु, ७९ लिटर दूध र साढे ३ किलो माछा उत्पादन भइरहेको छ। एउटा व्यक्तिलाई नेपालमा प्रतिवर्ष ९१ लिटर दूध, ४८ वटा अण्डा र १४ किलो मासु आवश्यक पर्ने मन्त्रालयको भनाइ छ।

नेपालमा धूलो दूधको माग ३ हजार मेट्रिक टन छ। तर, स्वदेशमै धूलो दूध ३ हजार ४ सय मेट्रिक टन उत्पादन भइरहेको छ।

फागुन मसान्तको तथ्याङ्कअनुसार ३ हजार ४ सय ५० मेट्रिक टन धूलो दूध र १ हजार ८ सय ६० मेट्रिक टन बटर नेपालसँग मौज्दात रहेको मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ।

४ लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुँदै आएको नेपालमा सबैभन्दा धेरै कुखुराको मासु ४६ प्रतिशत उत्पादन हुन्छ।

कुखुरा, खसी, बङ्गुर र राँगाको मासु बढी खपत हुने गरेको छ। नेपालमा दैनिक १० लाख किलोग्राम कुखुराको मासु खपत हुने गरेको तथ्याङ्क मन्त्रालयले दिएको छ।

यसरी हुेर्दा अण्डा, दूध र मासुमा पूर्ण आत्मनिर्भर भएर नेपालले निर्यात समेत गर्ने स्थितिमा पुगिसकेको छ।

तर चालू आर्थिक वर्षको नै तथ्याङ्क हेर्दा नेपालमा यी वस्तुहरु आयात भइरहेको देखिएको छ।

भन्सार तथ्यांकअनुसार १ अर्ब ३३ करोड १८ लाखको दूध र अण्डा आयात भएको छ। एक करोड ८५ लाखको मासु आयात भएको छ।

यी वस्तुहरुको निर्यात भने नगन्य अवस्थामा छ।

साथै कुखुरा तथा गाईभैँसीलाई आवश्यक पर्ने दाना (आहार) समेत नेपालमा उत्पादनभन्दा आयात नै धेरै हुने गरेको छ।

यो तथ्याङ्कले नेपाल यी वस्तुमा आत्मनिर्भर हुन अझै बाँकी रहेको स्पष्ट पारेको छ।

सन्तुष्ट देखिएनन् प्रधानमन्त्री
आज पशुपन्छीजन्य उत्पादनमा मुलुक (निश्चित उत्पादन क्षेत्रमा) आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रम थियो।

प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा उपस्थित थिए तर उनी आफैँ सन्तुष्ट देखिएका थिएनन्।

उनले कार्यक्रममा भने, ‘नेपाल कृषिप्रधान देश भएर पनि धेरै राम्रो गर्न सकिरहेको छैन। प्रमुख खाद्य वस्तु उत्पादनमा समेत आत्मनिर्भर हुन नसकी अर्बौँको वस्तु आयात गर्नुपरेको छ।’

प्रधानमन्त्री ओलीले पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदा किसानको आम्दानी र रोजगारी सिर्जना हुने बताए। उनले ठूलो स्केलको उत्पादनमा जोड दिनसके किसानको आम्दानी बढ्ने र आत्मनिर्भर हुने सोही कार्यक्रममा व्यक्त गरे।

रकम, श्रम र प्रविधिको सन्तुलनबाट कृषि क्षेत्रमा विदेशी लगानी शर्तसहित ल्याउन खोजिएको उनको भनाइ थियो।

७५ प्रतिशत वस्तु निकासी गर्ने र स्वदेशमा बढी भएको दूधको खपत गर्न पनि विदेशी लगानी आउनुपर्ने उनको भनाइ छ। सरकारले गत महिनामात्रै कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी खुलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .