ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको विधान संशोधनः चन्द्र ढकालले पाउलान् दुईपटक अध्यक्ष बन्ने अवसर?

उद्योग वाणिज्य महासंघको विधान संशोधनः चन्द्र ढकालले पाउलान् दुईपटक अध्यक्ष बन्ने अवसर?

दीपक भट्ट
फागुन २७, २०७७ बिहिबार १२:५०,

नेपाल उद्योग वाणिज्य महासंघमा पशुपति गिरी र महेशलाल प्रधानपछि अध्यक्षमा आफ्नो कार्यकाल दोहोर्‍याउन अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई पनि अवसर प्राप्त हुने देखिएको छ।

महासंघको विधान संशोधन सोहीअनुसार गर्ने गरी छलफल अघि बढेपछि ढकाललाई यस्तो अवसर प्राप्त हुनलागेको हो।

यद्यपि अहिले विधान संशोधनको छलफलमात्रै अघि बढेको छ। तर त्यसरी प्रावधान बनाउने छलफल सकारात्मक दिशामा गएको छ। यसो भए ढकालले स्वतः प्राप्त हुने पहिलो कार्यकालपछि दोस्रो कार्यकालको लागि पनि अध्यक्ष हुने अवसर पाउनेछन्।

पशुपति मुरारका महासंघको अध्यक्ष हुँदा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो। जसअनुसार भवानी राणा र शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष समेत भइसकेका छन्।

तर अब पुनः पुरानै स्थितिमा विधानलाई फर्काउने गरी महासंघमा संशोधनको बहस सुरु भएको हो।

अध्यक्ष पदमा समेत निर्वाचन गर्ने व्यवस्था र हाल रहेको ३ वर्षे कार्यकाललाई २ वर्षमा छोट्याउने गरी महासंघको विधान संशोधनको तयारी भइरहेको छ। त्यसको लागि महासंघले एक समिति नै बनाइसकेको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाका अनुसार पूर्वअध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा एक समिति निर्माण भएको छ।

अध्यक्ष गोल्छाले भने, ‘विधान एउटा गतिशील डकुमेन्ट हो, समयानुसार यसको परिवर्तन र परिमार्जन हुँदै जानुपर्छ। यसलाई ध्यानमा राख्दै महासंघको नयाँ कार्यसमितिले संस्थाको विधान संशोधन गर्ने नीति बनाएको हो।’

संशोधनको विषयहरुबारे छिट्टै काम अघि बढ्ने उनको भनाइ छ।

गोल्छाले भने, ‘विधान संशोधनपछि महासंघका अप्ठ्याराहरु, कठिनाइहरु निराकरण हुँदै सहज रुपमा गतिविधिहरु अघि बढ्छन् भन्ने हाम्रो अपेक्षा छ।’

महासंघमा हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि अध्यक्ष दोहोर्याउन चाहे पनि दोहोर्याउन नपाउने व्यवस्था छ।

यसअनुसार हालका अध्यक्ष शेखर गोल्छा र भवानी राणा त्यो अवसरबाट वञ्चित भएका हुन्। तर चन्द्र ढकाललाई भने त्यो अवसर जुर्ने देखिएको छ।

हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार नै चन्द्र ढकालले किशोर प्रधानलाई गत मंसिरकाे चुनावमा हराएका थिए। यसअनुसार ढकाल आगामी अध्यक्ष हुने निश्चितप्रायः छ।

अहिले फेरि बल्झाइएको विधान संशोधनको बहसमा हालका वरिष्ठ उपाध्यक्षलाइ स्वतः अध्यक्ष हुन पाउने प्रावधानअनुसार अध्यक्ष दिने र अर्कोपटक फेरि चुनावमा उठेर अध्यक्षमा जाने बाटो समेत खोल्ने गरी विषय उठान भएको छ।

सोही कारण ढकाललाई कार्यकाल दोहोर्याउन पाउने अवसर मिल्ने देखिएको हो।

शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष हुँदा पनि विधान संशोधनको विषय उठान भएको थियो। त्यसको मस्यौदा समेत तयार भइसकेको थियो तर त्यस समयमा भने शेखर गोल्छालाई नै स्वतः अध्यक्ष हुन नपाउने गरी विधान संशोधनको छलफल भएको थियो।

त्यही कारण त्यो विधान संशोधनको कार्य सफल हुन सकेन।

विगतमा २ जनाले मात्रै दोहोर्याएका छन् कार्यकाल
नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षको कार्यकाल दोहोर्याउने इतिहासचाहिँ सुखद छैन।

अहिलेसम्म दुई जनाले मात्रै अध्यक्षको कार्यकाल दोहोर्याउन पाएका छन्। २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले शेखर गोल्छासहित १९ जना अध्यक्ष पाएको छ।

यसमा दुई जनाले मात्रै आफ्नो कार्यकाल दोहोर्याउन पाए। यस्तो अवसर पाउनेमध्ये एक हुन् पशुपति गिरी।

उनले २०२८ देखि २०३२ र २०३८ देखि २०४४ सालसम्म अध्यक्षको जिम्मेवारी लिएका थिए।

उनले १० वर्ष महासंघको नेतृत्व गरे। महासंघमा उनले सबैभन्दा धेरै अध्यक्षमा रहेर काम गरेको इतिहास छ।

त्यस्तै अर्का अध्यक्ष महेशलाल प्रधानले भने २०४४ देखि २०५० सालसम्म अर्थात् लगातार दुई कार्यकाल (तीनवर्षे)को जिम्मेवारी पूरा गरेका थिए।

त्यसपछि भने अर्को दुुई जना अध्यक्षले आफ्नो कार्यकाल दोहोर्याउन खोजेका थिए। विनोद चौधरीले २०५० देखि २०५२ सालसम्म आफ्नो कार्यकाल पूरा गरेपछि पुनः अध्यक्षको उम्मेदवार बनेका थिए।

तर उनलाई पद्म ज्योतिले पराजित गरे। त्यसपछि उनी महासंघबाट नै बाहिरिएका थिए। उनले नयाँ छाता संगठन नेपाल उद्योग परिसंघ स्थापना गरे।

अर्का अध्यक्ष चण्डीराज ढकालले २०६२ देखि २०६४ सालसम्म आफ्नो पहिलो कार्यकाल पूरा गरेपछि पुनः अध्यक्षको उम्मेदवार बनेका थिए। उनलाई कुशकुमार जोशीले पराजित गरिदिए।

त्यसपछि भने कुनै पनि अध्यक्षले विधानमा व्यवस्था हुँदाहुँदै पनि आफ्नो कार्यकाल दोहोर्याउन नै चाहेको देखिँदैन। पछि भवानी राणाको पालादेखि अध्यक्षको कार्यकाल दोहोर्याउन पाउने व्यवस्था नै परिवर्तन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .