केन्द्रीय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर कोरोनाका कारण ऋणात्मक भएको तथ्यांक सार्वजनिक गरेको छ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक आर्थिक वृद्धिदर (–)४.६ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको हो।
यस्तै गत आवमा पनि अर्थतन्त्र (–)१.९९ प्रतिशतले नकारात्मक हुनपुगेको विभागले जनाएको छ।
चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्रस्तुत गरेको थियो।
गत जेठ १५ मा सार्वजनिक चालू आवको बजेटमा साउनदेखि कोरोना संकट सामान्य अवस्थामा फर्किने भन्दै उच्च आर्थिक वृद्धि हासिल हुने अनुमान सरकारको थियो।
कोरोनाको प्रभाव नघटेपछि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको मध्यावधि समीक्षामार्फत तोकिएको लक्ष्यअनुसार बजेटनिर्देशित आर्थिक वृद्धि नहुने बताइसकेको छ।
माघ अन्तिममा भएको मध्यावधि समीक्षा कार्यक्रममा अर्थसचवि शिशिर ढुंगानालले उच्च आर्थिक वृद्धि नहुने तर मध्यम खालको आर्थिक वृद्धि हुने बताएका थिए। तर विश्व बैंकले भने नेपालको चालू आर्थिक वर्षमा १ प्रतिशतभन्दा कमको आर्थिक वृद्धि कायम हुने बताइसकेको छ।
त्यस्तै नेपाल राष्ट्र बैंकले मंसिरसम्मको तथ्याङ्कलाई लिएर गरेको अध्ययनले नेपालको आधाजसो उद्योग धन्दाहरु सञ्चालन हुन नसकेको देखाएको छ। त्यसले पनि बजेटमार्फत प्रस्तुत गरिएको आर्थिक वृद्धिको लक्ष्यलाई प्रभावित गर्ने बताएको थियाे।
यसैबीच, विभागले राष्ट्रिय लेखा तथ्यांकको पाँचौँ आधार वर्ष परिवर्तन गरेको छ।
विभागले हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष २०००/००१ लाई प्रतिस्थापन गरी नयाँ आधार वर्ष सन् २०१०/०११ को आधारमा विगत तथा आगामी वर्षहरूका स्थिर मूल्यमा गणना र मापन हुने राष्ट्रिय लेखा तथ्यांक तयार गरेको हो।
त्यस्तै, नेपाली अर्थतन्त्र १४ दशमलव एक प्रतिशतले बढेको विभागले जनाएको छ। विभागका अनुसार उक्त दरले बढेर नेपाली अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब पुगेको छ।
प्रतिक्रिया