प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनलबीच पेरिसमा सहमतिपत्रमा हस्ताक्षर भएको छ।
नेपाल तथा फ्रान्सबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
प्रधानमन्त्रीको फ्रान्सको उच्चस्तरीय भ्रमणका अवसरमा नेपाली समयअनुसार गएराति सम्पन्न उक्त सहमतिपत्रमा महासंघकी अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका हुन्। महासंघ र मेडेफबीच यसअघि पनि निरन्तर सहयोग एवं सहकार्य हुदै आएको छ ।
आपसी सहमतिपत्रमा, एक अर्का देशमा व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्र बीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ ।
समारोहमा प्रधानमन्त्रीले दुवै संस्थालाई बधाई दिएका थिए। उनले सहमतिले दुई देशबीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गरे। फ्रान्सेली उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको सो उच्चस्तरीय व्यवसायिक भेटवार्ता कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरे। साथै उनले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पारे।
उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी भएका मन्त्रीहरू, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वाँ जाभिएर लेजेर, महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष राणाले महासंघ र मेडेफबीच सम्पन्न सम्झौताले आगामी दिनमा नेपाल फ्रान्स बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गरे ।
नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमती कोशेढुंगा हुने महासंघ अध्यक्ष राणाले कार्यक्रममा बताइन्।
प्रतिक्रिया