ad ad

कारोबार


कोरोनापछि विदेशी लगानी फिर्ता हुने क्रम बढ्यो, ५ महिनामै बाहिरियाे १८ अर्ब नाफा

कोरोनापछि विदेशी लगानी फिर्ता हुने क्रम बढ्यो, ५ महिनामै बाहिरियाे १८ अर्ब नाफा

दीपक भट्ट
फागुन १६, २०७७ आइतबार १२:४७,

चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफाबापतको रकम लाने क्रम बढेको छ।

विगतमा विदेशी लगानीकर्ताले नाफाबापतको रकम पुनः नेपालमै लगानी गर्ने गर्थे। तर अहिले फिर्ता लैजानथालेका हुन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म विदेशी लगानीकर्ताले १८ अर्ब २३ करोड रुपैयाँ विदेश लगेका हुन्। यो मात्रै नभई नेपालमा रहेको लगानी नै फिर्ता समेत लाने क्रम बढेको छ।

यो ५ महिना अवधिमा विदेशी लगानीकर्ताले ४१ करोड १२ लाख रुपैयाँ लगानी फिर्ता लगेका छन्।

गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले १२ अर्ब ९० करोड रुपैयाँ मात्रै लगेका थिए। तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले लगानी फिर्ता लगेका थिएनन्।

तर यो वर्ष कोरोना संक्रमण भएको कारण लगानीकर्ताले जोखिम वहन गर्न नसक्ने स्थिति सिर्जना भएको भन्दै नाफा रकम फिर्ता लगेका हुन्।

इतिहासमा नै नेपालबाट विदेशी लगानीकर्ताले आफ्नो नाफाबापतको रकम सबैभन्दा धेरै लगिएको आर्थिक वर्ष २०७४/०७५ मा हो।

यो एक वर्षमा विदेशी लगानीकर्ताले ३९ अर्ब ५३ करोड रुपैयाँ फिर्ता लगेका थिए। चालू आर्थिक वर्षको सुरुको पाँच महिनालाई हेर्दा अन्तिमसम्ममा आर्थिक वर्ष २०७४/०७५को आँकडालाई पनि जित्ने नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

तर विदेशी लगानीकर्ताले नाफाबापतको पैसा लैजाँदा आत्तिन नहुने उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल बताउँछन्।

उनले भने, ‘लगानीकर्ताले लगानी ल्याउँदा होस् वा लाभांशबापतको पैसा लैजाँदा होस्, उनीहरुलाई उत्साहित बनाएर त्यस्तो सुविधा प्रदान गर्नुपर्छ। त्यसले सकारात्मक प्रभाव समेत पर्छ।’

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानीबापतको लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने व्यवस्था गरेको छ। विदेशी लगानीकर्ताले चाहेमा नेपालको प्रचलित कानुनबमोजिम आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिक रुपमा बिक्री गरी प्रचलित नेपाल कानुनबमोजिम लाग्ने सबै कर भुक्तानी गरी नेपालबाट आफ्नो लगानी फिर्ता लैजान समेत पाउने व्यवस्था गरिएको हो।

तर नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले मुनाफाबापतको रकम पुनः लगानी समेत गर्न पाउने व्यवस्था छ।

राष्ट्र बैंकको आँकडा हेर्दा नेपालमा लगानी गर्ने लगानीकर्ताले थोरै रकम मात्रै लैजाँदै आएको देखिएको छ। आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म १ खर्ब ३५ अर्ब ३० करोड रुपैयाँ विदेश गएको देखिएको छ। यसबाहेक ४ अर्ब ३५ करोड रुपैयाँ लगानी समेत यो ८ वर्षमा फिर्ता भएको तथ्यांकले देखाएको छ।

कुन वर्ष कति रकम लगे विदेशीले?

bideshi lagani firta

नेपालमा लगानी कति छ विदेशी लगानी?
नेपालमा हालसम्म १० खर्ब ८९ अर्ब ६४ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ। तर लेखांकन भएको रकम भने ८४ अर्ब रुपैयाँ मात्रै देखिएको छ।

उद्योग विभागबाट हालसम्म स्वीकृत भएका प्रत्यक्ष विदेशी लगानी परियोजनाहरुको कुल संख्या ५ हजार १ सय ३३ रहेको र सोबापत करिब ३ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।

सोही अवधिमा लगानी बोर्डमा १४ परियोजना स्वीकृत भई करिब ७ खर्ब ४८ अर्ब विदेशी लगानी प्रतिबद्धता भएको छ। उक्त अवधिमा नेपाल राष्ट्र बैंकमा लेखांकन भएको विदेशी लगानीको रकम भने ८४ अर्ब रुपैयाँ मात्रै छ।

विगत एक दशकमा विदेशी लगानीको प्रवृत्ति विश्लेषण गर्दा आव २०७१/०७२ मा सबैभन्दा बढी २ खर्ब ५३ अर्ब ५२ करोड विदेशी लगानी स्वीकृत भएको थियो। आव २०७३/०७४ पछि विशेषतः राजनीतिक स्थिरता, लगानी वातावरणमा भएको सुधार र अर्थतन्त्रमा आएका सकारात्मक परिवर्तनका कारण विदेशी लगानी प्रतिबद्धता बढ्दो क्रममा रहेको देखिएको हो।

यस्तो अवस्थामा विदेश लान पाइन्छ नाफा
विदेशी लगानीकर्ताले जुन विदेशी मुद्रामा लगानी गरेको हो, सोही विदेशी मुद्रामा वा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अन्य परिवत्र्य विदेशी मुद्रामा प्रचलित कानुनबमोजिमको करसम्बन्धी दायित्व पूरा गरीे रकम फिर्ता लैजान पाउने व्यवस्था छ।

जसमा विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांशबापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसनपश्चात् सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम, प्रविधि हस्तान्तरण सम्झौताअन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम लान पाइने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .