ad ad

कारोबार


प्रदेश २ सरकारको बसमा पनि रेलमा जस्तै खेल, महिनौं ग्यारेजमा थन्किए

प्रदेश २ सरकारको बसमा पनि रेलमा जस्तै खेल, महिनौं ग्यारेजमा थन्किए

शैलेन्द्र महतो
माघ ९, २०७७ शुक्रबार १३:१५,

बहुप्रतिक्षित जनकपुर-जयनगर ब्रोडगेज रेल सञ्चालनको लागि सम्पूर्ण संरचना महिनौंदेखि तयारी अवस्थामा छ।

पहिलो चरणमा गएको असोज २ गते जनकपुरको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर लिकमा चलाउन भारतबाट किनेर दुईसेट रेल जनकपुर आयो।

भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेशनसँग भ्याट बाहेक ८३ करोड ९३ लाख ६० हजारमा खरिद गरेको दुईसेट रेल जनशक्ति अभावमा धनुषाको इनरुवामा पार्किङमै त्रिपाल ओढाएर थन्क्याइएको छ।

जनकपुर रेल आएकै दिन नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले आवश्यक जनशक्ति भर्ना गरेर दुई महिना भित्रै रेल संचालन हुने बताएका थिए। तर हालसम्म जनशक्ति छनोट भएको छैन भने रेल कहिलदेखि चल्ने अन्यौलता छँदैछ।

यद्यपि आवश्यक तयारी अन्तिम चरणमा रहेकाले माघको अन्तिमसातासम्म रेल सञ्चालनमा आउने महाप्रवन्धक भट्टराईले बताउँछन्।

पहिलो चरणमा विहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन गर्न भारतबाटै जनशक्ति भित्र्याएर माघको अन्तिम सातासम्म रेल सञ्चालनमा आउने भट्टराईले बताए।

तर, तीनवर्षदेखि सरकारकै मन्त्रीदेखि सम्बन्धित निकायबाटै रेल सञ्चालनको विषयमा पटक पटक झुठो बोल्ने गरिएको भन्दै अब रेल चल्न थाले मात्र पत्याउन सकिने सर्वसाधारण बताउँछन्।

 

रेलको जस्तै अवस्था छ प्रदेश २ सरकारले सञ्चालन गर्ने बस सेवाको पनि। जनतालाई शुलभ सहजयातायात सेवा सञ्चालन गर्न भन्दै प्रदेश २ को राजधानी जनकपुरबाट आठवटा जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्न प्रदेश २ सरकारले ५ वटा सुविधासम्पन्न बस खरिद गर्यो। दिपावलीको पूर्वासन्ध्यामा धनतेरशको दिन गएको कार्तिक २८ गते भौतिक पूर्वाधार विकास मन्त्रालयले भ्याटसहित ३ करोड ३९ लाख ९० हजार रुपैयाँमा बस किनेको थियो।

किनेको बेला एक महिना भित्रै सञ्चालन गर्ने भनेपनि चालक, सहचालक लगायतका जनशक्ति र कानुनको अभावमा ५ वटै बस थन्किएको छ। टाटा कम्पनीबाट खरिद गरेको ५ वटै बस धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित शिवप्रदि वर्कशपमा खुल्ला आकाशमूनि थन्क्याएर राखिएको छ।

एउटा बसमा ५० वटा सिट, सीसीटीभी क्यामेरा, स्वचनलित ढोका र वाइफाइ समेतको सुविधा छ ।
आवश्यक जनशक्ति र कार्यविधि बनाएर एक महिना भित्रै बस सेवा सञ्चाल गर्ने गरी तयारी भइरहेको यातायात व्यवस्था विभाग प्रदेश २ का प्रमुख विनोद यादवले बताए ।

‘बस संचालनको लागि चाहिने कार्यविधि तयार भइसकेको छ। अब तयार कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कर्मचारी भर्नाका लागि सूचना निकाल्छौँ’ उनले नेपालखबरसँग भने, ‘कर्मचारी भर्ना लगतै बस सञ्चालनमा आउँछ। सकेसम्म एकमहिना भित्रै हामी सञ्चालनमा ल्याउने गरि तयारी गर्दैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .