ad ad

कारोबार


भेरी बबईमा दोस्रो चरणका काम धमाधम

भेरी बबईमा दोस्रो चरणका काम धमाधम

नेपालखबर
पुस २३, २०७७ बिहिबार १२:५,

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको कामहरु धमाधम अघि बढाएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणसँगै बाँध तथा विद्युत गृह निर्माणलाई निरन्तरता दिएको हो।

यहीअवधिमा निर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्नभएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ। चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टीबीएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिंचाई विभागलाई हस्तान्तरण गरेको हो।

अमेरिकी कम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टीबीएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो। सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्म मर्मत–सम्भारको कामभने कोभेकले गर्नुपर्नेछ।

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ। हालसम्म लालपुर्जा भएका४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन्। आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिनबाँकी रहेको बताए। उनले जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय अनुसार रु. १२ करोड ३५ लाख वितरण गरिएको जानकारी दिए।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। सोही सम्झौता बमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ। गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ।

‘साइट क्याम्प निर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनका लागि तयारी अवस्थामा छ,’ इन्जिनियर पण्डितले रासससँग भने, ‘बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ।’

बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो।

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन्। भेरीको पानीबबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ। ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ। यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ। कम्पनीले दोस्रो चरणका सबै कार्यहरुआर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ। दोस्रो चरणका संरचना निर्माणमा रु. छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ। आयोजनाको कूल संशोधित लागत भने रु. ३३ अर्ब १९ करोड रहेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ। संघीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत कम्पनी स्थापना गरी सेयर बाँडफाड गरिसकेको छ। त्यस्तै, लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिंचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .