२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुनर्निर्माणको काम सम्पन्न भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुनर्निर्माण गर्ने काम सम्पन्न भएको बताएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए।
यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन्। धरहरा कुल २३ तला रहने पनि ज्ञवालीले बताए।
यस्तै धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए। त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तिब्र गतिमा भइराखेको छ।
जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ। प्राधिकरणका सीईओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए। आगामी असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए।
प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने बताए। असार मसान्त पछिको समय भने अहिलेसम्म प्राधिकरणले गरेका कामहरुको अडिट गर्न लाग्ने पनि सीईओ ज्ञवालीले बताए।
धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।
Shares
प्रतिक्रिया