ad ad

कारोबार


कोरोनाकालमा पनि उत्साहजनक देखिए लगानी सूचकांक, कुन क्षेत्रमा कति प्रतिशतले बढ्यो कर्जा विस्तार?

कोरोनाकालमा पनि उत्साहजनक देखिए लगानी सूचकांक, कुन क्षेत्रमा कति प्रतिशतले बढ्यो कर्जा विस्तार?

दीपक भट्ट
पुस ८, २०७७ बुधबार ६:४४,

कोरोनाको कारण अर्थतन्त्रमा गम्भीर धक्का पुगे पनि चालू आर्थिक वर्षमा नेपालको लगानी सूचकांकहरू सकारात्मक देखिएका छन्।

कोरोना संक्रमणविरुद्ध गत नौै महिनायता चालिएका लकडाउन र निषेधाज्ञाले नेपाली अर्थतन्त्रमा विशेष गरी लगानी क्षेत्रलाई ठूलै नाेक्सानी पुर्याउने आकलनका बीच यससम्बन्धी सूचकांकहरू सकारात्मक देखिएका हुन्।

महामारी सुरू भएपछि नेपालमा लगानी विस्तार हुनसकेको थिएन भने बैंकहरुको ऋण परिचालन पनि रोकिएको थियो।

अहिले पनि नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आइसकेको छैन। तर चालू आवमा लगानी विस्तार भने उत्साहप्रद रहेको नेपाल राष्ट्र बैंकको सूचकांकले देखाएको छ।

कात्तिक महिनामा मात्रै ऋण लगानी १५ प्रतिशतभन्दा धेरैले बढेको देखिएको छ। गत वर्ष कात्तिकदेखि यो वर्ष कात्तिकसम्मको तुलनात्मक अवधिमा कात्तिक महिनामा अरु महिनाभन्दा ऋण लगानी सर्वाधिक देखिएको छ।

राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार वार्षिक विन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा यस्तो कर्जा १५.७ प्रतिशतले बढेको छ।

विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ को चार महिनामा कुल आन्तरिक कर्जा ४.४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा २.५ प्रतिशतले मात्रै बढेको थियो।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको ऋण दाबी ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.७ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.३ प्रतिशतले बढेको छ।

यो विवरणले निजी क्षेत्रबाट लगानी विस्तार उत्साहप्रद रहेको देखिएको हो।

अर्थविद् केशव आचार्य पनि लगानी विस्तार र बढिरहेको ऋण दाबीले अर्थतन्त्रमा सुधार गर्ने बताउँछन्। उनले भने, ‘पैसा लगानी भएपछि त्यसले प्रतिफल दिनथाल्छ। सो प्रतिफल भनेको नै आर्थिक सूचकाङ्कहरु सकारात्मक दिशातर्फ लाग्नु हो।’

अहिले लगानी विस्तार अर्थात् कर्जा लगानी मात्रै होइन बैंकमा पैसा जम्मा हुने क्रम समेत बढिरहेको छ।

कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.१ प्रतिशतले बढेको थियो।

यो संकटको समयमा पनि गत वर्षको तुलनामा पैसा जम्मा गर्ने क्रम बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो।

अझ गत वर्ष कात्तिकदेखि यो कात्तिकसम्मको निक्षेपको तथ्याङ्कलाई हेर्ने हो भने अरु महिनाको तुलनामा यो वर्षको कात्तिकम महिनामा २० प्रतिशतले निक्षेप बढेको छ।

कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्रतिशत र ५०.१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३२.५ प्रतिशत र ४८.७ प्रतिशत रहेको थियो।

कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ। २०७६ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत रहेको थियो ।

ऋण अर्थात् लगानी विस्तार कुन क्षेत्रमा कति बढ्यो?
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

२०७६ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.५ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७७/७८ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले बढेको छ।

त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ५.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.३ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा ७.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा २१.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा २.८ प्रतिशतले र हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको देखाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .