ad ad

कारोबार


किन अभाव छ नेपाली बजारमा रेडमी मोबाइल?

किन अभाव छ नेपाली बजारमा रेडमी मोबाइल?

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १०:१६,

नेपाली बजारमा मोबाइल सेटको बजार विस्तार तीव्र छ। चिनियाँ कम्पनीका मोबाइलहरु नेपालमा भित्रिन थालेपछि मोबाइल बजार तीव्र प्रतिस्पर्धा मात्र भएको छैन, बिक्रीको ‘ट्रेन्ड’ नै परिवर्तन भएको छ।

एकताका नोकियाको वर्चस्व रहेको नेपाली बजार त्यसपछि सामसङले लियो। चिनिया ब्रान्डका विश्वप्रसिद्ध मोबाइलहरु नेपाली बजारमा आएपछि भने उपभोक्तालाई धेरै विकल्पहरु थपिएका छन्।

नेपाली बजारमा विश्व प्रसिद्ध चिनियाँ ब्रान्ड लोकप्रिय भएपछि त्यसको अभाव समेत हुनथालेको छ।

नेपाली बजारमा यस्तै अभाव भएको मोबाइल हो चिनियाँ कम्पनीको मोबाइल रेडमी। केही समयदेखि रेड्मी सिरिजका मोबाइलको अभाव रहेको व्यवसायी बताउँछन्।

साओमी कम्पनीले एमआई र रेड्मी सिरिजका मोबाइल नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

बजारमा रेड्मी ब्रान्डका मोबाइलको माग उच्च रहेको ताम्राकार हाउस मोबाइल व्यापार संघका सचिव गुरुदत्त शर्माले बताए।

‘बजारमा रेडमीका मोबाइलको अभाव नै छ’, नेपालखबरसँग शर्माले भने, ‘यी मोबाइल खोज्नेहरु पनि धेरै छन्।’

मोबाइल धेरै बिक्री हुने मुख्य बजारहरु न्युरोड, जाउलाखेल, त्रिपुरेश्वर जस्ता क्षेत्रमा रेड्मीका मोबाइल अभाव छ।

अहिले ‘रेडमी नोट ९ प्रो म्याक्स’ सबैभन्दा माग भएको मोडल हो। यी बजारमा यो मोबाइल पाइँदैन।

नेपालमा रेड्मीका मोबाइलको माग उच्च भएकाले मुख्य बजारमा स्टक रहन नसकेको रेडमी नेपालको डिजिटल मार्केटिङ हेड जीवन तामाङले बताए।

‘नेपालमा अहिले सबैभन्दा धेरै बिक्री हुने मोबाइलमा रेड्मी पर्छ,’ तामाङले भने, ‘माग उच्च भएका कारण मुख्य बजारमा नपाइएको हुनसक्छ।’

न्युरोड जस्ता ठाउँमा कुनै कुनै मोडल नपाइए पनि उपभोक्ताले पाउँदै नपाउने भन्ने नभएको उनको भनाइ छ। नेपालमा रेड्मीको माग एकिन गर्न नसक्दा पनि बजारलाई पु¥याउन नसकेको उनले बताए।

‘बजारमा यति माग छ भनेर लट ल्याउँछौं,’ उनले भने, ‘यहाँ ल्याउँदासम्म त्यो डिमान्ड दोब्बर भइसकेको हुन्छ।’ त्यसैले डिमान्ड कति छ भनेर एकीन गर्न गाह्रो भइरहेको कारणले पनि मागअनुसारको उपलबध हुन नसकेको उनले बताए।

रेडमी नेपालमा चार वर्षअघि भित्रिएको थियो। नेपाली बजार भित्रिएको छाटो अवधिमै साओमी ब्रान्डका एमआई र रेड्मी सिरिजका मोबाइल उपभोक्ताले रुचाएका छन्।

आठ महिनादेखिको कोरोना भाइरस संक्रमणले भने मोबाइलको बजारलाई आधा घटाएको छ। दसैतिहार केही धेरै बिक्री भए पनि अन्य अवस्थामा सामान्य रहेको शर्माले बताए।

‘मोबाइलको बिक्री वितरण सामान्य छ,’ शर्माले भने, ‘गत वर्षको तुलनामा आधा मात्र छ।’

लकडाउनको अवधिमा अफिसको काम घरबाटै गर्ने र स्कुल तथा कलेजको कक्षा अनलाइनबाट हुन थालेपछि भने मोबाइलको बजारलाई केही राहत मिलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .