ad ad

कारोबार


कोरोना संकटको ६ महिनामा १० लाखले बढे ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता

कोरोना संकटको ६ महिनामा १० लाखले बढे ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता

सन्तोष न्यौपाने
मंसिर २, २०७७ मंगलबार १०:४३,

कोरोना भाइरस संक्रमणले मुलुकको अर्थतन्त्रलाई प्रभाव पारिरहेको बेला इन्टरनेट व्यवसायमा भने उल्लेख्य विस्तार भएको छ।

कोरोना भाइरस संक्रमणले अनलाइनमा आधारित व्यवसायले अवसर पाएपछि इनटरनेटको माग बढेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चैतदेखि भदौमहिनासम्म इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाखले वृद्धि भएको छ। यसमा सबैभन्दा धेरै आईएसपी प्रयोगकर्ता बढेका छन् भने त्यपछि मोबाइल ब्रोडव्यान्ड प्रयोगकर्ता रहेका छन्।

प्राधिकरणको २०७६ फागुन महिनाको तथ्यांकअनुसार मुलुकको कुल ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड १८ लाख ५२ हजार ३ सय ३८ अर्थात ७३.१४ प्रतिशत पुगेको थियो।

यो संख्या ६ महिनाको अवधिमा ७६.५८ प्रतिशत पुगेको छ। अर्थात, भदौ महिनामा देशभर ब्रोडव्यान्ड इन्टरनेट प्रयोगककर्ताको संख्या २ करोड २८ लाख ७९ हजार ७ सय २७ पुगेको छ।

यस हिसाबले हेर्दा ६ महिनाको अवधिमा मुलुकको कुल ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता १० लाख २७ हजार ३ सय ८९ जना थपिएका छन्। यो ३.४४ प्रतिशतले वृद्धि हो।

कोरोना भाइरस संक्रमणको अवधिमा सबैभन्दा आईएसपी प्रयोगकर्ता थपिएका छन्। प्राधिकरणको तथ्यांक हेर्ने हो भने ६ महिनाको अवधिमा आईएसपी प्रयोगकर्ता लाख थपिएका छन्। भदौ महिनासम्म आइपुग्दा आईएसपी प्रयोगकर्ता २०.१६ प्रतिशत पुगेका छन्।

फागुनमा आईएसपी प्रयोगकर्ता ४२ लाख ७२ हजार ६ सय ३५ अर्थात १७.७६ प्रतिशत रहेकोमा भदौ ४७ लाख ७१ हजार ३ सय ८ जनाले आईएसपी प्रयोग गरेका छन्। यो अवधिमा आईएसपी प्रयोगकर्ता २.४ प्रतिशतले वृद्धि भएर २०.१६ प्रतिशत पुगेका छन्।

एक परिवारले फिक्स इन्टरनेट जोडेपछि त्यस परिवारका कम्तिमा ५ जनाले प्रयोग गर्ने मान्यताका आधारमा आईएसपी प्रयोगकर्ता निकालिन्छ।

कोरोना संकटको अवधिमा समग्र आईएसपी प्रयोगकर्ता बढेको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले बताए।

‘यस अवधिमा केही ठूला सेवा प्रदायकको प्रयोगकर्ता भने घटेका छन्,’ पराजुलीले भने, ‘लकडान र कोरोना कै कारणले २० प्रतिशत बढी प्रयोगकर्ता थपिएका छन्।’

यस ६ महिनाको अवधिमा मोबाइल ब्रोडव्यान्ड प्रयोगकर्ता भने ३ लाख १० हजार १ सय ११ ले वृद्धि भएका छन्।

फागुनमा कुल मोबाइल ब्रोडव्यान्ड प्रयोगकर्ता १ करोड ६५ लाख ४५ हजार १ सय ३७ थिए। यो भदौसम्म आइपुग्दा १ करोड ६८ लाख ५५ हजार २ सय ४८ पुगेका छन्।

प्राधिकरणको तथ्यांकअनुसार मोबाइल ब्रोडव्यान्ड प्रयोगकर्ता फागुनमा ५५.३८ प्रतिशतबाट वृद्धि भएर भदौमा ५६.४२ प्रतिशत पुगेको छ।

यस अवधिमा नेपाल टेलिकमका प्रयोगकर्ता ९५ लाख ६ हजार २१ बाट बढेर१ करोड १ लाख ६३ हजार ९ सय ६० पुगेका छन्।

एनसेलका प्रयोगकर्ता भने केही घटेको देखिन्छ। फागुन महिनामा ६७ लाख ४८ हजार ७ सय २४ रहेका प्रयोगकर्ता भदौमा आइपुग्दा ६५ लाख ८ हजार ७ सय ४३ भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, अर्को निजी क्षेत्रको टेलिकम सेवा प्रदायक स्मार्टसेलका प्रयोगकर्ता स्मार्ट टेलिकम १ लाख ८२ हजार ५ सय ४५ बाट बढेर २ लाख ९० हजार ३ सय ९२ पुगेका छन्।

घरबाटै कार्यलयको काम गर्ने र स्कुल तथा कलेजेको कक्षा अनलाइनबाट हुन थालेपछि प्रयोगकर्ता बढेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .