ad ad

कारोबार


सर्भे इन्जिनियर अजयले सुरु गरेको नेपाली स्पोर्ट्स कपडा ‘रोयल डाँफे’

सर्भे इन्जिनियर अजयले सुरु गरेको नेपाली स्पोर्ट्स कपडा ‘रोयल डाँफे’

सन्तोष न्यौपाने
कात्तिक २२, २०७७ शनिबार १३:३२,

सानैदेखि खेलकुदमा रुची राख्ने अजय केसी नियमित रुपमा जिम जान्छन्। जिमले जिउलाई एकातिर सन्तुलनमा राख्ने नै भयो भने अर्कोतिर आकर्षक पनि बनाउने।

जिमखाना जाँदा एउटा कुरा भने सधैँ खड्किरहन्थ्यो, त्यो हो उपयुक्त स्पोर्ट्स ड्रेसको अभाव। अजयलाई मात्र होइन, उनका साथीहरुलाई पनि यहि कुरा खट्किरहन्थ्याे।

बजारमा खोज्दा आफूलाई उपयुक्त हुने स्पोर्ट्स पोशाक नै नपाइने। पाएको पनि कुनै धेरै मह‌ंगो त कुनै एकदम गुणस्तरहीन।

नेपालमै उत्पादन भएका कपडा पनि गुणस्तरका थिएनन्। त्यतिबेलै उनले उनले साथीको गार्मेन्ट जाँदा नाइके, एडिदासको लोगो हालेका नेपाली कपडा पनि उनले देखेका थिए। त्यतिबेला बजारमा तिनै कपडाहरु आइरहेका थिए।

luga image1 2अजय केसीको ‘रोयल डाँफे’ तयार गरेका स्पोर्टस् कपडा

चीनबाट ल्याएका कच्चा कपडालाई नेपाल ल्याएर विश्वस्तरका ब्रान्डको नाम राखेर उत्पादन र वितरण गरिँदै आइएको थियो।

अजयलाई त्यसो गर्नभन्दा नेपालमै सिलाएर नेपाली ब्रान्डमा गुणस्तरीय कपडा उत्पादन गर्न सकिन्छ भन्ने लागिरहेको थियो। याे विषय उनले साथीहरुसँग पनि सल्लाह गरिरहेका थिए।

‘विद्यार्थी मान्छे महंगो कपडा पनि किन्न नसक्ने,’ केसी भन्छन्, ‘त्यसखाले कपडा नेपालमै उत्पादन गर्ने हो भने सस्तो पर्छ र हामीले खोजेजस्तो पनि हुन्छ भन्ने लागेको थियो।’

आफूलाई जस्तै देशैभरका धेरै जिम जानेहरुलाई यस्तो समस्या भएको उनको अनुभव थियो।

काठमाडौं गाेंगबुका २४ वर्षीय अजय पेशाले सर्भे इन्जिनियर हुन्। इन्जिनियर नै भए पनि उनले नेपाली ब्रान्डमा स्पोर्टस्
कपडा उत्पादन गर्ने निर्णय गरे र गतवर्ष उनले सुर गरे स्पोर्टस् कपडा उत्पादन गर्ने नेपाली ब्रान्ड– रोयल डाँफे।

एक वर्षको छोटो अवधिमा रोयल डाँफेका कपडा खेलकुदमा लागेका धेरैमाझ लोकप्रिय भइसकेका छन्। मध्यमस्तरका कपडालाई धेरैले मन पराएको अजय बताउँछन्।

खेलकुद सानैदेखिको रुची थियो उनमा। लिटिल एन्जल स्कुल पढ्दा फुटबल, भलिबलदेखि स्विमिङमा समेत भाग लिन्थे।

त्यही ‘मेरो रुची अनुसारको नयाँ पेशा गर्ने भनेर कपडा उत्पादन गर्ने सोँच बनाएँ,’ उनी भन्छन्, ‘जग्गा कित्ताकाट गर्ने सर्भे इन्जिनियरिङसँगै आफ्नै राेजाइकाे पेशा पनि गरौं भनेर यो सुरु गरेको हुँ।’

नाम के राख्ने त? नेपाली उत्पादन भएपछि नाम पनि नेपालीपन हुनुपर्‍याे भन्ने उनलाई लाग्यो। नेपालको राष्ट्रिय चरा डाँफे र नेपालका पुरानो राजसंस्थासँग जोडेर रोयल डाँफे भन्ने नाम राख्दा मान्छेलाई सम्झना पनि सजिलो हुन्छ भनेर उनले ‘रोयल डाँफे’ रोजे।

जग्गाको कित्ताकाट र सर्भेको काम गर्दा जम्मा गरेको अलिकति पैसा थियो। त्यसमा अर्को साथीले पनि साथ दिएपछि एक वर्ष अघिदेखि रोयल डाँफे ब्रान्डमा स्पोर्टस् कपडा उत्पादन गर्न थाले।

पुरानो बानेश्वरको जियोम्याट्रिक्स इन्जिनियरिङ कलेजमा पढेका अजयले दुई जनाको रकमलाई रोयल डाँफेमा लगाए र दुई वर्षअघि कम्पनी स्थापना गरे।

बजारमा कि त सस्तो र गुणस्तरहीन पाइने कि त उच्च गुणस्तरका महँगा कपडा पाइने। त्यसलाई मध्यनजर गर्दै अजयले मध्यस्तरका स्पोर्ट्स कपडा उत्पादन गर्न थाले।

अहिले उनले टिसर्ट, ट्राउजर, ज्याकेट उत्पादन गरिरहेका छन्। ६५० देखि एक हजारसम्म मूल्य पर्ने कपडा उत्पादन गरिरहेको उनी बताउँछन्।

कपडा उत्पादनको लागि साथीको गार्मेन्ट कारखानासँग सहकार्य गरेका छन्। त्यहाँ झन्डै २० जनाले काम गर्छन्।

उत्पादन सुरु भएको एक वर्षभन्दा अलि धेरै भइसक्दा माग विस्तारै बढ्दै गएको छ। तर, यस बीचमा लकडाउन र कोरोना भाइरसको संक्रमणले गर्दा बजार बिस्तारमा बाधा पुगेका उनी बताउँछन्।

ajaya22अजय केसी

अहिले उनले तीन/तीन महिनामा एक/एक लटले कपडा उत्पादन गरिरहेका छन्। ‘एक लटमा १० देखि १५ लाखसम्मको कपडा उत्पादन गछौं,’ उनी भन्छन्, ‘त्यसलाई सकेर फेरि अर्को लटको उत्पादन सुरु हुन्छ।’ उनले चीनबाट कच्चा कपडा ल्याउँछन् र नेपालमा आवश्यकता अनुसारको डिजाइनसहित उत्पादन गर्छन्।

‘भर्खर सुरुवात भएकाले सबै रुचीमा कपडा पर्न सकेका छैनन्। ‘स्पोर्टसतिर लाग्नेलाइै धेरै मन पराएका छन्,’ अजय भन्छन, ‘बाहिर लगाएर हिँड्न भने फेन्सी भएन भन्ने गुनासो छ।’

उपभोक्ताले जिम जाँदा, खेलकुदमा सहभागी हुँदा यी कपडा राम्रो भएको भनेको उनी सुनाउछन्। त्यसबाहेक घर बस्नेलाइ पनि यो कपडा सजिलो भएको उनको भनाइ छ।

धरै डिजाइन र ‘कलरफुल’ नहुँदा बाहिर लगाएर हिँडन भने फेन्सी नभएको प्रतिक्रिया आएको उनले बताए।

‘कपडा उच्च गुणस्तर र टिकाउ छ,’ उनी भन्छन्, ‘स्पोर्ट्सको लागि अति नै उपयोगी छ।’

अहिले सुरुवाती चरण भएको र सानो लगानी भएकाले यसलाई बिस्तारै बढाउने योजना उनको छ। ‘अहिले नै ठूलो स्केलमा सोचेका छैनौं। अहिले ब्रान्ड चिनाउँदै जाने र पछि राम्रै गर्ने सोँच छ,’ अजयले भने, ‘नाफा पनि धेरै राखेका छैनौं। १० देखि १५ प्रतिशतमात्र राखेका छौं।’

नेपाली ब्रान्ड भनेपछि मान्छेले ‘ह्या’ भन्छन्। नेपाली ब्रान्ड राम्रो हुँदैन, गुणस्तर हुँदैन भन्ने परेको छ उपभोक्तालाई।

luga image2अजय केसीको ‘रोयल डाँफे’ ले तयार गरेका स्पोर्ट्स कपडा

‘उनीहरु एडिदास, नाइकेजस्ता ब्रान्ड खोज्छन्। तर, उनीहरुलाई थाहा छैन कि ती नाम राखेर नेपालमा कमसल कपडा उत्पादन भइरहेका छन् भन्ने। ती नाम भएपछि जस्तो नराम्रो कपडा पनि लगाउँछन्,’ अजय भन्छन्, ‘नाइके एडिदासको ओरिजिनल कपडा धेरै महंगो हुन्छ। धेरै कमले मात्र लगाउँछन्।’

नेपाली ब्रान्डलाई प्रबर्द्धन गर्न धेरै गाह्रो भएको उनको अनुभव छ। तर, पछिल्लो समय अनलाइन सपिङ र सामाजिक सञ्जालले गर्दा नेपाली ब्रान्ड पनि बेच्न सजिलो भएको छ।

अनलाइन अर्डर बढेको छ। ‘क्यास अन डेलिभरी’को चलन बढेको छ। यसले उपभोक्ता र उत्पादक दुवैलाई सजिलो भएको उनको अनुभव छ।

बजारमा कसरी चिनिने भन्नेमा उनीहरुले ध्यान दिइरहेका छन्। तर पनि उनको सोँच दीर्घकालीन छ। त्यही भएर त दुई वर्षअघि कम्पनी दर्ता गर्दा रोयल डाँफे ग्रुप भने राखेका छन्।

पछि रोयल डाँफे एक ग्रुप बनाउने जसले खाद्यान्न, मसला, जस्ता विभिन्न उत्पादन गर्ने लक्ष्यसहित यसलाई ग्रुपमा दर्ता गरिएको हो। रोयल डाँफेको रुपमा अन्य वस्तु पनि उत्पादन गर्न सकिन्छ भन्ने याेजना उनको छ।

कोरोना संकट र लामो समयको लकडाउनका कारण कपडाको माग धेरै घटेको छ। यही अवस्थामा आफ्नो जीविका चलाउन इन्जिनियरिङ बाहेक रोयल स्ट्यागमा मार्केटिङको काम गरिरहेका छन्। साथै, उनले अरु पार्टनरसँग मिलेर नयाँ बानेश्वरमा मिक्सोलोजी नेपाल नामको क्याफेमा लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .