चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत सबै ४४ जना नेपाली महिला कामदार शनिबार नेपाल फर्काइएका छन्।
बेइजिङस्थित नेपाली दुतावासले दालियान विमानस्थलबाट तीन वटा भिन्नभिन्न उडानमा उनीहरू शनिबार दिउँसो नेपाल तर्फ उडेको जनाएको छ।
नेपाल फर्केका उनीहरुमध्ये ४१ जना कुन्मिङ र ३ जना ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार काठमाडौं आइपुग्ने छन्।
‘ती नेपाली कामदारहरु वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गत मे महिनामा दान्दोङ रिशङ गार्मेन्ट कारखानामा काम गर्न भनी चीन आएका थिए’, बेइजिङ दुतावासले भनेको छ, ‘दूतावासमा जुन महिनाको दोस्रो हप्तामा करारअनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्तभएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा उनीहरुलाई नेपाल फर्काइएको हो।’
उनीहरू फर्किने खर्च नेपालको सम्बन्धित म्यानपावर कम्पनीले व्यवस्था गरेको दूतावासले जनाएको छ। तर कम्पनीको नाम खुलेको छैन।
प्रतिक्रिया