ad ad

कारोबार


‘पहिले–पहिले दसैँमा २० लाख मानिसले उपत्यका छाड्थे, अहिले दुई लाख मात्रै’

‘पहिले–पहिले दसैँमा २० लाख मानिसले उपत्यका छाड्थे, अहिले दुई लाख मात्रै’

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ७:७,

भोलिदेखि सुरु हुनलागेको दसैँका लागि अग्रिम टिकट नखुल्ने भएको छ। यातायात व्यवसायीले कोभिड १९ का कारण यात्रुको चाप नभएकाले अग्रिम टिकट बुकिङ आवश्यक नभएको बताएका छन्।

यातायात व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात व्यवसायीका लागि दसैँ खल्लो भएको बताए। सरकारले चैतदेखि गरेको लकडाउनका कारण ठप्प भएको व्यवसाय दसैँमा राम्रो हुने आशा गरिए पनि कोरोना संक्रमण बढ्दै जाँदा यात्रु नै नभएको उनीहरुको भनाइ छ।

‘काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण संख्या बढिरहेको छ’, कर्माचार्यले भने, ‘सरकारले दिनदिनै मानिसलाई यो दसैँमा यात्रा नगर्नु भनेको छ। कहाँबाट यात्रु पाउनु?’

हिन्दू नेपालीहरुको महान् चाड दसैँ तिहार मनाउन उपत्यकामा अध्ययन, रोजगारी तथा व्यवसायका लागि आएका अधिकांश मानिस आफ्नो गाउँ जाने गरेका थिए। कोभिड १९ का कारण चैतमा लकडाउन हुने भनेपछि अधिकांश विद्यार्थी गाउँ÷घरमै छन्।

शैक्षिक संस्था चले पनि अनलाइनमार्फत अध्ययन भइरहेकाले विद्यार्थीलाई काठमाडौं फर्किनपरेन।

‘धेरै मानिस त लकडाउनअघि नै उपत्यका छाडेर गएका थिए। उनीहरु गाउँमै छन्’, कर्माचार्यले भने, ‘काठमाडौंमा रोजागारी तथा व्यवसाय गरिरहेका पनि उपत्यका छाड्ने अवस्था छैन। उपत्यकामा फैलिएको कोरोना गाउँघरमा पुग्छ भनेर धेरै जान डराइरहेका छन्।’

‘पहिला दसैँमा २० लाख उपत्यका छाड्थे, अहिले दुई लाख मात्रै’
यातायात व्यवसायीका अनुसार सामान्यतया दसैँको समयमा २० लाखले उपत्यका छाड्ने गरेका थिए। केही दसैँ मनाएर काठमाडौं फर्किने गर्थे भने केही तिहार÷छठपछि मात्रै फर्किने गरेका थिए।

‘पहिलाका दसैँमा २० लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने गरेका थिए’, अध्यक्ष कर्माचार्यले भने, ‘यो वर्ष २ लाख मात्रै हुन्छन् जस्तो छ।’

सरकारले कोभिड १९ को जोखिम रहेको भन्दै सुरुमा ५० प्रतिशत मत्रै यात्रु बोक्न पाउने निर्णय गरे पनि व्यवसायीले जहाजले शतप्रतिशत यात्रु बोक्दा बसलाई किन ५० प्रतिशत भन्दै सरकारलाई पश्न गर्दै आएका थिए।

व्यवसायीको मागअनुसार सरकारले सार्वजनिक यातायातले पनि पूर्ण क्षमतामा बस सञ्चालन गर्न सक्ने निर्णय गरेको छ। जसमा यात्रुले यसअघि थप भएको ५० प्रतिशत भाडा तिर्नुपर्नेछैन।

‘अहिले हाम्रा ३० प्रतिशत मात्रै बस सञ्चालनमा आएका छन्। बाँकी व्यवसायी तथा मजदुर खाली नै बसेका छन्’, कर्माचार्यले भने।

उनले ३० प्रतिशत मात्रै बस चलेको अवस्थामा अग्रिम टिकट बुकिङको आवश्यकता नै नभएको बताए। एक्कासि यात्रुको चाप बढे बसको संख्या बढाउन सकिने कर्माचार्यको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .