ad ad

कारोबार


आन्तरिक उडान बढ्ने : ९० प्रतिशत ‘अकुपेन्सी’

आन्तरिक उडान बढ्ने : ९० प्रतिशत ‘अकुपेन्सी’

नेपालखबर
असोज १३, २०७७ मंगलबार १०:५३,

कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ। महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका हुन्। नजिकिएको दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या पनि थप्दैछन्।

उडानको पहिलो साता उत्साहवद्र्धक रहेको कम्पनीले उल्लेख गरेका छन्। तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढेको हो। सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। शुरुआती चरणमा सातादिनसम्म सामान्य अवस्थाको उडानको तुलनामा १५ प्रतिशत मात्रै उडान गर्न पाउने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो। आगामी अक्टोबर १ तारिखदेखि आन्तरिक उडान संख्या बढाउने प्राधिकरणले तयारी गरेको छ। भदौ १६ देखि सञ्चालनमा आएको मुलुकको अन्तरराष्ट्रिय उडान संख्या थप गर्ने निर्णय यसअघि नै भइसकेको छ।

आन्तरिक उडान सञ्चालन गरिरहेका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सी उत्साहवद्र्धक छ। सातादिनको अवधिमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको कम्पनीले उल्लेख गरेका छन्। चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान संख्या बढाउन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन्। प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान सङ्ख्या बढाउने निष्कर्षमा पुगेको छ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आन्तरिक उडानको संख्या बढाउने प्राधिकरणले निर्णय गरिसकेको जानकारी दिए। यद्यपि, कुन एयरलाइन्सलाई कति उडान संख्या दिने भन्ने आज साँझसम्म निर्णय हुने उनको भनाइ छ। सीमित संख्याको उडानमा पनि आन्तरिक वायुसेवा कम्पनीले सबै गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेका छन्। बुद्ध एयरले शुरुमा राजविराजबाहेक सबै गन्तव्यमा उडान गर्दै आएकामा अहिले राजविराजसहित सबै गन्तव्यमा उडान सञ्चालन गरिएको जनाएको छ।

बुद्धले अहिले दैनिक २२ उडान गरिरहेको छ। कम्पनीले आगमन र प्रस्थान गरी ४४ उडान भर्दै आएको छ। अहिले भारतको बनारसबाहेक सबै गन्तव्यमा उडान गरिरहेका कम्पनीले जनाएको छ। सातामा १५ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको पनि कम्पनीले उल्लेख गरेको छ। बुद्धले सामान्य अवस्थामा दैनिक १०० उडान गर्ने गरेको थियो। कम्पनीले १३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ।

यस्तै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आफ्ना सबै आठ गन्तव्यमा उडान सञ्चालन गरिरहेको र ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको जनाएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले शुरुआती चरणमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको बताए। महामारीबाट जोगिन सुरक्षित र सुलभ यात्र हुने भएकाले पनि यात्रुको आकर्षण बढेको उनले उल्लेख गरे।

यतीले अहिले दैनिक दुईतर्फी ३८ उडान गरिरहेको छ। कम्पनीले सामान्य अवस्थामा दुईतफी ८० वटासम्म उडान गर्ने गरेको थियो। उनका अनुसार नजिकिएको चाडपर्व र यात्रुको मागबमोजिम उडान संख्या बढाउन नियमित उडान अनुमतिका लागि प्राधिकरणसँग माग गरिएको छ। उडान पनि स्वीकृत भइसकेको छ। यतीले अहिले विराटनगर, पोखरा र भरतपुरमा समान दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिरहेको छ। यतीको भगिनी संस्था तारा एयरले दुर्गम क्षेत्रमा यात्रु तथा कार्गो उडान गरिरहेको छ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कम्पनीको उडान उत्साहजन रहेको र उडान सङ्ख्या बढाउने अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .