ad ad

कारोबार


यति एयरलाइन्सको प्याकेजमा धेरैको चासो, कहाँको लागि कस्तो प्याकेज?

यति एयरलाइन्सको प्याकेजमा धेरैको चासो, कहाँको लागि कस्तो प्याकेज?

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १०:५१,

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यति एयरलाइन्सले ल्याएको प्याकेज सर्वसाधारणको चासो बढेको छ। यतिले कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने आशा गरेको छ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले एभरेष्ट ट्रेल र मुक्तिनाथ जान धेरैको चासो रहेको बताएका छन्।

यतिले एभरेष्ट ट्रेलमा ५ दिनको १४ हजारमै घुम्नसक्ने व्यवस्थासहितको प्याकेज ल्याएको छ। ४ रात ५ दिनको प्याकेजमा दुई जना सँगै जाँदा १४ हजारका दरले खाना, बस्न, गाइड, हवाइ भाडा सबै कम्पनीले व्यहोर्नेछन्। तर सिंगल जानेका लागि भने १५ हजार लाग्ने यति एयरलाइन्सले जनाएको छ।

यतिले मुक्तिनाथ यात्राका लागि दुईवटा प्याकेज सार्वजनिक गरेको छ। ३ रात ४ दिनको प्याकेज १३ हजारको रहेको छ भने ४ रात ५ दिनको प्याकेजमा १७ हजार रहेको छ। सस्तो प्याकेजमा सिधै मुक्तिनाथमा जान्छ भने महंगो प्याकेजमा कागबेनीमा पनि घुम्ने योजना समावेश रहेको छ।

बर्तौलाले यतिले ल्याएको प्याकेजले आन्तरिक पर्यटनमा गतिविधि बढाउन मद्दत पुग्ने बताए।

‘सबै क्षेत्रमा जान अझै मानिस तयार भएको अवस्था छैन। सबै क्षेत्र खुल्दै गएपछि मानिसलाई घुम्न प्रोत्साहन होस् भनेर आकर्षक प्याकेज ल्याएका हौँ’, उनले भने।

केही गाउँपालिकाले पीसीआर नेगेटिभ रिपोर्ट ल्याएमात्रै घुम्न दिने निर्णयले धेरै जना दोधारमा रहेको उनको भनाइ छ।

‘लुक्ला जान खोज्ने धेरै छन् तर त्यहाँको स्थानीय तहले नेगेटिभ रिपोर्ट ल्याएकालाई मात्रै आउन दिने बताएको छ’, उनले भने, ‘यसले पीसीआर नेगेटिभ रिपोर्ट नभएको मानिस त्यहाँ जान पाउँदैन।’

उनले यसलाई सबै ठाउँमा एकरुपता भए पर्यटकलाई सहज हुने बताए।

कहाँका लागि कस्तो प्याकेज?
३ दिनका लागि रारा जानेका लागि कम्पनीले २५ हजारको प्याकेज ल्याएको छ। यसमा पर्यटकले काठमाडौं–नेपालगञ्ज–राराको हवाइ भाडासहित भिलेज हेरिटेज रिसोर्टमा खान र बस्नको व्यवस्था रहेको छ। रारा ताल घुम्ने, हाइकिङ मुर्मा र गाउँको भ्रमण गराउने प्याकेजमा समावेश रहेको छ।

मनमोहक पोखराको लागि ६ देखि ८ हजारसम्मको प्याकेज सार्वजनिक गरिएको छ। दुई जना सेयरिङ गर्दा ४ तारे होटलमा बस्दा ८ हजार, ३ तारेमा ६ हजार रुपैयाँका प्याकेज रहेको छ। ३ दिनको यो प्याकेजमा हवाइ भाडा र होटल खर्च प्याकेजमा समावेश रहेका छन्। पर्यटकले कहाँ जाने आफैँ छान्न पाउँछ।

यतिले अन्नपूर्ण घान्द्रुकका लागि सस्तो र महंगो दुईवटा प्याकेज ल्याएको छ। ६ दिनको सस्तो प्याकेज १२ हजारको रहेको छ भने ५ दिनको लक्जरी घान्द्रुक टे«क २० हजारको प्याकेज रहेको छ।

त्यस्तै आकर्षक ३ दिनको प्याकेज विराटनगर र भैरहवाको रहेको छ। डिलक्स रिसोर्टमा १२ हजार र तीन तारे होटलमा ८ हजारको प्याकेज रहेको छ। ३ दिनको भरतपुर, नेपालगञ्ज, जनकपुर, तुम्लिङटरको प्याकेज रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .