ad ad

कारोबार


पानी बेचेर ज्याक मालाई पछि पार्ने यी हुन् चीनका नयाँ अर्बपति

पानी बेचेर ज्याक मालाई पछि पार्ने यी हुन् चीनका नयाँ अर्बपति

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १०:२७,

चीनको चर्चित बोटल वाटर ब्रान्ड नोंग्फु स्प्रिङका संस्थापक झोंग शान्शानले अलिबाबाका संस्थापक ज्याक मालाई चीनकै सर्वाधिक धनीमा उछिनेका छन्।

ब्लुमबर्गको अर्बपति सूचकांकअनुसार झोंगले ज्याकलाई पछाडि पारिदिएका हुन्। यसअघि नै झोंग चीनको तेस्रो ठूला धनीमा गनिइसकेका थिए। उनको कम्पनी पब्लिकमा रुपान्तरण हुँदै अघिल्लो महिना हङकङको सेयरबजारमा सूचीकृत भएको थियो।

गत बुधबारसम्म झोंगको सम्पत्ति ५८ अर्ब ७० करोड अमेरिकी डलर नाघिसकेको छ। ब्लुमबर्गको हिसाबकिताबअनुसार ज्याकसँग ५६ अर्ब ७० करोड अमेरिकी डलरबराबर सम्पत्ति छ।

Jack and Pony Ma are the first Chinese billionaires to make Forbes' top 20
ज्याक मा र पोनी मा

झोङको फड्कोले टेन्सेन्टका संस्थापक पोनी मालाई पनि पछाडि पारिदिएको छ। त्यसो त ज्याक मा र पोनी माजस्तो झोङ प्रविधि उद्यमी होइनन्। नोंग्फु स्प्रिङबाहेक झोंग खोप उत्पादक बेइजिङ वान्टाई बायोलोजिकल फार्मेसीका प्रमुख पनि हुन्।

यो वर्ष मात्रै उक्त कम्पनी पनि शांघाईमा सूचीकृत भइसकेको छ। यसले पनि झोंगको सम्पत्ति वृद्धिमा योगदान पुगेको बताइएको छ। प्रविधिबाहिरको क्षेत्रबाट उदाएर झोंग चीनकै सर्वाधिक धनी बन्न सफल भएका हुन्। अन्य चिनियाँ धनाढ्यभन्दा झोंग निकै सामान्य जनजीवनका मानिन्छन्। उनले पाएको पछिल्लो सफलताअगाडि नै ट्रयाक रेकर्ड राम्रो रहेको बताइन्छ।

चीनमा विश्वकै धेरै डलर अर्बपति रहेका छन्। त्यसमा झोंगको उदयले थप ऊर्जा थपेको छ। चीनमा अमेरिका र भारतको कुल अर्बपति संख्याभन्दा धेरै अर्बपति रहेको हुरुन रिपोर्टले देखाएको छ। ब्लुमबर्गको हिसाबकिताबअनुसार झोंग गत महिनासम्म मात्रै २० अर्ब डलरका मालिक थिए तर केही हप्तामै उनले त्यसको तेब्बर आर्जनसहित चीनकै सर्वाधिक धनीको पद ओगटेका हुन्।

उनको सम्पत्ति अझै बढ्ने आँकलन गरिएको छ। बितेका महिनाहरुमा कम्पनीहरुले चीनमा आईपीओ जारी गरिरहेका छन्। हङकङलाई विश्वकै दोस्रो जनप्रिय सेयरबजार मानिन्छ। डेटा उपलब्ध गराउने रिफिनिटिभका अनुसार यो न्युयोर्कको नास्डाकपछिको चर्चित सेयरबजार हो।

गत वर्ष प्रविधि कम्पनीको प्रभुत्व रहेको नास्डाककै नक्कल गर्दै चीनको शांघाईमा स्टार मार्केट खोलिएको थियो। यसमा पनि उच्च कारोबार हुनथालेको छ। यो बजारमा पनि आईपीओ र सेकेन्डरी सूचीकरणमार्फत २१ अर्ब ६० करोड डलरबराबरको रकम जम्मा भइसकेको छ। हङकङ र शांघाईमा यो वर्ष एन्ट ग्रुप र अलिबाबाको ठूलो आकारको आईपीओले ऐतिहासिक रुपमा बजार पिट्ने आँकलन गरिएको छ। दुवै बजारमा ३० अर्ब डलरसम्म उठ्ने आकलन छ। योसँगै ज्याक मा फेरि चीनकै सर्वाधिक धनीमा फर्किने पनि आकलन गरिएको छ।

सेयरबजारमा चहलपहल र उच्च कारोबारसँगै यो वर्ष थप १०० नयाँ डलर अर्बपतिको उदय हुनसक्ने विश्वास गरिएको छ। सीएनएनबाट अनुवाद

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .