ad ad

कारोबार


दशैँका लागि छैन मदिराको जोहो, व्यवसायी भन्छन्ः माग आउने आशा पनि मारिसक्यौँ

दशैँका लागि छैन मदिराको जोहो, व्यवसायी भन्छन्ः माग आउने आशा पनि मारिसक्यौँ

दीपक भट्ट
भदौ २३, २०७७ मंगलबार १०:५५,

हरेक वर्ष भदौ लाग्नेबित्तिकै दशैं तिहारको लागि मदिरा बढी आवश्यक पर्छ भनेर मदिरा उत्पादकलाई डिलरहरुबाट माग आउँथ्यो।

यो वर्ष भदौको अन्तिम साता सुरु हुँदा पनि कुनै पनि ब्राण्डमा त्यसरी माग आएको छैन। मदिरा उत्पादकहरुले यो वर्षको चाडबाडको लागि त्यो माग आउने आशा समेत गरेका छैनन्।

विदेशबाट आउने रक्सी सरकारले बन्देज गरेको छ। तर पनि नेपालमा नै उत्पादित मदिराको बिक्रीवितरण पनि चैतदेखि असारसम्म ५० प्रतिशतले घटेको छ।

साउनमा त नेपालमा मदिरा एकदमै कम खपत हुने महिना हो। साउनमा धेरै नेपालीले मदिरा बार्ने गर्छन्। भदौ लागेपछि चाडपर्व पनि सुरु हुने र मदिराको माग समेत बढ्ने गरेको थियो। दशैँ तिहारको लागि त सामान्य अवस्थाभन्दा तीन गुणासम्म बढीको माग मदिरा बिक्री गर्ने डिलरहरुबाट आउँथ्यो।

यो वर्ष भने त्यसको कुनै संकेत नदेखिएको नेपाल पेय पदार्थका संघका महासचिव तथा जावलाखेल डिस्टिलरी प्रालिका लिगल हेड गुरुप्रसाद अधिकारी बताउँछन्।

उनले भने, ‘नयाँ आर्थिक वर्ष सुरु भएदेखि नेपालको हरेक उद्योगहरु बन्द नै रहेका छन्। नयाँ आर्थिक वर्ष लागेपछि धेरै उद्योगहरु खुलेको देखिएको छैन। खुलेकाहरु पनि बढीमा १५ दिन मात्रै सञ्चालन भएका होलान्।’

यसले नै मदिराको उत्पादन कति भइरहेको छ भन्ने आँकडा देखाउने उनको भनाइ छ। धेरै उद्योगी व्यवसायीहरुले उद्योग सञ्चालन हुनुपर्ने माग पनि राखिरहेका छन्। तर मदिरा उद्योगीले भने वर्षको नै धेरै खपत हुने समयमा पनि उद्योग सञ्चालन हुन पाउनुपर्यो भनेर कुनै किसिमको प्रतिक्रिया दिएका छैनन्।

यसको पहिलो कारण भने मदिरामा सरकारको धारणा नै नकरात्मक हुनुलाई मानिएको अधिकारीको भनाइ छ।

उनले भने, ‘सरकारले लकडाउन सुरु गरेदेखि नै मदिरा पसलहरुलाई खोल्न दिएको छैन। तर मदिरा भनेको यस्तो हो उपभोक्ताले तिर्ने ६० प्रतिशत रकम सरकारले नै पाउने उत्पादन हो। सरकारले आफैँ कुरा नबुझ्दा एकातिर सरकारलाई धेरै घाटा परेको छ भने करोडौं लगानी भएका उद्योगहरु पनि डुब्ने खतरामा परेका छन्।’

त्यस्तै वर्ल्ड दरबार ह्विस्की तथा अर्ना बियर उत्पादक रवि केसी पनि यो धेरै ठूला लगानीकर्ताहरुले आफ्नो लगानी बचाउन नसक्ने स्थितिमा पुगेको बताए।
उनले भने, ‘सुरुमा लकडाउन हुँदा त्यसको साफनाफ दशैं तिहारमा गर्ने योजना थियो।’

तर कोरोनाको त्रासमा सरकारले बन्दाबन्दीलाई निरन्तरता दिँदा मदिरा उत्पादन र बिक्रीवितरण गर्न नसकेको उनको भनाइ छ।

केसीले नेपालखबरसँग भने, ‘यो समयमा उपभोक्ताहरुको पनि आम्दानी कम भएकाले मदिरा नै धेरै खपत गर्ने स्थिति त छैन नै तर पनि दशैँ तिहारमा उपभोग बढ्ने समय हो। तर अहिलेसम्म दशैँ तिहारमा पनि खपत बढ्ने छाँट देखिएको छैन।’

दशैँ तिहारको लागि उत्पादन सुरु हुने समय अहिले हो। त्यसको लागि अहिले नै उत्पादन सुरु गर्नुपर्ने उनको भनाइ छ। तर यो वर्षको दशैँको लागि मदिराको जोहो नहुने निश्चितप्रायः भएको केसीले बताए।

सरकारले बन्दाबन्दी गरेर नै कोरोनाको समाधान खोज्नु गल्ती भएको मदिरा व्यवसायी बताउँछन्। केसीले भने, ‘सरकारले जोखिम मापदण्ड अपनाएर सबै किमिसको व्यवसाय खुल्ला गर्नुपथ्र्यो, धेरै कामदारले पनि काम पाउँथे। उनीहरुको पनि आम्दानी हुन्थ्यो। जसले हरेक किसिमका उद्योगहरुको उत्पादन पनि खपत हुन्थ्यो।’

तर सरकारले त अर्थतन्त्रको चक्र नै रोकिदिएको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .