ad ad

कारोबार


९८ प्रतिशत रोपाइँ भए पनि यो वर्ष धान उत्पादन घट्ने, मल अभाव मुख्य कारण

९८ प्रतिशत रोपाइँ भए पनि यो वर्ष धान उत्पादन घट्ने, मल अभाव मुख्य कारण

दीपक भट्ट
भदौ १८, २०७७ बिहिबार ७:८,

यो वर्ष उत्साहप्रद रुपमा धान रोपाइँ भए पनि उत्पादन भने घट्ने राष्ट्रिय योजना आयोगले जनाएको छ।

आयोगका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई समयमै रासायनिक मल उपलब्ध नगराएको कारण उत्पादन घट्ने भएको हो।

आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङले भने, ‘यो वर्ष धान उत्पादन बढ्नुपर्ने थियो तर दुर्भाग्य गत वर्षको तुलनामा उत्पादनमा ह्रास आउने भएको छ।’

विशेषगरी तराई भेगमा उत्पादन घट्ने आँकलन आयोगको छ।

डा. गुरुङका अनुसार करिब ५० हजार मेट्रिक टन युरिया समयमा आइदिएको भए नेपालको धान उत्पादन बढेर अर्थतन्त्रलाई नै केही योगदान दिनसक्थ्यो।

तर मल नआएपछि विशेषगरी तराईको धान उत्पादन घट्ने देखिएको छ।

उनले भने, ‘मल नै नहाली राम्रो फल्ने सम्भावना छैन। वर्षातले मात्रै फल्दैन किनकि हामीले रासायनिक मल पहिलेदेखि नै प्रयोग गर्दै आएका छौँ।’

योजना आयोगले अहिले कोभिड १९को प्रभावबारेको अध्ययन अन्तिम चरणमा पुर्याएको छ। अध्ययनमा कोभिडको समयमा पनि कृषि उत्पादनलाई असर नगरेको विषय पनि समावेश छ। तर मल अभाव देशभरि देखिँदा त्यसले धानको उत्पादन असर पर्ने देखिने भएर यो विषयलाई पुनः अध्ययनमा राखिएको छ।

मल अभावको कारण कति उत्पादन घट्नसक्छ भनेर आयोगले अध्ययन गरिरहेको छ।

यो वर्ष कोरोना संक्रमण र त्यसपछि सरकारले गरेको बन्दाबन्दीको कारण धेरै मानिसहरु गाँउ फर्किएका थिए। कृषि उत्पादन लगाउने समयमा मानिसहरु आफ्नै घरगाउँमा हुँदा कृषिकार्य बढ्ने आँकलन गरिएको थियो।

विशेष गरी धानको उत्पादन थालनी गर्ने समयमा नै धेरै मानिहरु गाउँमा पुगेकाले पनि धान उत्पादन बढ्ने अनुमान गरिएको थियो। नेपालको प्रमुख बालीमध्येको धानखेतीको लागि समयमा पानी पनि पर्यो। नेपालको धेरै स्थानमा आकाशेपानीको भर पर्नुपर्ने बाध्यता छ।

आकाशेपानीकै कारण यो वर्ष त्यस्ता स्थानमा समेत धानखेती गरिएको छ। जसकारण यो वर्ष गत वर्षको तुलनामा पनि धानखेती बढी भएको कृषि विकास तथा पशुपन्छी मन्त्रालयकै तथ्याङ्कले देखाएको छ।

९८ प्रतिशत रोपाइँ 
मन्त्रालयले साउनको अन्तिममा तथ्याङ्क सार्वजनिक गर्दै मनसुन सक्रिय भएसँगै मुलुकभर ९८ प्रतिशत रोपाइँ भएको जानकारी दिएको थियो।

मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुने स्थान रहेकोमा १३ लाख ४६ हजार ९ सय २० हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको थियो।

यो भनेको गत वर्षको तुलनामा ५१ हजार ६ सय ३८ हेक्टर क्षेत्रफल बढीमा रोपाइँ भएको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ।

यति हुँदाहुँदै पनि राष्ट्रिय योजना आयोगले भने यो वर्ष धान उत्पादन घट्ने आँकलन गरेको हो। गत वर्ष ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो। गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा उत्पादनमा केही कमी आएको थियो। उक्त अवधिमा अघिल्लो वर्षभन्दा ५९ हजार १ सय ३३ टन कम उत्पादन भएको थियो।

अघिल्लो वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो। नेपालको इतिहासमा सबैभन्दा बढी धान उत्पादन भएको पनि त्यही वर्ष हो। यो वर्ष योभन्दा पनि माथि उत्पादन गर्ने सरकारको योजना थियो। तर मल अभावले त्यसलाई असर गर्नसक्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .