ad ad

कारोबार


१२ करोड खर्च गरेर कोटेश्वरको सडक जाम हटाइँदै, लेन थप गर्ने काम सुरु

१२ करोड खर्च गरेर कोटेश्वरको सडक जाम हटाइँदै, लेन थप गर्ने काम सुरु

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ७:४९,

सधैं जाम हुने कोटेश्वर चोकमा लेन थप गर्ने काम सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोटेश्वरको जाम कम गर्न लेन थप गर्नलागेको हो।

मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण र व्यक्तिको जग्गा अधिग्रहण गरी संरचना खाली गर्ने काम सुरु गरेको छ। मन्त्रालयले केही दिनमै टेन्डर आह्वान गर्ने जनाएको छ।

‘सधैं जाम हुने कोटेश्वर चोकको काम अघि बढाएका छौँ’, मन्त्री वसन्त कुमार नेम्वाङले नेपालखबरसँग भने, ‘विमानस्थलको तारबार, आर्मी र एक व्यक्तिको जग्गा रहेको छ। त्यसलाई खाली गरेर टेन्डर आह्वान गर्छौँ।’

koteshwar basant 1

सहरी विकास मन्त्रीको समेत जिम्मा सम्हालिरहेका उनले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन निरीक्षण गर्दै संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वीनाका रहेको र उपत्यकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले छिटो निर्माणकार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

तत्काल कोटेश्वर चोकको जाम हटाउन अहिले दक्षिणतर्फ तीन लेन र उत्तर विमानस्थलतर्फ एक लेन सडक विस्तार गर्न थालिएको हो। जामको दीर्घकालीन समाधान गर्न सरकारले अण्डरपास निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहकार्य गर्ने तयारी भइरहेको छ।

पुरानो तारबार हटाउने, विमानस्थलको जग्गा भएकाले सुरक्षा संवेदनशीलताका कारण नयाँ बार लगाउने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेकाले छिट्टै टेन्डर आह्वान हुने सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले बताए।

koteshwar basant 2

प्रमुख नेपालीका अनुसार यो खण्डको ट्रयाक निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट मागिएकामा अर्थले सहमति दिएपछि संरचना हटाई टेन्डरको प्रक्रियामा जान लागिएको हो।

‘लेन विस्तारपछि फेरि सडक बिगार्ने काम नहोस् भनेर विद्युत् तार भूमिस्थ गर्न प्राधिकरणलाई भनेका छौँ। अहिले पोल मात्रै सार्यो भने फेरि भत्काउनुपर्छ’, नेपालीले भने।

उक्त सडक विस्तार हुनासाथ पेप्सीकोलातर्फ जाने सवारीले काटेश्वरमा जाममा नबसी सो लेन प्रयोग गर्न सक्नेछन् भने भक्तपुरबाट कोटेश्वर चोक हुँदै ललितपुरतर्फ जाने गाडीले पनि कोटेश्वरमा जाममा बस्नुपर्दैन।

उत्तर र दक्षिण दुवैतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा रहेको थियो भने उक्त सडक खण्डमा ६ आना १ पैसा जग्गामा बनेको घर थियो। कुल ७ रोपनी जग्गा अधिग्रहण गरिएको हो।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नेपालीले डीपीआरअनुसार लेन विस्तार गर्दा करिब १२ करोड खर्च हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .