ad ad

कारोबार


ठमेलका व्यवसायी विस्थापित हुने अवस्थामा

ठमेलका व्यवसायी विस्थापित हुने अवस्थामा

नेपालखबर
भदौ १४, २०७७ आइतबार ९:२०,

कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन्।

पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ। जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन्। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले गत चैत यता व्यवसाय पूर्णरुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न गाह्रो भएको बताए।

अन्य क्षेत्रमा भन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको बताए। उनले ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिएपनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको बताए।

ठमेल भित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिँदा त्यस्ता व्यवसायीहरु विस्थापित भइसकेको बताए। उपत्यकामा फेरि निषेधाज्ञा जारी भएपछि भने अझै लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरु पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माले बताए।

काठमाडौंमा अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ। त्यसैपनि ठमेल क्षेत्र पूर्ण रुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो। अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पर्यटकहरु आउने अवस्था पनि छैन। पर्यटक नआउँदासम्म ठमेलको व्यापार शुन्य नै हुन्छ। नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन्। त्यसैले ठमेलको व्यापार पूर्णरुपमा पर्यटनमा आधारित छ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले लगानी पनि बढाएका थिए। उपाध्यक्ष शर्माले घरजग्गा विक्री गरेर अथवा बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरु यतिवेला सबैभन्दा बढी समस्यामा रहेको बताए।

सरकारले पर्यटन व्यवसायीहरुलाई पुनरकर्जा उपलब्ध गराउने भनेपनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेको बताए। त्यस्तै अझै एक वर्ष यस्तै अवस्था रहे बैंकबाट ऋण लिएर व्यापार गरेका व्यवसायीहरुलाई बैंक ऋण तिर्नसक्ने क्षमता पनि नरहने उनले बताए। यस्तो समस्या आउन नदिन सरकारले बेलैमा व्यवसायीलाई सहजवातावरण निर्माण गरिदिनुपर्ने पनि उनले बताए।

ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायीहरु रहेका छन्। व्यवसायीहरुले भाडाबापत मासिक ३० करोड रुपैयाँ भन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्कले देखाउँछ। ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकलन, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसायहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .