ad ad

कारोबार


मन्त्री र मेयरद्वारा रानीपोखरीको निरीक्षण, यस्तो छ पुनर्निर्माणको अवस्था

मन्त्री र मेयरद्वारा रानीपोखरीको निरीक्षण, यस्तो छ पुनर्निर्माणको अवस्था

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १४:२३,

सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको टोलीले रानीपोखरी पुनर्निर्माणको स्थलगत निरीक्षण गरेका छन्।

शुक्रबार सहरी विकास राज्यमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख सहितको टोलीले रानीपोखरी पुनर्निर्माणको निरीक्षण गरेको हो। निरीक्षणका क्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले कोभिड महामारी कायम रहेपनि रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिने बताए।

उनले रानीपोखरी ऐतिहासिक, सांस्कृतिक, पुरातत्विकसँग मात्र नजोडिएर प्रेम काहानीसँग समेत जोडिएकाले काठमाडौंबासीको गौरव र जीवनसँग जोडिएको बताए। रानीपोखरीको पुनर्निर्माणलाई महत्व दिएर काम गर्न आग्रह गर्दै कुनै समस्या भए मन्त्रालयबाट सक्दो सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गरे।

rambir-manandharr.jpg

रानीपोखरी निर्माणका क्रममा सुरुमा विवाद आएपछि पुनर्निमाण प्राधिकरण मार्फत उपभोक्ता समितिले कामको जिम्मा लिएको थियो।

महानगरपालिकाका मेयर शाक्यले विज्ञ टिमको सुझाव अनुसार प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी रानीपोखरी बनाउने प्रतिवद्धता जनाई उपभोक्ता समिति मार्फत काम गराइएको बताए। उपभोक्ता समितिले स्थानीय स्तरमा देखिएका विवादहरुलाई समाधान गर्दै कामलाई अगाडि बढाउँदा केही ढिलाई भएपनि अपेक्षा गरिए अनुसार नै काम भएको मेयर शाक्यले बताए।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले पनि स्थानीय स्तरमा देखिएको विवादका कारण निर्माणमा केही ढिलाइ भएको बताएको छ। समितिका अध्यक्ष अजय स्थापितले आफूहरुको यस काममा अनुभव नभएपनि स्थानीय स्तरमा देखिएका समस्या र अवरोधलाई मिलाउँदै कामलाई अगाडि बढाइएको बताए।

समितिका सचिव रोशन तुलाधरले करिब २५ करोड रुपैयाँ बराबरको बजेटबाट रानीपोखरीको पुनर्निर्माण सम्पन्न हुने बताए।

ranipokhari1.jpg

यसअघि रानीपोखरीको पुनर्निमार्णको काम महानगरपालिकाले आफै गर्दा यसको शैली र पुरातत्व विगारेको भन्दै विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिले काम सुरु गरेको हो। तर निर्धारित समयमा भने काम सम्पन्न हुन सकेन।

पछिल्लो समय कोभिड १९ का कारण देशभर लकडाउन हुँदा पुनर्निर्माणको काम केही प्रभावित भएको थियो। तरपनि लकडाउन खुकुलो भएसँगै कामलाई निरन्तरता दिन सक्दा पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले बताएको छ। रानीपोखरीको पुनर्निमार्ण परम्परागत शैली र मौलिकता संरक्षण गरी प्रताप मल्लकालीन शैलीमा पुनर्निमार्ण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .