ad ad

कारोबार


‘सम्धीकाे नियुक्ति’मा वरिष्ठ मन्त्रीसामु यसरी निरीह बने अर्थमन्त्री खतिवडा

‘सम्धीकाे नियुक्ति’मा वरिष्ठ मन्त्रीसामु यसरी निरीह बने अर्थमन्त्री खतिवडा

दीपक भट्ट
भदौ १०, २०७७ बुधबार १५:१८,

राष्ट्रिय वाणिज्य बैंक अर्थ मन्त्रालय मातहतको एउटा संस्थान हो। साे संस्थानको अध्यक्षको नियुक्ति प्रक्रिया अहिले सर्वाधिक चर्चाको विषय बनेको छ।

सो बैंकको संचालक छनोट गर्दा मन्त्रीस्तरिय निर्णयले गर्नुपर्ने व्यवस्था छ। मन्त्रीस्तरिय निर्णयले छनोट गरेका संचालकहरु मध्येबाट एकजना अध्यक्षमा चयन हुन्छन्। संचालकहरुको बैठकले नै अध्यक्ष चयन गर्ने हो।

जसअनुसार मन्त्रीस्तरिय बैठकले प्रा.डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक सदस्य नियुक्त गर्‍यो।

अर्थमन्त्री खतिवडाले संचालक समिति सदस्यका रुपमा स्वीकार गरेका  कोइराला हुन्, उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी।

उनको राजनीतिक नियुक्तिबारे सामाजिक सञ्जाल र अन्य समूहहरुमा चर्चा भएजस्तै अर्थ मन्त्रालयका बिभिन्न विभागमा पनि चासोको विषय बनेको छ।

अर्थमन्त्री खतिवडाले सो प्रस्ताव शक्तिशाली नेताको दवावमा परेर सो प्रस्ताव लगेको मन्त्रालयका अधिकारीहरु दाबी गर्छन्।

उनीहरु भन्छन् अर्थ मन्त्रालय मातहतको एउटा ठूलो संस्थान सुधार गर्नको लागि अर्थमन्त्री आफैले कोइरालालाई रोजेका हैनन्।

अर्थमन्त्रीनिकट अधिकारीहरुले पनि यो प्रस्ताव लैजानु पर्दा खतिवडा सन्तुष्ट नभएको पुष्टि गरे।

अहिलेको मन्त्रिमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र खतिवडा आफ्नो कार्यकालको अन्तिममा छन्। प्रायः प्रधानमन्त्रीबाहेक अरुको दबाब झेल्नुनपरेका खतिवडा यसपटक भने आफूले नचाहेको प्रस्ताव लानुपर्दा खिन्न रहेको अर्थका अधिकारीहरुको भनाइ छ।

अर्थ मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका एक अधिकारीले दबाबकै कारण उनले सो प्रस्ताव लगेको बताए।

उनका अनुसार उपप्रधान तथा रक्षामन्त्री पोखरेल गतहप्ता त्यसका लागि अर्थमन्त्रालय नै पुगेका थिए।

उनले अर्थमन्त्रीलाई कोइराला नै नियुक्त गर्न निकै जोडबल लगाएका थिए।

उपप्रधानमन्त्री पोखरेलले जोड गरेपछि अर्थमन्त्री खतिवडा निरीह बन्दै उक्त प्रस्ताव स्वीकार गरेका हुन्।

पोखरेललले अर्थमन्त्रालयमा अर्थमन्त्रीलाई भेटेर नै कोइरालालाई संचालक मात्रै होइन अध्यक्ष नै बनाउनुपर्ने भनेको ती अधिकारीको दावी छ।

अर्थमन्त्री भने अर्थमन्त्रालयबाटै अवकास पाएका पूर्वकर्मचारीलाई नियुक्त गर्न चाहन्थे।

यसअघि पनि अर्थ मन्त्रालयकै पूर्वकर्मचारीले वाणिज्य बैंकको अध्यक्षमा नियुक्ति पाएका थिए। अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयमा लामो समय बजेट महाशाखा प्रमुख भएर काम गरेका निर्मलहरि अधिकारी गतवर्ष अवकास हुने वित्तिकै राष्ट्रिय वणिज्य बैंकमा पुर्‍याएका थिए।

गतहप्ता उनलाई अर्थमन्त्रीले नै राजश्व बोर्डको सदस्य बनाएपछि सो बैंकको अध्यक्ष पद खालि भएको हो।

यसपटक पनि पूर्वकर्मचारी नै पठाउने अर्थमन्त्रीको योजना थियो। तर वरिष्ठ मन्त्री पोखरेलले दबाब दिएपछि उनले त्यसलाई अस्वीकार गर्न सकेनन्।

तर रक्षामन्त्री पोखरेलले भने सो नियुक्ति प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन्।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नोे परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा उनीसँगको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्। कहींकतै पनि मेरो अवांछित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँछु,’ उनको दाबी छ। उनले अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायँको भागिदार हुने दाबी गरेका छन्।

तर पोखरेलको यो भनाइलाई अर्थमन्त्रालका कर्मचारीले सफेद झूठको संज्ञा दिए।

अर्थमन्त्री खतिवडा र प्रा.डा. कोइराला चिनजानकै मान्छे भए पनि अर्थमन्त्रीले भने पूर्वकर्मचारीलाई नै ल्याउन चाहेको अर्थमन्त्रालको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका बाहालवाला कर्मचारीहरुको भनाइ छ।

कोइरालामा के छ त्यस्तो विशेष क्षमता?
कोइराला यसअघि पनि महत्वपूर्ण पदमा नियुक्ति पाइसकेका व्यक्ति हुन्।

उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पसका प्रमुख, नेपाल आयल निगमको कार्यकारी निर्देशक र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति बनिसकेका छन्।

त्यसैले शैक्षिक योग्यता र अनुभवको आधारमा उनको नियुक्तिमाथि प्रश्न गर्ने ठाउँ छैन्।

‘उहाँको योगयतामाथि प्रश्न गर्ने ठाउँ छैन तर पनि अहिलेको राजनितिक माहोलका कारण उहाँमाथि टिकाटिप्पणी आएको हुनसक्छ,’ सोहि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ बताउँछन्।

सरकारको उच्च पदमा रहेको व्यक्तिसँग कोइरालाको नाम जोडिनुले आममानिसलाई पनि केहि प्रभाव पारेको हुनसक्ने श्रेष्ठको भनाइ छ।

संचालक समिति सदस्यमा चयन भएका उनलाई अध्यक्ष बनाउने वा नबनाउने कुरा पनि संचालक समितिको बैंठकले निर्णय गर्ने श्रेष्ठले बताए।

आज मंगलबार नै बस्ने भनिएको संचालक समितिको बैठक पनि बाहिर भइरहेका चर्चाका कारण बस्न नसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .