सरकारले गत असारमा निर्माणाधीन आयोजनाका लागि आवश्यक पर्ने १० अर्ब बढीको निर्माण सामग्रीमा सम्पूर्ण कर छुट दिएको छ। अर्थ मन्त्रालयले वैदेशिक ऋण तथा सहयोगमा निर्माणाधीन चार आयोजनामा उक्त करछुट दिएको हो।
मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुने ७ अर्ब १७ करोडका निर्माण सामग्रीमा करछुट दिएको छ। द एक्सपोर्ट–इम्पोर्ट बैंक चीनको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिरहेको चाइना सीएएमसी इन्जिनियरिङले पैठारी गर्ने ६ करोड ९९ हजार अमेरिकी डलरबराबरको निर्माण सामग्रीमा सम्पूर्ण कर तथा महसुल छुट दिने निर्णय गरेको हो।
त्यस्तै, १४० मेगावाटको तनहुँ हाइड्रो पावरका लागि अर्थ मन्त्रालयले २ अर्ब २० करोडबराबरको निर्माण सामग्रीमा सम्पूर्ण भन्सार महशुल तथा मूल्य अभिवृद्धिकर छुट दिने निर्णय गरेको छ। उक्त आयोजना नेपाल सरकार, एसियाली विकास बैंक, जापान सरकार र युरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण सहयोगमा बनिरहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक सुधार तथा विकास आयोजनाअन्तर्गत एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माणाधीन आयोजनाको लागि ७१ करोड ८७ लाख (४४ करोड ९६ लाख भारतीय रुपैयाँ)को भन्सार तथा महशुल छुट दिएको छ।
त्यसैगरी मन्त्रालयले स्विस सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा ग्रामीण सडकमा पुल निर्माण कार्यका लागि ८१ लाख (५७ हजार युरो) ड्रिलिङ इक्विपमेन्टको स्पेयर पार्टसको सम्पूर्ण कर तथा महशुल छुट दिएको छ।
Shares
प्रतिक्रिया