ad ad

कारोबार


उद्योग वाणिज्य महासंघ : निर्वाचन स्थगित गरेर नेतृत्वमा दाउपेच

उद्योग वाणिज्य महासंघ : निर्वाचन स्थगित गरेर नेतृत्वमा दाउपेच

दीपक भट्ट
साउन २६, २०७७ सोमबार ९:५८,

कोरोना महामारी र त्यसपछि गरिएको लकडाउनले अन्य देशमा जस्तै नेपालमा पनि प्रायशः उद्यम व्यवसाय थिलो–थिलो भएको अवस्था छ।

देशकै अर्थतन्त्रलाई चलायमान बनाउने व्यवसायीहरु बैंकको ऋणमा चुर्लुम्म छन्। उद्यम व्यवसाय सञ्चालन ठप्पप्रायः छ। कडा लकडाउनको स्वरुप त फेरिएको छ तर उद्योग व्यवसाय सामान्य अवस्थामा फर्किनसकेका छैनन्।

यस्तो प्रतिकूल अवस्थामा व्यवसायीको हकहितमा अग्रसरता लिने निकाय नेपाल उद्योग वाणिज्य महासंघ भने नेतृत्वविहीनजस्तै बनेको छ। अध्यक्ष भवानी राणा नेतृत्वका पदाधिकारी पदमा भए पनि कार्यअवधि विधानतः चैतमै सकिएकाले काम चलाउ अवस्थामा छन्।

‘गोरु चुटाइ’मा व्यवसायी
प्रतिकूल परिस्थितिमा महासंघ पदाधिकारी नै नभएजस्तो देखिनु राम्रो होइन। यस्तो अवस्थामा नयाँ नेतृत्व ल्याउन पहल गर्नुपर्नेमा मौजुदा पदाधिकारीले ‘हलो अड्काए’जस्तो गर्दा त्यसको मार कोरोना कहरमा परेका सबैजसो व्यवसायीलाई परेको छ। उनीहरुले माघ १४ देखि नै अनेक दुःख झेल्दै आएका छन्।

चीनमा कोरोनाको उच्च प्रभाव भइरहँदा नेपाल–चीन सडकतर्फको नाका बन्द भएपछि व्यावसायिक गतिविधि ठप्प बन्यो। त्यसपछि विश्व नै संक्रमित बन्दै जाँदा नेपाल सरकारले चैत ११ देखि लकडाउन गर्यो। त्यसपछि त काम गर्ने व्यवसाय नै बन्द भयो। जसले श्रमिक, मजदुर र स्वयं व्यवसायी घरभित्रै थुनिए। अनि समस्या सुरु भयो।

नेतृत्व दाउपेचको खेल
यता व्यवसायी घरमै थुनिए उता महासंघको नेतृत्वको दाउपेच सुरु भयो। चैत २८ र २९ मा महासंघको साधारणसभा र निर्वाचन तय भएको थियो। तर ११ गतेदेखि लकडाउन सुरु भएपछि जेठ ७ लाई सारियो। लकडाउनको हप्ते म्याद लम्बिँदै जाँदा महासंघको कामचलाउ पदाधिकारीलाई बहाना पनि मिल्दै गयो।

फेरि निर्वाचनको नयाँ मिति साउन २६ र २७ गतेलाई तोकियो। पछिल्लो मितिमा निर्वाचन पक्कापक्की हुने अड्कल थियो। किनकि पहिलेजस्तो कडा लकडाउन थिएन। सरकारले असार १ देखि नै लकडाउन खुकुलो पारिसकेको थियो। महासंघको निर्वाचन ललितपुरको हेरिटेज गार्डेनमा गर्ने ‘फिक्स’ हुँदैगर्दा ललितपुर प्रशासनले अनुमति दिएन। यसले कामचलाउ पदाधिकारीलाई बहानाको अर्को अवसर मिल्यो।

महासंघको नयाँ कार्यसमिति चयन हुन ७७ वटै जिल्लाबाट प्रतिनिधिहरु भेला भएर निर्वाचन हुनुपर्छ। भीडभाड हुने भएकाले अहिले निर्वाचन गर्न नहुने निष्कर्ष महासंघ पदाधिकारीले निकाले। अन्ततः साउन २६ र २७ को निर्वाचन तालिका अनिश्चितकालका लागि सर्यो।

dhakal patrakar sammelan 1
चन्द्र ढकाल

निर्वाचन स्थगित हुनुअघि नै वरिष्ठ उपाध्यक्षका दुवै दाबेदार चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका थिए। किनकि उनीहरु निर्वाचन हुनेमा ढुक्क थिए। उनीहरुमात्र होइन, कोरोनाले आक्रान्त व्यवसायीहरु पनि महासंघले नयाँ नेतृत्व पाउने र आफ्नो समस्या समाधानमा अग्रसरता लिने विश्वासमा थिए।

त्यहीअनुसार उनीहरुले आआफ्नो सचिवालय समेत बनाएर प्रचारप्रसार समेतसुरु गरे। तर कामचलाउ पदाधिकारीले एकाएक निर्वाचन सारिदिएपछि अहिले पनि निर्वाचनको नयाँ मिति तोकिएको छैन। जसका कारण महासंघभित्रै वर्तमान कार्यसमितिको चर्को आलोचना भयो।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चन्द्र ढकाल प्यानलले त खुलेरै विरोध गरेको थियो। ढकाल पक्षीय व्यवसायीको विरोध थियो, ‘महासंघको हालको नेतृत्वले निर्वाचन र साधारणसभाको प्रक्रियाको विकल्प खोजेन।’

कोरोनाको कहर संसारभरि भइरहेको, प्रविधि माध्यम अपनाएर धेरै ठूला सभा सम्मेलन समेत भइरहेको अवस्थामा विकल्पको खोजी नगरिनु नेतृत्वको गैरजिम्मेवारी भएको उनीहरुको आरोप थियो। उनीहरुले लगाएको आरोप नाजायज पनि थिएन। किनकि अवस्थाअनुसार विकल्पको खोजी हुनुपथ्र्यो तर भएन। नेतृत्वको दाउपेचमा महासंघलाई बन्धक बनाउने काम भयो।

ढकाल पक्षीय व्यवसायीले भनेकै थिए, ‘भेला भएर नै निर्वाचन गर्नुपर्छ भन्ने छैन, अनलाइन प्रविधिको अपनाएर निर्वाचनको प्रक्रिया अपनाऔँ, साधारणसभा भने कोरोना संक्रमण साम्य भएपछि गरौँ।’

तर वर्तमान नेतृत्वले उनीहरुको यो भनाइ सुनेन। अन्ततः साउन ८ महासंघको पदाधिकारीको बैठकले २६ र २७ गते गर्ने भनिएको निर्वाच तत्कालका लागि गर्न नसक्ने निर्णय गर्यो।

पदाधिकारी तथा पूर्वअध्यक्ष सम्मिलित बैठकले सरकारले सभा सम्मेलन गर्नको लागि भदौ १ गतेसम्म रोकेको बहाना बनाए। जब कि अनलाइनबाट अन्य काम रोकिएकै छैनन्। बैठकले सरकारले सभासम्मेलन खुलाएको १५ दिनभित्र गर्ने गरी नयाँ मिति तोक्ने भने पनि तीव्र विरोध भएपछि साउन २१ मा कार्यकारिणी समितिको बैठक बस्यो र त्यसले नयाँ निर्वाचन मिति तोक्न १५ दिने अवधि दिएर एक सुझाव कार्यदल बनाएको छ।

kishor pradhan

कार्यदलले कस्तो सुझाव देला?
त्यसयता नेतृत्वको दाउपेच केही शान्तजस्तो देखिएको छ। यसमा दुवै वरिष्ठ उपाध्यक्षका उम्मेदवार सहमत छन्। अब कार्यदलले साधारणसभा र निर्वाचनको मिति महासंघसमक्ष सिफारिस गर्नेछ। त्यसमा सारधाणसभा र निर्वाचन एकसाथ गर्ने वा नगर्ने भन्ने विषयको पनि निधो दिनेछ।

कार्यदलमा ६ जना सदस्य छन्। त्यसका एक सदस्य अरुणराज सुमार्गी कार्यदलकै कार्यविधिअनुसार अघि बढ्ने बताउँछन्।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानलका उनले नेपालखबरसँग भने, ‘मुख्य कुरो अहिलेको विधानअनुसार साधारणसभा नै गर्न नमिल्ने अवस्था आइसकेको छ। महासंघको विधानले चैत अन्तिममा साधारणसभा गर्न नसके २ महिनासम्ममा जसरी पनि गर्नुपर्ने उल्लेख गरेको छ। त्यसकारणले गर्दा विधानलाई नै कसरी मिलाउने भन्ने सुझाव हामीले दिनुपर्नेछ।’

त्यस्तै ढकाल प्यानलमा रहेका कार्यदलका अर्का सदस्य डीबी बस्नेत भने विभिन्न विज्ञ, कानुनकर्मी, स्वास्थ्यविज्ञ, साथै सुरक्षा निकायसँग समेत सल्लाह गरेर प्रतिवेदन बनाउने बताउँछन्।

‘संक्रमण बढिरहेको अवस्थामा प्रत्यक्ष भेला भएर साधारणसभा र निर्वाचन गर्नसक्ने अवस्था न्यून हुँदै गइरहेको अवस्था छ’, उनले भने,  ‘तर पनि अहिले महासंघलाई नयाँ नेतृत्व चाहिएको छ, त्यसमा कसरी अघि बढ्ने र त्यसलाई विधानसंगत कसरी गराउने विषयमा हामीले प्रतिवेदन बनाउनुपर्नेछ।’

नयाँ मिति समेत तोकिने गरी काम गर्ने उनको भनाइ छ।

चन्द्र ढकाल तथा उमेशलाल श्रेष्ठलगायतले भने यस्तो कार्यदल धेरै अघि नै बनाएर महासंघलाई गति दिन सकिने भए पनि नगरिएको गुनासो गरे। ढिलै भए पनि मागबमोजिम कार्यदल बनाएकोमा भने उनीहरु पनि खुसी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .