ad ad

कारोबार


भन्सार कर्मचारी र व्यवसायीको मिलेमतोमा विषादी जाँचविनै भारतीय तरकारी नेपालमा

भन्सार कर्मचारी र व्यवसायीको मिलेमतोमा विषादी जाँचविनै भारतीय तरकारी नेपालमा

प्रकाश न्यौपाने
साउन १९, २०७७ सोमबार ७:८,

यही साउन १७ गते शनिबार भारतबाट आँप लिएर यूपी४१एटी २५०८, यूपी४१एटी ७९४३, बीआर०६जीडी ८६७१ र भिन्डी, भान्टा, फर्सी, लौका बोकेको यूपी३२एमएन ३०५६ नम्बरको गाडी कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै बिहान साढे १० बजेअगावै नेपाल प्रवेश गरे। दिउँसो साढे २ बजे यी गाडी भन्सार पास भएर आआफ्नो गन्तव्यतर्फ लागे।

सरकारले शनिबार मुलुकका सबै नाकाबाट तरकारी तथा फलफूल भन्सार पास गर्न रोक लगाएको छ। उक्त दिन विषादी जाँच गर्ने प्रयोगशाला बन्द हुने भएकाले भन्सार पास हुँदैन।

तर कृष्णनगर भन्सार नाकाबाट भने भन्सार, विषादी परीक्षण प्रयोगशाला, क्वारेन्टिनका कर्मचारी, भन्सार एजेन्ट र व्यवसायीको मिलेमतोमा फर्जी कागजात बनाई तिनैको आधारमा तरकारी तथा फलफूल (कृषि उपज) भारतबाट आयात हुने गरेको छ।

krishna nagar bhansar 6

शनिबार भन्सार पास भएका गाडीले शुक्रबार (साउन १६) विषादी जाँच गरेको स्वस्थकर प्रमाण पत्र लिएका छन् । यस्तै, क्वारेन्टिन कार्यालयले पनि १६ गते नै जाँच गरेको प्रमाण दिएको छ।

नियमअनुसार फलफूल तथा तरकारीका गाडी नेपालतर्फको भन्सार यार्डमा प्रवेश गरेपछि त्यहाँ भन्सारका कर्मचारीले नमूना निकालेर भन्सारको पत्रसहित नमूनाको सिल प्याकिङ गरेर बुटवलस्थित विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइमा पठाइन्छ।

त्यहाँ कार्बामेट र अर्गानोफस्फेट समूहका १० किसिमका विषादीको जाँच गरेको स्वस्थकर प्रमाणपत्र प्राप्त भएपछि मात्रै भन्सारबाट गाडी आयातकर्ताले आफ्नो गोदाममा लैजान पाउँछन्।

यस्तै, क्वारेन्टिन कार्यालयका कर्मचारीले भन्सारमै गएर आफैँ गाडीबाट नमूना लिएर जाँच गर्नुपर्छ। क्वारेन्टिनले रोग र किरा छ÷छैन भन्ने जाँच गरी प्रमाणपत्र जारी गर्छ। तर, कृष्णनगर भन्सारले भने अघिल्लो दिनको फर्जी कागजातको भरमा शनिबारसमेत तरकारी र फलफूल भन्सार पास गराउँदै आएको खुलेको हो।

फर्जी कागजात बनाएर भन्सार पास भएका माथि उल्लिखित गाडी प्रतिनिधिमात्र हुन्। आलु बोकेका यूपी७६के ९२२४, यूपी४३एटी ०५७५, यूपी७६के ८६७०, स्याउ बोकेको यूपी३५टी ४४६७, अनार बोकेको यूपी७८डीटी ६३६८, आँप बोकेको यूपी ४२ एटी १०१३ र केरा बोकेको यूपी ३२ एमएन २९८४ नम्बरको गाडी पनि शनिबार भन्सार पास भए। कतिपय गाडी पोल्ट्री गरियो। यी गाडीले पनि नेपाल प्रवेश नगर्दै विषादी जाँच प्रयोगशाला र क्वारेन्टिन कार्यालयबाट स्वस्थकर प्रमाणपत्र लिएका छन्।

krishna nagar bhansar 7

एक दिन पहिला जारी गरिएको स्वस्थकर प्रमाणपत्रहरुमा विषादी जाँच प्रयोगशालाको छाप, प्रमुख बाली संरक्षण अधिकृत उमाशंकर पाठक र प्राविधिक सहायक नवदेशकुमार प्रभाकरको हस्ताक्षर छ।

यस्तै, क्वारेन्टिन कार्यालयको प्रमाणपत्रमा कार्यालय प्रमुख बाली संरक्षण अधिकृत सहर्षराम चौधरी र बाली संरक्षण अधिकृत नन्दलाल पाण्डेयको हस्ताक्षर छ।

अहिले कृष्णनगर भन्सारबाट आर्थिक चलखेलकै कारण यसरी फर्जी कागजात बनाएर कृषिउपज भित्रिरहेको छ। सरकारले ‘शनिबार आयात नगर्नू’ भन्दा समेत मिलेमतोमा भन्सार कार्यालयले यसलाई बेवास्ता गर्दै आइरहेको छ।

फर्जी कागजात बनाएर कारोबार गर्दै आएका व्यवसायीसँग सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि मिलेमतो हुँदै आएको छ।

krishna nagar bhansar 2

मलाई जानकारी छैन : भन्सार प्रमुख
कृष्णनगर भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले यस विषयमा आफूलाई जानकारी नभएको भन्दै पन्छिए।

‘हामीले यार्डमा आएपछि नमूना निकालेर बुटवल प्रयोगशालामा परीक्षण गरेर स्वस्थकर छ भन्ने प्रमाणित भएपछि मात्रै भन्सार पास गराउँछौँ। शनिबार हरियो तरकारी र फलफूल भन्सार पास हुँदैन’, उनले भने, ‘अघिल्लो दिनको प्रयोगशाला रिपोर्टले भन्सार पास गर्न मिल्दैन। तर कसरी गरियो भन्ने मलाई थाहा छैन। यस विषयमा बुझ्छु।’

पौडेलले एजेन्ट र कर्मचारीको मिलेमतोमा मात्रै यस्तो काम सम्भव हुने बताए। उनले अधिकांश प्रश्नको जवाफ दिएनन्। प्रत्येक प्रश्नको जवाफ एउटै दिइरहे– म बुझ्छु।

हामीले जारी गरेको प्रमाणपत्र होइनन्, किर्ते भयोः प्रयोगशाला प्रमुख
शनिबार भन्सार पास भएका गाडीको स्वस्थकर प्रमाणपत्र दिने बुटवलस्थित विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालामा बुझ्दा कुनै पनि गाडीको विषादी जाँच गरिएको प्रमाण भेटिएन।

‘तपाईंहरुले प्रमाण पेस गरेका (माथि उल्लिखित गाडी नं.) कुनै पनि गाडीले प्रयोगशालाबाट स्वस्थकर प्रमाणपत्र लिएको हाम्रो रेकर्डमा छैन। शनिबार हाम्रो कार्यालय बन्द हुन्छ। १६ गतेको रेकर्डमा पनि छैन’, प्रयोगशाला प्रमुख बाली संरक्षण अधिकृत उमाशंकर पाठकले नेपालखबरसँग भने, ‘कार्यालयको लेटरप्याड, छाप र हाम्रो हस्ताक्षर किर्ते गरेको हुनसक्छ। यस विषयमा तत्काल बुझ्छौँ।’

krishna nagar bhansar 3

प्रयोगशालाले ह्याण्ड राइटिङ, हस्ताक्षर, छाप र लेटरप्याड मिले पनि दर्ता नम्बर, चलानी नम्बर नमिल्ने भन्दै स्वस्थकर प्रमाणपत्र कार्यलयबाट जारी नभएको दाबी गरेको छ।

‘भन्सारले पठाएको पत्र र विषादी जाँच गरेको प्रमाणपत्रको कपी हामीले फाइल गरेर राख्ने गरेका छौँ। तर, शनिबार भित्रिएका कुनै पनि गाडीको भन्सारको पत्र र जाँच गरिएको कपी हामीसँग छैन। यो सबै किर्ते हो’, पाठकले भने।

पाठकले किर्ते भएको दाबी गरे पनि स्रोतका अनुसार मिलेमतोमा दर्ता चलानी नै नगरी नक्कली स्वस्थकर प्रमाणपत्र कार्यालयले जारी गर्दै आएको छ। यसैको प्रयोग गरी शनिबारसमेत गाडी भन्सार पास हुने गरेका छन्।

हामीलाई झुक्याए : क्वारेन्टिन कार्यालय
शनिबारै नेपाल आएर भन्सार पास भएका तरकारी तथा फलफूल बोकेका गाडीको क्वारेन्टिन कार्यालयको प्रमाणपत्र पनि एक दिन पहिला जारी गरिएको छ।

शनिबार कार्यालय बन्द हुन्छ। तर शनिबार भन्सार पास भएका सबै गाडीले शुक्रबारको प्रमाणपत्र पेस गरेका छन्। क्वारेन्टिन कार्यालय, कृष्णनगरका प्रमुख बाली संरक्षण अधिकृत सहर्षराम चौधरीले आफूहरुलाई झुक्याएर शनिबार तरकारी तथा फलफूल भन्सार पास गरिएको बताउँछन्।

krishna nagar bhansar 4

‘हामीलाई एजेन्ट, भन्सार कर्मचारी र व्यवसायीले झुक्याए। भन्सार परिसरमा गाडी आएको भनेर स्याम्पल देखाए’, उनले भने।

उनले क्वारेन्टिन नगरी गाडी भन्सार पास गराउने प्रवृत्ति कृष्णनगरबाट हुँदै आएको जनाए।

‘गाडी भन्सार परिसरमा आएपछि हामीले स्याम्पल जाँच गरेर स्वीकृति दिएपछि मात्रै भन्सार पास हुनुपर्ने हो तर त्यसो गरिएको छैन। हामीलाई थाहै नदिई कयौं गाडी भन्सार पास गरिन्छ’, उनले भने।

सबै व्यवस्था एजेन्टले मिलाएको हो : व्यवसायी
शनिबार नेपाल प्रवेश गरी भन्सार पास भएको यूपी३२एमएन ३०५६ नम्बरको गाडीमा भिन्डी, लौका, फर्सी र भन्टा थियो। उक्त तरकारी बुटवलस्थित तरकारी मण्डीभित्र रहेको सब्जी सेन्टरका सञ्चालक मोहमद अनिसले आयात गरेका हुन्।

नेपालखबरसँगको कुराकानीमा उनले आफूले आयात गरेको तरकारी बोकेको गाडी शनिबार नेपाल प्रवेश गरी भन्सार पास भएर गोदाममा आएको स्वीकारे।

‘मेरो गाडी शुक्रबार साँझ भन्सार नाकामा आएको थियो। गाडी आएपछि मैले एजेन्ट इसरार अहमदलाई फोन गरेर गाडी पास गराउन भने। उनले ठीक छ भोलि नेपाल प्रवेश गरेपछि पास गराउँला भने। शनिबार उनले कसरी पास गराए मलाई थाहा छैन। विषादी जाँच कहाँ लगेर कसरी गरे त्यो पनि थाहा छैन । विषादी जाँच गराउने जिम्मा पनि उनैलाई दिएको छु’, आयातकर्ता व्यवसायी अनिसले भने।

भन्सार एजेन्ट इसरारले आफू यस विषयमा नबोल्ने बताए।

krishna nagar bhansar 5

कारबाही हुन्छ : मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिउपज आयातमा बदमासी भएको भए कारबाही हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले टेलिफोनमा भने, ‘मैले वास्तविक भएको के हो बुझ्छु, विषादी जाँच प्रयोगशालाले नक्कली कागजात बनाएर कृषिउपज आयातमा सहयोग गरेको यदि सही ठहरियो भने संलग्नमाथि छानबिन गरी कारबाही गर्छौँ।’

भन्सार प्रक्रिया, नीतिनिय आयातकर्ता र कर्मचारी सबैले मान्नैपर्ने जनाउँदै उनले विषादी परीक्षण नगरी कृषिउपज नेपालमा आयात गर्न नहुने र मन्त्रालय यसतर्फ सजग रहेको जनाए।

आयात ह्वात्तै बढ्यो
विषादी जाँच तथा क्वारेन्टिनको फर्जी कागजात र शनिबारसमेत कृषिउपज आयात गर्न पाइने भएपछि अहिले धेरैको रोजाइ कृष्णनगर नाका बनेको छ।

बेलहिया नाकाबाट आयात गर्दै आएका व्यापारीसमेत कृष्णनगरबाट आयात गर्न थालेका छन्। सूचना अधिकृत बासु घिमिरेका अनुसार बैशाख यता तरकारी तथा फलफूल आयात अचाक्ली बढेको छ।

वैशाखमा १० करोड ६४ लाख, जेठमा १३ करोड ८३ लाख, असारमा २२ करोड ११ लाख र साउनको १७ गतेसम्म १७ दिनमै २९ करोड २९ लाख मूल्य बराबरको तरकारी तथा फलफूल आयात भएको छ।

अर्कोतर्फ फर्जी कागजात बनाएर आयात गरिएका तरकारी तथा फलफूल भन्सारमा तौलसमेत लिइँदैन। जसले गर्दा राज्यको लाखौँ रुपैयाँ राजस्व गुमेको छ। तस्करहरुको कृष्णनगर नाकामा मनमौजी बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .