ad ad

कारोबार


अन्तर्राष्ट्रिय समुदायलाई ‘ठूला बैंक’ देखाउन यही वर्ष ‘फोर्स मर्जर’, बैंकहरु भने असन्तुष्ट

अन्तर्राष्ट्रिय समुदायलाई ‘ठूला बैंक’ देखाउन यही वर्ष ‘फोर्स मर्जर’, बैंकहरु भने असन्तुष्ट

दीपक भट्ट
साउन १८, २०७७ आइतबार १२:१७,

नेपाल राष्ट्र बैंकले सरकारी र गैरसरकारी सबै बैंकलाई सकेसम्म यही वर्ष ‘फोर्स मर्जर’मा लैजाने भएको छ।

सन् २०२२ सम्ममा नेपाल अतिकम विकासित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छ। यसको लागि अन्तर्राष्ट्रिय समुदायलाई ‘ठूला बैंकहरु’ देखाउन राष्ट्र बैंकले यो वर्ष नै २६ वटा वाणिज्य बैंकहरुलाई जसरी पनि मर्जर गराउनलागेको हो।

नेपाली बैंकहरुको अन्तर्राष्ट्रिय स्तर बढाउने अर्थ मन्त्रालयको योजनाअनुसार विगतदेखि नै गृहकार्य हुँदै आएको छ। विदेशी दातृनिकाय र अन्तर्राष्ट्रिय समुदायले लगानी गर्दा नेपाली बैंकको स्तर हेर्ने भएकोले सरकारले यो नीति लिएको हो।

चालू आर्थिक वर्षको लागि आएको मौद्रिक नीति र उक्त नीति कार्यान्वयनको लागि राष्ट्र बैंकले जारी गरेको निर्देशिकाले पनि यो विषयलाई जोड गरेको छ।

अहिले नेपालमा २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन्। २७ वटा वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक जनता बैंकसँग गत वर्ष नै मर्जरमा गइसकेको छ।

विगतमा नेपाल राष्ट्र बैंकले ‘बिग मर्जर’लाई प्रोत्साहन गर्ने नीति लिएको थियो। यो वर्ष पनि मर्जरमा जानेलाई कर छुटदेखि व्यवस्थापक र सञ्चालकमा कुलिङ पिरियड (विश्राम अवधि)को छुट सुविधा ल्याएको छ।

फोर्स मर्जर गर्दा क्रस होल्डिङ सेयर भएका बैंकहरुलाई मर्जरमा जानैपर्ने नीति अपनाइने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए।

उनले नेपालखबरसँग भने, ‘मौद्रिक नीति कार्यान्वयनको लागि जारी गरिएको निर्देशिकामा पनि उक्त कुरा उल्लेख गरिएको छ र सोहीअनुसार क्रस होल्डिङ भएको बैंकहरुलाई मर्जरको प्रक्रियामा तत्काल समावेश गरी बैंकको पदाधिकारीहरुसँग अब राष्ट्र बैंकले छलफल सुरु समेत गर्नेछ।’

राष्ट्र बैंकलाई उक्त नीति तयार गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिइसकेका छन्। यद्यपि मौद्रिक नीतिमा गभर्नर महाप्रसाद अधिकारीले मर्जरलाई प्रोत्साहन गर्ने कुरा मात्रै उल्लेख गरेका छन्।
तर मौद्रिक नीति कार्यान्वयनको लागि राष्ट्र बैंकले ल्याएको निर्देशिकामा फोर्स मर्जर सम्बन्धमा भएको अर्थमन्त्रीको ‘मौखिक’ निर्देशन समेत उठान भएको छ।

खुसी छैनन् बैंकहरु
नेपाल राष्ट्र बैंकले जुन किसिमको ‘क्रस होल्डिङ’को विषयबारे व्याख्या गरेको छ र मर्जरको लागि प्रोत्साहित गर्ने नीति अपनाएको छ, त्यसमा बैंकहरु भने सन्तुष्ट छैनन्। थोरै प्रतिशत सेयर ‘क्रस होल्डिङ’ हुँदा वित्तीय नीतिमा खासै ठूलो असर नपर्ने बैंकहरुको दाबी छ।

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले मर्जरको प्रक्रिया राम्रो भए पनि राष्ट्र बैंकले हाल लिएको प्रोत्साहन नीति अपुग रहेको बताए।

‘एनएमबी बैंकको क्रस होल्डिङ ५ प्रतिशतभन्दा कम छ। त्यसमा पनि नेपाल राष्ट्र बैंकले जुन नजरले हेरिरहेको छ त्यो गलत छ’, उनले भने, ‘अर्को कुरा बैंक मर्जरमा जानुपर्ने कुरा गलत भने होइन। कोरोना पछि सबै क्षेत्र कमजोर भइरहेको अवस्थामा बैंकरुलाई पनि असर गरिरहेको छ।’

यो वर्ष नै फोर्स मर्जरमा जाँदा केही वित्तीय संस्थामा नराम्रो अवस्था देखिने गोल्यानको भनाइ छ।

हिमालयन बैंकको कुरा फेरियो
लामो समयदेखि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको कुरा उठ्दै आएको छ। दुवै बैंकको क्रस होल्डिङ समेत रहेको र व्यवस्थापन तथा सञ्चालकहरुमा नजिकको ‘नाता सम्बन्ध’ समेत रहेको भन्दै राष्ट्र बैंकले समेत मर्जरको लागि ‘उपयुक्त साथी’ हुनसक्ने बताएको थियो।

उनीहरुबीच यो विषयलाई लिएर पटक–पटक छलफल समेत भएको हो। तर अहिले आएर हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकभन्दा बाहिरको बैंकसँग मर्ज गर्ने तयारी गरेको छ।

बैंक स्रोतका अनुसार हिमालन बैंकले लक्ष्मी बैंकसँग मर्ज गर्ने विषयमा छलफल थालेको छ। लक्ष्मी बैंकसँग पनि हिमालयनको थोरै ‘क्रस होल्डिङ’ सेयर रहेको छ।

यदि राष्ट्र बैंकले फोर्स्ड मर्जरलाई जसरी पनि लैजान खोजे अन्य बैंकहरुले कसलाई जोडी खोज्लान् भन्ने चासो पनि बढ्नथालेको छ। वाणिज्य बैंकहरुमध्ये सिभिल र सेञ्चुरी कमर्सियल बैंक, एनएमबी र एनआईसी एसिया बैंकलाई पनि सम्भावित मर्जर–जोडीका रुपमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .