ad ad

कारोबार


आत्मनिर्भर क्लिंकर नै भारतबाट आयात, सिमेन्ट उत्पादन २५ प्रतिशतले घट्ने

आत्मनिर्भर क्लिंकर नै भारतबाट आयात, सिमेन्ट उत्पादन २५ प्रतिशतले घट्ने

प्रकाश न्यौपाने
साउन ८, २०७७ बिहिबार ७:४१,

नेपाल क्लिंकरमा आत्मनिर्भर भएको करिब दुई वर्ष भयो। स्वदेशी खानीबाट कच्चा पदार्थ चुन ढुंगा उत्खनन गरी उद्योगीले क्लिंकर बनाउँदै आएका छन्।

तर, लकडाउन अवधिभर खानीबाट कच्चा पदार्थ उत्खनन गर्न नपाएपछि आत्मनिर्भर भनिएको क्लिंकर नै भारतबाट आयात गर्नुपरेको छ।

‘लकडाउनको करिब तीन महिना उद्योगीलाई सरकारले क्लिंकर बनाउन आवश्यक कच्चा पदार्थ चुन ढुंगा उत्खनन गर्न दिएन। खानी उत्खनन गर्न नपाएपछि यहाँ क्लिंकर उत्पादन गर्ने उद्योगले आपूर्ति गर्न सकेनन्। जसले गर्दा आयात गर्नुपरेको हो’, पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालले भने।

लकडाउनले गर्दा यहाँका सिमेन्ट उद्योगहरुलाई करिब ४० प्रतिशत क्लिंकर आपूर्ति गर्दै आएको होङ्सी सिमेन्ट करिब २ महिना बन्द भयो।

‘लकडाउनका बीच पनि भारतबाट निर्बाध रुपमा मालवाहक गाडी नेपाल भित्रिए। सरकारले स्वदेशी चुनढुंगाका खानी खोल्न अनुमति भने दिएन। यसैको प्रभाव ६ महिनासम्म पर्यो’, अध्यक्ष अग्रवालले भने।

cement udyog butwal

खानी उत्खनन गर्न नपाएपछि उद्योगीले भारतबाट क्लिंकर आयात गर्नथाले। यसले विदेश निर्यातको तयारीमा रहेको क्लिंकर अब विदेशबाट आयात गर्नुपर्ने भएको हो। प्रदेश ५ का तराईका तीन जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै २० वटा सिमेन्ट उद्योग छन्। त्यसमा तीनवटा उद्योगले क्लिंकर उत्पादन गर्छन्।

अर्घाखाँची सिमेन्ट, सर्वोत्तम र होङसी सिमेन्टले आफैँ क्लिंकर उत्पादन गर्छन्। यससँगै पाल्पामा रहेको तानसेन सिमेन्टले पनि क्लिंकर उत्पादन गर्दै आएको छ।

यी चार उद्योगले मात्रै दैनिक १५ हजार टन क्लिंकर उत्पादन गर्दै आएका थिए। उद्योगले खानीबाट चुनढुंगा उत्खनन गर्न नपाउँदा परनिर्भर हुनपुगे। खानी उत्खनन गर्न नपाएपछि अहिले क्लिंकर उत्पादन गर्दै आएका उद्योगले समेत भारतबाट क्लिंकर आयात गरिरहेका छन्।

लकडाउनमा सरकारले खानीजन्य उद्योग सञ्चालन गर्न दिने निर्णय गरे पनि स्थानीय सरकार र प्रशासनले अनुमति नदिएको उद्योगीको आरोप छ। पाल्पाको तिनाउ गाउँपालिकाको विभिन्न वडाका डाँडाबाट, पाल्पाकै धानिका, श्रीडाँडा, मस्याङ, जगता, सिद्धेश्वर, अर्घाखाँचीको नरपानी, प्यूठान, तनहुँ लगायतका ठाउँमा रहेका खानीबाट उद्योगीले चुन ढुंगा ल्याउने गर्छन्।

वर्षायाम भएकाले अब यी ठाउँमा रहेका खानी असोजसम्म बन्द हुन्छन्।

‘अब हामी करिब ३ महिना भारतकै भर पर्नुपर्छ’, क्लिंकर उत्पादन गर्ने अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले भने, ‘पुनः खानी सञ्चालनमा नआउँदासम्म भारतबाटै क्लिंकर ल्याउनुपर्ने बाध्यता छ।’

उनले सरकारकै कारण आफूहरु भारतबाट क्लिंकर आयात गर्न बाध्य भएको जनाए।

‘वैशाख २५ गते सरकारले खानी उद्योग खोल्न त भन्यो तर हामीलाई क्लिंकरको कच्चा पदार्थ चुनढुंगा उत्खनन नै गर्न दिइएन’, उनले भने, ‘अब भारतबाट आयात गर्दा उत्पादन लागत बढ्छ नै, सिमेन्ट उत्पादनसमेत २५ प्रतिशतले गिरावट आउने पक्कापक्की भइसकेको छ।’

स्वदेशमै उत्पादन हुँदा प्रतिटन ८ हजार रुपैयाँ मूल्य पर्ने क्लिंकर हाल भारतबाट आयात गर्दा ११ हजार रुपैयाँभन्दा बढी पर्ने गरेको छ। कच्चा पदार्थमै चर्को मूल्य परेपछि भारतीय सिमेन्टभन्दा नेपाली सिमेन्टको मूल्य स्वतः बढी पर्छ। जसले गर्दा भारतीय क्लिंकर मात्र होइन, सिमेन्टको समेत आयात बढ्नसक्ने उद्योगी व्यवसायीको चिन्ता छ।

भैरहवा भन्सार कार्यालयको तथ्यांकले पनि लकडाउनयता क्लिंकर आयात ह्वात्तै बढेको देखाउँछ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७६÷०७७ को वैशाखदेखि असार मसान्तसम्म मात्रै ९८ करोड ६९ लाख ६६ हजार मूल्यको १ लाख २२ हजार टन बराबर क्लिंकर आयात भएको छ ।

‘स्वदेशमै उत्पादन भएपछि वैशाख अघिसम्म क्लिंकर आयात शून्य थियो। लकडाउन चैतबाट भयो तर वैशाखदेखि उद्योगीले आयात गर्न सुरु गरेका हुन्। त्यसपछि आयात ह्वात्तै बढेको छ’, भैरहवा भन्सारका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .