नेपाल राष्ट्र बैंकले बजारमा पर्याप्त तरलता रहेको बताएको छ।
संसदको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारेको छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा १ खर्ब ६६ अर्ब २ करोड तरलता रहेको जानकारी दिएका हुन्।
उनका अनुसार यो असार २६ सम्मको तथ्यांक हो।
यसमा वाणिज्य बैंकबीचको अन्तबैंक कारोबार ०.५० प्रतिशत छ। बैंकको आधारदर घटेको छ। बैंकहरुको औसत आधारदर ९.५७ रहेकोमा यो वर्ष ८.६६ प्रतिशत छ। आधारदर घटेसँगै कर्जाको ब्याजदर समेत घटेको छ।
लकडाउनमा कर्जा प्रवाह न्यून रहे पनि असार लागेपछि बढेको उनले बताए। उनले भने, ‘लकडाउनमा कर्जा प्रवाह न्यून थियो। तर असारपछि कर्जा प्रवाह बढेको छ।’
यसैबीच, उनले आगामी मौद्रिक नीतिमा कर्जाको ब्याज तिर्ने समय थपको व्यवस्था गर्ने जानकारी दिए।
उनले भने, ‘ब्याज पुँजीकरण गर्ने नीति आउँछ। कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण हुन्छ। थप कर्जा प्रवाह गर्ने नीति आउँछ। साना तथा मझौला व्यवसायीलाई सहजीकरण गरिन्छ।’
नयाँ मौद्रिक नीतिले आन्तरिक उत्पादन र रोजगारी प्रवद्र्धन हुने, उद्यमशीलता विकास हुने, विकासमूलक क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्नेलगायतका व्यवस्था गर्नलागेको पनि उनले बताए।
त्यस्तै, डिजिटाइजेसनमार्फत नगद कारोबारलाई न्यूनीकरण गर्ने र विद्युतीय प्रणालीमा जाने कुरालाई प्राथमिकतामा राखिनेछ।
आजको छलफलमा गभर्नर अधिकारीसहित राष्ट्र बैकंका कार्यकारी निर्देशकहरु गुणाकर भट्ट र देवकुमार ढकाल समेत उपस्थित छन्।
प्रतिक्रिया