नबिल बैंकका सञ्चालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ योगदान गरेका छन्।
कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त उक्त रकम जम्मा गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, सञ्चालक उपेन्द्र प्रसाद पौड्याल र मानव संसाधन प्रमुख रोशन कोइराला पनि उपस्थित थिए।
कोराना महामारीविरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनसायले बैंंकका सञ्चालक तथा कर्मचारीहरुले कोषमा योगदान गरेको शाहले बताए।
बैंकका अध्यक्ष पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारणा व्यक्त गरे। उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सञ्चालक समिति सदस्य र बैंकका कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरे।
बैंकले केन्द्रीय तथा प्रादेशिक सरकारहरुलाई महामारीविरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ।
प्रतिक्रिया